हिँड्नू
खुब हिँड्नू
हिँडेरै पुगिन्छ गन्तव्यसम्म
हिँड्दै गर्दा
शान्त पैतालाका पदचाप
ध्यान दिँदै हिँड्नू
एक्लै हिँड्नू
तर
एक्लै हिँड्नु भनेको
टाढिनु होइन
मिसिनु हो कसैसँग
कसैको पैतालाको डोबसँग
त्यसैले ख्याल गर्नू
तिमी एक्लै होइन
तिमी जस्तै एक्लै एक्लै
पैतालाको डोबले बनाएको
बाटोमा हिँडिरहेछौ तिमी
तिम्रो माथिको आकाश
पारिको पहाड
वा छेउछाउका चौतारी र
छहारीहरू
तिम्रो लागी मात्र हैन
तिम्रो पछिका लागि पनि हो
र
तिम्रो पछिका पछिका लागि पनि
त्यसैले
हिँड्नु, फगत हिँड्नु मात्र हैन
संयमित भएर हिँड्नु हो
इतिहास बनाउनु हो
पूर्वजको पदचाप पछ्याउनु हो
पछ्याउनु भनेको पछाडि पर्नु हैन
सम्हाल्नु पनि हो
अगाडिका जिम्मेवारी र
बाटो देखाउनु पनि हो
पछाडि हुनेहरूलाई।