ऊसँग भेट भएको करिब एक हप्तापछि कफी सपमा फेरि उसको र मेरो भेट भयो। ऊ काठमाडौँ आएपछि उसको र मेरो भेट हुन थालेको हो।
हाम्रो भेटमा आजकाल लामै कुराकानी र भलाकुसारी हुने गरेको थियो। पहिले–पहिले ऊसँग भएका भलाकुसारीका कारण मलाई ऊसँगको गफको तलतल लाग्न थालेको थियो। ऊ मलाई ‘दाइ’ भन्थ्यो। अब त म ऊ कफी सपमा नआइपुग्दा फोन गरेर समेत डाक्थेँ। कहिलेकाहीँ ऊसँग समय नहुँदा समेत मेरो करले ऊ आउँथ्यो। भन्थ्यो– ‘दाइ आज फुर्सदचाहिँ थिएन, तपाईँलाई हार्न नसकेर आएको।’
सहरमा भएको सामान्य मानिसको पहुँच पुग्ने कफी सपमा हाम्रो भेट हुन्थ्यो। भेट भएपछि हामी अलिक लामै समय बिताउँथ्यौँ। ऊ आफ्नो जीवनका रोचक–रोचक प्रसङ्ग कोट्याउँथ्यो। म अलिक कम बोल्ने स्वभावको मान्छे भएकाले उसकै कुरा सुन्न रुचाउँथेँ।
नरेन्द्र तामाङ उसको नाम। हेटौँडाको फरेष्ट्री नजिकै घर हो रे उसको। इन्टरमेडिएटको पढाइ सकेपछि २०५७ सालतिर ऊ मकवानपुरको पूर्वी भाग फापरबारी गाउँमा छिरेको रहेछ। त्यहाँ रहेको एउटा माध्यमिक विद्यालयमा निजी स्रोतमा पढाउने शिक्षकका रूपमा अध्यापन गर्न थालेको रहेछ। त्यो समय देशमा द्वन्द्वको सिलसिला अलिक गरम बन्दै थियो। अहिले त फापरबारी निकै सुगम भइसकेको ऊ बताउँछ। हेटौँडाबाट बाइकमा एकै घन्टामा पुग्न सकिने ठाउँ भइसकेको छ रे। मदन भण्डारी लोकमार्गको विकाससँगै हेटौँडाबाट फापरबारी जान निकै सहज भइसकेको अवस्था छ, भन्छ ऊ।
म एउटा पत्रिकामा सामान्य रिपोर्टिङ गर्ने मान्छे। काठमाडौँमा जीविकोपार्जनकै सिलसिलामा एउटा पत्रिका र टेलिभिजनमा जोडिएको छु। उसको जीवनका बेरिएका र जञ्जालयुक्त कथा मलाई अलिक संवेदित लागेपछि मैले उसका कथामा केही काम गर्न सक्ने सोचेर सोधेको थिएँ–‘तपाईँले सो पाँच वर्षको घटनालाई केही टिपोट गर्ने वा डायरी लेख्ने गर्नु भएन?’
अनि उसले खुसी हुँदै भन्यो– ‘सबै त होइनन्, केही टुक्रेटाक्रे चाहिँ छन्। म तपाईँलाई त्यो डायरी पनि ल्याइदिन्छु है।’
नभन्दै उसले त्यो डायरी केही दिनपछि ल्याइदिएछ र सानो रातो डायरीमा भएका साठी पेजलाई मैले ३०० रुपैयाँ खर्च गरी फोटोकपी गरेँ र सञ्चय गरेँ। साथै सो डायरी उसलाई फर्काइदिएँ।
उसको रातो डायरीको पनि आफ्नै कथा रहेछ। ऊ कविता गजल लेख्न मन पराउने अलिक भावुक स्वभावको मानिस। कलेज पढ्दा कलेजकै एउटी केटी साथीले उसलाई खुब मन पराउँदी रहिछिन्। उनी ऊसँग सधैँ जिस्किने भावमा भन्थिन्– ‘मलाई कहिले तिमी रातो गुलाफ उपहार दिन्छौ?’
अनि ऊ भन्थ्यो– ‘म तिमीलाई रातो गुलाफ उपहार कहिल्यै दिने छैन। त्यो ओइलाएर जान्छ। हामीले गर्ने माया कहिल्यै नओइलाउने हुनुपर्छ।’ एकदिन उही साथीले ‘तिमी आफ्ना मनका कथाहरू यही डायरीमा लेख है’ भनी दिएको डायरी रहेछ त्यो।
गाउँ पुगेपछि त्यो डायरीकै कारणले उसलाई एउटा घटनामा सहयोग पनि पुगेको रहेछ। खाना खाइवरी एकदिन ऊ अलिक चाँडै निदाएको रहेछ। निन्द्रामा नै उसले आफ्नो कोठाको ढोका ढक्ढक्याएको चाल पाई बिउँझेछ। बाहिरबाट आवाज आइरहेको थियो– ‘ए सर ढोका खोल्नुहोस् त।’
उसले सुरुमा त ढोका खोलेन तर एकछिन सो आवाजले अझै जोड गरेपछि उसले बिस्तारै ढोका खोल्यो। दुई तीनजना सैनिक पोसाकमा भएका मानिस उसका कोठामा छिरे। एकजनाले निर्देशन दियो– ‘ए एकपटक सरको कोठामा छापा मार। उहाँ सहरबाट आएको मान्छे हाम्रो लागि सहयोग गर्ने हो कि होइन पत्ता लगाउनु पर्छ।’
अरूले कोठामा भएका सामानहरू खान तलासी गर्न थाले भने उनले चाहिँ सम्झाउन थालेछन्–‘हेर्नुस् सर हामी सामन्ती राज्यव्यवस्था परिवर्तन गर्न हिँडेका मान्छे। एक वंशीय तन्त्र र दलाल पुँजीवादी संसदीय व्यवस्थाले देश लुटेको छ। धनीलाई झन् धनी र गरिबलाई झन् गरिब बनाएर राखेको छ। यो थोत्रिएको युग बदल्नुपर्छ र तपाईँजस्ता पढे लेखेका र बुझेका मान्छेले झन् यसलाई साथ दिनै पर्छ।’
यसो भन्दै गर्दा अरूले भने– ‘कमरेड! कोठामा अरू त्यस्तो केही कुरा भेटिएन, बरु खालि नै रहेको एउटा रातो डायरी रहेछ।’
अघिका व्यक्तिले फेरि भने– ‘सर डायरी पनि रातै रङको बोक्नु हुँदो रहेछ, तपाईँ पक्कै रातै विचारको मान्छे हुनुपर्छ। लाल विचारमा गोलबन्द हुनका लागि म तपाईँलाई आग्रह पनि गर्दछु।’
उसको रातो डायरी प्राप्तिको कथा त आइसक्यो। अब यही डायरीमा टिपिएका र तल केही बताउन योग्य कथाका टुक्राहरू पनि समावेश छन्।
जब उसले पढाउने कर्म सुरु गर्यो। त्यहाँको जनजीवनलाई गहिरोसँग अध्ययन गर्ने तहमा ऊ पुग्यो। भर्खरको ठिटो र सहर बसेर हुर्केको, उसलाई गाउँको त्यस्तो दुःखका अध्यायहरू बुझ्ने अवस्था नै प्राप्त भएको थिएन। फापरबारी पुगेर त्यहाँ भिजेपछि उसले गाउँलाई भित्रैदेखि चिन्ने अवसर प्राप्त गर्यो।
त्यो बेला गाडिहरू हिउँदमा त सहजै पुग्थे फापरबारी तर वर्षामा मुस्किलले पुग्ने गरेका थिए। वर्षाको बेला छतिवनदेखि चार घन्टा हिँडेर फापरबारी पुग्नुपथ्र्यो, त्यसमाथि खोला तर्नुपर्ने हुँदा त्यसको छुट्टै डर त छँदै थियो। एक ढङ्गले उसका लागि फापरबारीका दिनहरू सङ्घर्षकै दिन बने।
सुरुमा त उसलाई कोठामा राति कम्ब्याट ड्रेस लगाएका मानिस छिर्दा निकै डर लाग्यो तर बिस्तारै गाउँघरमा विद्रोही पक्षको आवतजावत र चालढाल हेर्दै गएपछि घटनाक्रमहरू सामान्य जस्तो लाग्न थाल्यो। गाउँमा नजिकै पुलिसको बिट पनि थियो।
प्रहरीको बिटमा विपक्षी समूहको आक्रमणको धम्की र गाउँ छाड्ने चेतावनी आएका कारण असुरक्षाको निहुँ देखाउँदै प्रहरी बिटमा रहेको समूह सदरमुकाम छिर्यो। त्यहाँ भएको गाउँ विकास समितिको कार्यालयमा पनि बम विस्फोट भयो। स्थानीय निकाय त थिएन नै भएका गाविस सचिव पनि सदरमुकामबाटै काम सञ्चालन गर्न थाले। अब गाउँमा घटना मिलाउनेदेखि सुरक्षाको प्रबन्ध गर्नेसम्मको काम त्यहाँ गठन भएको विद्रोही समूहको जनसरकार र त्यसका लडाकु दस्ताहरूले गर्थे।
ऊ सकेसम्म सरकारी र विद्रोही दुवै पक्षपट्टि लाग्न चाहँदैनथ्यो तर गाउँमा सरकारी पक्षको उपस्थिति शून्य र विद्रोही पक्षको दबदबा बढी रहेका कारण विद्रोही पक्षकै सङ्गत बढी हुन्थ्यो। मनमा उति आकर्षण नरहे पनि गाउँ अनुसारको भेष गर्नै पर्ने कारणले उतैको सङ्गत बढी हुन्थ्यो।
विद्रोही पक्षले आयोजना गरेको कार्यक्रममा जानु, उनीहरूका भाषण सुन्नु र आवश्यक अवस्थामा आर्थिक सहयोग उपलब्ध गराउनु सामान्य भइसकेको थियो। सरकार देशमा छ भन्ने कुनै आभास हुन्थ्यो भने रेडियोमा सुनेको समाचारका आधारमा हुन्थ्यो।
देशमा धरपकड आक्रमण र हत्याका सिलसिलाहरू चलिरहेका थिए। वीरेन्द्र राजाको वंश नाश भएपछि राजा भएका ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएका थिए। देशमा विद्रोही पक्षलाई समाप्त गर्ने रणनीतिअनुसार सेना परिचालन सुरु भएको थियो। विद्रोही पक्ष पनि राजतन्त्रात्मक व्यवस्था हटाएर गणतन्त्रात्मक व्यवस्था ल्याउनु पर्ने विचारलाई सबैका मस्तिष्कमा रोप्दै थिए।
एकदिन अचानक गाउँमा सेना आएको जानकारी प्राप्त भयो। सेना फापरबारी हुँदै झुरझुरेसम्म पुगेको जानकारी प्राप्त भयो। विद्रोही पक्षसँग बरु सहज अनुभव गर्ने गाउँलेहरू सेना आउँदा डराएको अनुभूति हुन्थ्यो।
त्यही दिन गाउँका एक कमान्डर उसको कोठामा सेल्टर लिन आउने कुरा गरे। कमान्डरका अनुसार सरको कोठा भनेपछि सुरक्षित हुन्थ्यो र अरू साथीहरूसँग वायरलेस फोन (जुन विद्रोहीहरूबीच कुराकानी गर्न विकास गरिएको थियो) मार्फत सम्पर्क र निर्देशन गर्न सजिलो हुन्थ्यो।
कमान्डरका कुराले ऊ डरायो। कतै सेनाले थाहा पाएर सेल्टर दिएको निहुँमा कारबाही गर्ने पो होकि? उसलाई पीर थपियो। तैपनि उसले नाइनास्ति गर्नै सकेन। विद्रोहीहरूसँग नाइनास्ति गर्ने काम गर्नु पनि खतरनाक हुन जान्थ्यो। सुराकीको दर्जा पाइने सम्भावना हुन्थ्यो।
कमान्डरले खबर गरे– शत्रुहरू झुरझुरेतिर लागेका छन्। आज जे पनि हुन सक्छ। साथीहरू आक्रमणको तयारीमा छन्। लडाइँको मोर्चामा खटिएका हाम्रा साथीहरूको सेल्टर इलाका खतम गर्न सेना आएको बुझिन्छ। तपाईँ डर नमान्नुस्, यो हाम्रै इलाका हो। शत्रुहरूको टुकडी आजै समाप्त हुनेछ।
तर उसको मुटुमा भने ढ्याङ्ग्रो ठोक्न थालिसकेको थियो। कमान्डर बेलुकी उनको कोठामा आइपुगे। उनी भन्दै थिए– हाम्रा साथीहरूको ४०० जना जतिको टिम बनिसकेको छ। चिन्ता नलिनुस् आज शत्रु टोली एकै छिनमा समाप्त हुनेछन्।
उनी सुनाउन लागे– हेर्नुस् एउटा बैङ्क लुट्न जाँदाको कुरा। हामीलाई थाहा थियो बैङ्कमा सेक्युरिटी एकजना बस्छन्। प्रहरी चौकी अलिक टाढै थियो। हामी थियौँ पन्ध्र जना। थ्रि नट थ्रि बन्दुक ४ वटा थियो हामीसँग। योजना बनाएर हिँडेपछि बैङ्क पुग्नुभन्दा २० मिनेट अघितिरदेखि पानी पर्न लाग्यो। राति एउटा काममा हिँडेको कसकहाँ बस्नु भन्ने भयो। हामीलाई लाग्यो यस्तै बेला बरु सजिलो हुन्छ। अनि भिज्दै गयौँ। बैङ्क नजिकै सेक्युरिटीलाई देखेपछि हवाइ फायरिङ गरेर तर्साउन बन्दुक पड्काउन खोजेको हेर्नुस्, भिजेको बन्दुक पड्किँदै पड्किएन। ४ वटा मध्ये एउटा मात्र पड्कियो। फाइरिङ सुनेपछि सेक्युरिटी भागिहाल्यो र बैङ्कमा छिर्न सफल भयौँ। सेक्युरिटी अडिएर बसेका भए हामीले सक्दैनथ्यौँ। समयले साथ दिएन भने हो नत्र त आज शत्रुहरू अचार हुनेछन्।
कमान्डर निर्धक्कसाथ भनिरहेथे तर उसको मनमा भने ठूलो बेचैनी पैदा भएको थियो। मुटुले ठाउँ छाडेर धड्किरहेको अनुभव भइरहेथ्यो। अनुहार निन्याउरो बनेको थियो तर कृत्रिम साहस छर्नु परेको थियो।
कमान्डरको आवामा फोन आयो। सर हाम्रो तयारी पूरा भएको छ। हाम्रा साथीहरू दुई तिरबाट आक्रमणको योजनामा छन्।
उनले निर्देशन दिए– ‘हवस्, चलाखीसाथ आक्रमण गर्नू।’
कमान्डर निर्धक्क देखिन्थे तर उसमा भने डरको पारो धेरै बढिसकेको थियो। ट्वाइलेट जाऊँ जाऊँ, त्यहाँबाट अन्तै लागूँ कि जस्तो, चिटचिट पसिना आएजस्तो, केहीको छटपटी भएजस्तो भइरहेको थियो उसलाई।
‘सर फायर खोलियो’ उताबाट आवाज आयो।
‘होसियारी साथ...’ कमान्डर बोल्दै थिए।
‘सेनाहरू पहिले डाँडामा पुगिसकेछन्... हामी तल पर्यौँ। अलिक गाह्रो भयो’– उताको आवाज।
‘त्यो तेर्सो बाटो गएर अटेक गर्ने’– कमान्डरको निर्देशन।
यही बीच कमान्डरले उसलाई रेडियो खोल्न र फ्रिक्वेन्सी जाँच गर्दै सेनाका सम्पर्क सूत्रलाई टिप्ने बनाउन लगाउँदै थिए। अचानक उताको वार्तालाप रेडियोले समात्न थाल्यो। (त्यतिबेला एफ एम रेडियोमा नजिकै भएको फोनमा बोलेका कुरा टिप्थ्यो र जानकारी लिन सकिन्थ्यो।)
‘हामी अप्ठेरोमा पर्दैछौँ, साब। हामी अलिक माथि डाँडामा उक्लिन सकेकाले र उनीहरू तल भएकाले केही सजिलो त छ। उनीहरूको सङ्ख्या धेरै भएकाले हामीलाई जोखिम छ। हामीलाई नाइटभिजन हेलिकप्टर र युद्धका सामग्री पठाइदिनु पर्यो।’
यो जानकारी पाएपछि कमान्डर युद्धस्थलमा फोन गर्न थाले। कमान्डर र युद्धस्थलमा रहेका जनसेनाबीच भएको संवाद यस्तो थियो–
‘दुस्मनले हेलिकप्टर मगाउँदैछ। युद्धको गति तेज गर्नू, दुस्मनलाई चाँडै समाप्त गर्नुपर्छ।’
‘भिजन लाइट बालेर फायरिङ गर्दै छ दुस्मन। हाम्रा केही साथीहरू सहादत भइसके। उता नि नोक्सानी गरेका छौँ।’
‘लाग्नूस्, हिम्मत नहार्नुस्।’
उता रेडियोमा आवाज आउँदै थियो।
‘हाम्रा साथीहरू लड्दैछन्। दुस्मनहरू निकै बलिया छन्। समूह ठूलो छ। हामीलाई छिटै सहयोग चाहिएको छ।’
‘ल युद्ध सामग्री आउँछ। नाइटभिजन आउँदैछ। कसरी र कुन ठाउँमा झार्ने?’
‘हामी गाउँको एउटा घरमा आगो लगाउँछौँ, सामग्री त्यहीँ झारिदिनू, हामी लिन्छौँ।’
यता कमान्डर फोन गर्न लाग्यो।
‘दुस्मनको हेलिकप्टर आउँदैछ। ख्याल गर्नू। उनीहरूले एउटा घरमा आगो लगाउँछन्, त्यहाँ गोली गठ्ठा झार्ने भनेको छ। तिमीहरू अर्को घरमा आगो लगाइदिनू। दुविधा हुन्छ त्यसपछि तयारी गरेर लुट्नू। दुस्मनलाई सखाप गर्नुपर्छ।’
यस्ता वार्तालाप रातभरि फोन र रेडियोमा चलिरह्यो। रातभरि सुत्ने कुरै रहेन। वार्ता सुन्दा सेनातर्फ र विद्रोहीतर्फ धेरै नै क्षति भएको बुझिन्थ्यो। बिहानीपख त दुवै पक्षका हतियार र गोली गठ्ठा सकिएर खुकुरी हानाहान, झोला तानातानको समेत अवस्था आएको बुझिन्थ्यो। अन्त्यमा मृत सेनाका शव र जीवित बाँकी सेनालाई हेलिकप्टरले लिएर गयो। बिहान चार बजेतिर युद्ध सकियो र गाउँको कमान्डर युद्धस्थलतिर आफ्ना साथीहरू लिएर गए।
उसलाई त्यो रातले निकै नराम्रो ऐँठन दियो। त्यसरी नै गाउँमा बसिरहँदा सुरक्षित हुन मुस्किल हुने कुरा उसको दिमागमा उब्जियो। ऊ अब गाउँमा जागिर गरेर नबस्ने निर्णयमा पुग्यो। भोलिपल्टै हेटौँडा फर्कियो र अब लोक सेवा तयारी गर्ने सोच बनाई काठमाडौँ जाने भयो।
ऊ यसरी काठमाडौँ छिरेको थियो।
भेटमा मैले भनेँ– ‘तपाईँका त्यहाँका दिनहरू त त्रासमय नै रहेछन् नि। अहिले सम्झिँदा कस्तो लाग्छ?’
उसले भन्यो– ‘हेर्नुस् सर! यसरी म काठमाडौँ छिरेँ। तीन वर्ष राम्रो पढेर लोक सेवाको जाँच दिएँ। नाम निस्कियो। आफ्नो जीवनको केही व्यवस्थापन भयो। तर म देख्छु साँच्चै युद्धमा होमिनेहरू, परिवर्तनका लागि भनी जीवनका धेरै कुरा त्याग गर्नेहरू बहिष्करणमा परेका छन्। सीमित व्यक्तिहरू सत्ताका पहुँचमा पुगे। सत्ता संरचनाको कुरा गर्दा पनि रूपमा त परिवर्तन भएको छ तर सारमा उही छ। हिजो एकआपसमा दुस्मन भनेर जो जो एक अर्कामा लड्दै थिए, ती दुवै साधारण जनताका छोराछोरी नै थिए। युद्धका नाममा जेजति क्षति भयो भौतिक संरचना त बन्लान् तर आत्मिक रूपमा लागेका क्षति, सामाजिक सम्बन्धहरूमा परेका खाडल त्यत्ति चाँडै पुरिँदैनन्। हिजो जो युद्ध मोर्चामा अग्रभागमा थिए अहिले अवसरमा पुग्ने बेला ती सबै किनारामा परेका छन्। समाजको मूल चरित्र उही छ। हाम्रोमा क्रान्ति गर्ने, सत्ता संरचना बदल्ने कुरा खुब सिकाइन्छ। दश–दश वर्षमा व्यवस्था बदलिदिएका छौँ। तर हामीले हामीलाई बदल्ने, पहिलो क्रान्ति आफूभित्र आफूसँग गर्ने र भएको संरचनाभित्रै रहेर उपलब्धि हासिल गर्ने दिशामा स्कुलिङ गर्न सकिएको छैन। मलाई त अब यो कोणबाट विश्लेषण हुनु जरुरी लाग्न थालेको छ। अब हामीले आफैँलाई समालोचनात्मक दृष्टिले हेर्न सक्नुपर्छ।’
उसका कुरा सुनी सकेपछि मैले भनेँ– ‘कफीको स्वादभन्दा गफका स्वाद मीठा हुने भएरै तपाईँसँग भेट्न मन लाग्छ।’
‘हा हा हा...’ हामी दुवैको हाँसोको गुञ्जन मिसियो।
आजलाई दुवैजना छुटिएर आआफ्ना बाटो लाग्यौँ। कहीँ टाढा स्वर सम्राट नारायणगोपालले गाएको गीत गुञ्जिरहेको सुनिँदैथ्यो–
‘...छुटिनु त छँदैछ...।’