माटोको थुप्रोमाथि एउटा तालिमप्राप्त कुकुर दौडिरहेको छ।
केही प्रहरी त्यसको पछि पछि छन्।
उनीहरूलाई आशा छ — यो कुकुरले मानिसको गन्ध पत्ता लगाउनेछ।
त्यही बेला अर्को टोली ड्रोन उडाइरहेको छ।
जमिनबाट देख्न नसकिएको एउटा घरको भग्नावशेषभित्र केही देखिन्छ कि भनेर प्रहरीले आकाशबाट खोजिरहेको छ।
अर्कातर्फ, कतै प्रहरी बाढीले काटेको बाटो छिचोल्दै पैदलै उद्धारमा पुगेको छ भने कतै हेलिकप्टरबाट मानिस उद्धार गर्ने टोली पनि परिचालित छ।
यति मात्र होइन, भदौ १० गतेको विनाशकारी बाढीपछि नेपाल प्रहरीले जीवितहरूको खोजी र उद्धार गरिरहेको छ। बेपत्ताको खोजी गरिरहेको छ। फेला परेका शवको मुचुल्का र व्यवस्थापन गरिरहेको छ। र, सनाखतका लागि डिएनएसमेत संकलन गरिरहेको छ।
जहाँ सडक छ, त्यहाँ गाडीबाट पुगेको छ। जहाँ बाटो छैन, त्यहाँ पैदल पुगेको छ।
जहाँ मानिस पुग्न सक्दैन, त्यहाँ ड्रोन र कुकुरको सहारा लिइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएकामा नेपाल प्रहरीले उद्धार, खोजी, शव व्यवस्थापन, मुचुल्का लेखन तथा कानुनी सहायताका लागि विभिन्न टोली परिचालन गरेको छ।
उद्धारको माग भएकाहरूलाई सम्भव भएसम्म नेपाली सेनाको र निजी क्षेत्रका हेलिकप्टरबाट उद्धार गरिन्छ। तर सबै ठाउँमा हेलिकप्टर पुग्न सक्दैन। कतिपय ठाउँमा सडक नै बगेको छ। त्यस्तो ठाउँमा फसेका वा बाटोमै अल्झिएका मानिस उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली पैदलै घटनास्थल पुगिरहेका छन्।
सुरूआती चरणमा हेलिकप्टरबाट उद्धार गरिए पनि पछि स्थलमै पुगेर खोजी तथा उद्धार भइरहेको रसुवाका जिल्ला प्रहरी प्रमुख डिएसपी अशोक थापा बताउँछन्।

बाढी आउँदा प्रहरी पनि सुरक्षित रहेन
भदौ १० को बाढीमा अहिलेसम्म मृत्यु हुनेको संख्या १३ सय नाघेको छ भने सम्पर्कविहीनहरू झन्डै १५ सय पुगेका छन्।
बाढीको असर सर्वसाधारणमा मात्र परेको थिएन। नेपाल प्रहरीका आफ्नै कर्मचारीसमेत यसको चपेटामा परे।
नेपाल प्रहरीका २५ जना कर्मचारी अहिलेसम्म बेपत्ता छन्। तीमध्ये तीन जनाको शव चितवनमा फेला परेर सनाखतसमेत भइसकेको छ।
रसुवामा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना र सशस्त्र प्रहरीका ब्यारेक लगायत अधिकांश सरकारी कार्यालय धुन्चेमा छन्। टिमुरेमा भने बाढीले एक्कासि ठूलो रूप लिँदा प्रहरीलाई समेत तयारी गर्ने पर्याप्त समय भएन।
अघिल्लो वर्ष बाढी आएपछि नेपाल प्रहरीले चिनियाँ सुरक्षा निकायसँग विपद बेला सूचना आदानप्रदान गर्ने विषयमा छलफल गरेको थियो।
चीनतर्फ सीमानाकाभन्दा करिब १६ किलोमिटर माथि चिनियाँ प्रहरी पोष्ट छ। विपदको समयमा बाढी आए खबर गर्ने गरी सहकार्यसमेत भएको थियो। तर यसपटक सूचना पाउनुअघि नै बाढी धेरै तल आइपुगिसकेको थियो।
डिएसपी थापाले टिमुरे बजार बगाइसकेपछि मात्रै घटनाको गम्भीरताबारे थाहा पाएको बताए।
'विपदको समयमा बाढी आउँदा खबर गरौं भन्ने हिसाबले चिनियाँहरूसँग सहकार्य गरेका थियौं। तर यसपालि सोचेजस्तो भएन। बाढी एक्कासि र सोचेभन्दा धेरै ठूलो भएर रसुवागढी नाकामै आइपुग्यो,' उनले सेतोपाटीसँग भने, 'बाढी आइपुगिसक्दा पनि यसबारे सूचना पाइसकेका थिएनौं।'
टिमुरेमा रहेका मानिस पनि त्यस बेला सूचना आदानप्रदान गर्नुभन्दा ज्यान जोगाउनमै केन्द्रित थिए। ड्युटीमा नरहेका प्रहरीले भागेर ज्यान जोगाइसकेपछि मात्र कार्यालयको सञ्चारमार्फत घटनाबारे खबर गरिएको थियो।
त्यसपछि जिल्लाका अधिकारीहरूले पनि अन्यत्र सूचना पठाउन थाले।
तर त्यति बेलासम्म क्षतिको वास्तविक आकारबारे उनीहरू आफै अवगत थिएनन्।
'सदरमुकामबाट नदी देखिँदैन। तलतिर जिल्लामा भन्न त भन्यौं, तर नदीले कति र कस्तो क्षति गर्यो भन्ने हामीले देखेका थिएनौं। पछि जहाँसम्म बाटो थियो, त्यहाँसम्म पुगेर हेर्दा स्याफ्रूबेसी बजार नै बगाइसकेको थियो,' थापाले भने, 'त्यसपछि फेरि आ–आफ्नो च्यानलबाट रिपोर्टिङ गर्न थालेका थियौं।'
जहाँ प्रहरी पुग्न सकेन, त्यहाँ ड्रोन
बाढीपछि प्रहरीको अर्को चुनौती बन्यो — पुग्नै नसक्ने ठाउँ।
बाढी र पहिरोले सडक तथा पहुँचका बाटा बगाएपछि कतिपय क्षेत्रमा प्रहरी आफै पुग्न सकेन।
त्यस्ता ठाउँमा प्रहरीले ड्रोन प्रयोग गरिरहेको छ।
डिएसपी थापाका अनुसार भदौ १५ गतेअघि नै नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित तीनतले एउटा घरमा प्रहरी पुग्ने प्रयासमा थियो। तर बाटोको अवस्था यति खराब थियो, टोली त्यहाँ पुग्नै सकेन।
त्यसपछि एसएसपी विमलराज कँडेलको नेतृत्वमा खटिएको टोलीले ड्रोनमार्फत उक्त घर रेकी गर्यो।
ड्रोनबाट घरभित्र हेर्दा थुप्रै शव देखिए।
त्यसपछि विपदका लागि तालिमप्राप्त प्रहरी टोली त्यहाँ पुग्यो र एउटै घरबाट २४ वटा शव निकाल्यो।
त्यस्तै, अन्य जोखिमयुक्त तथा पहुँचबाहिर रहेका ठाउँमा पनि प्रहरीले ड्रोनमार्फत खोजी तथा उद्धार गरिरहेको उनी बताउँछन्।
अर्थात्, जहाँ प्रहरीको टोली पुग्न सकेको छैन, त्यहाँ कम्तिमा प्रहरीको नजर पुर्याउने काम ड्रोनले गरिरहेको छ।
मानिसको गन्ध खोज्दै पाँच कुकुर
ड्रोनले माथिबाट खोजिरहेको छ भने जमिनमा प्रहरीले अर्को प्रविधिको सहारा लिएको छ — तालिमप्राप्त कुकुर।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबिनारायण काफ्लेका अनुसार पाँचवटा तालिमप्राप्त कुकुर विभिन्न जिल्लामा परिचालन गरिएको छ।
रसुवामा 'जम्बो' नामको जर्मन शेफर्ड र 'रक्की' नामको बेल्जियन शेफर्ड खटाइएको छ।
नुवाकोटमा 'लियो' र 'कालु' नामका दुईवटा ल्याब्राडोर तथा चितवनमा 'दिप्सी' नामको जर्मन शेफर्ड परिचालन गरिएको छ।
यी कुकुरको सहयोगमा प्रहरीले भग्नावशेष र माटोमुनि पुरिएका मानिस तथा शव खोजिरहेको छ।
'केनाइनको प्रयोगबाट भग्नावशेष तथा माटोमा पुरिएका मानिसको गन्ध पत्ता लगाउन सजिलो हुने र ठूलो क्षेत्रमा पनि छिट्टै स्क्यान गर्न सकिने भएकाले त्यसकै मद्दतले खोजी तथा उद्धार कार्य गर्दैछौं,' डिआइजी काफ्लेले भने।
उनले अगाडि भने, 'उद्धारकर्मी वा उपकरण पुग्न कठिन भएको भूभागमा कुकुरको प्रयोग प्रभावकारी हुन्छ। त्यसैले कठिन भूभागमा फसेका वा भग्नावशेषमा पुरिएका व्यक्तिहरू खोज्न धेरै सहयोग पुग्ने हुँदा नेपाल प्रहरीले केनाइनको सहयोगमा खोजी कार्यलाई तीव्र बनाइरहेको छ।'
प्रहरीका अनुसार तालिमप्राप्त कुकुरको सहयोगमा टिमुरेबाट दुईवटा शव र एउटा शरीरको अंग फेला परेको थियो।
मैलुङ जलविद्युतको कर्मचारी आवासबाट शरीरको अंग तथा बट्टारस्थित सोलार हाउसबाट हत्केलाको भाग फेला परेको थियो।
टोलीले गोलघाट क्षेत्रबाट समेत दुईवटा शव फेला पारेको थियो।

११ दिनपछि पनि जीवित उद्धार
प्रहरीको यो खोजी अभियानमा सबभन्दा ठूलो आशा गत शनिबार जीवित मानिस फेला परेको घटनाले जगाएको छ।
खोजी तथा उद्धार क्रममा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बाढी आएको ११औं दिनमा एक महिलाको जीवितै उद्धार गर्यो।
नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित चारतले घरको माथिल्लो तलामा ६५ वर्षीया चण्डिका श्रेष्ठ भेटिएकी थिइन्।
खोजी गर्दै जाँदा गुहार मागेको आवाज सुनेपछि प्रहरी र सशस्त्र प्रहरीको टोलीले उक्त घरबाट श्रेष्ठको उद्धार गरेको हो।
बाढीले घरको ठूलो भाग पुरिइसकेको थियो। तर उनी माथिल्लो तलामा जीवितै थिइन्।
उद्धारपछि अर्को काम — शव व्यवस्थापन
जहाँ जीवित मानिसको आशामा खोजी भइरहेको छ, त्यहीँ अर्कातर्फ प्रहरीले बाढीले बगाएर ल्याएका शवको व्यवस्थापन पनि गरिरहेको छ।
बाढी रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनको नारायणी किनारसम्म पुगेपछि नदीले बगाएर ल्याएका शव विभिन्न ठाउँमा भेटिन थालेका छन्।
चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम लगायतका जिल्लामा समेत शव फेला परेका छन्।
फेला परेको प्रत्येक शवको घटनास्थलमै पुगेर मुचुल्का गर्नुपर्छ।
प्रहरीले शवको मुचुल्का गरी पोस्टमर्टमका लागि सम्बन्धित जिल्लाका अस्पतालमा पठाउने गरेको छ।
अहिलेसम्म बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ३५५ पुगेको छ। तीमध्ये सोमबार बिहानसम्म १ हजार ३४८ शवको मुचुल्का भइसकेको प्रहरीको तथ्यांक छ।
मुचुल्का भएका शवमध्ये ५३० पुरूष, ३२९ महिला र ४९७ वटा आंशिक अंग छन्।
सनाखत भएका ९८ वटा शव परिवारले बुझिसकेका छन्।
सनाखत हुन नसकेका शवको व्यवस्थापन भने अर्को चुनौती बनेको छ।
त्यस्ता शवलाई जमिनमुनि गाड्ने निर्णय गरिएको छ। त्यस अनुसार प्रहरी, चिकित्सक तथा अन्य सरोकारवाला निकायको रोहबरमा विभिन्न स्थानमा शव व्यवस्थापन भइरहेको छ।
अहिलेसम्म १ हजार ४४ वटा शवबाट डिएनए नमूना संकलन गरी जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
९ हजारभन्दा बढीको उद्धार
बाढीपीडितको उद्धारका लागि नेपाल प्रहरीले ठूलो जनशक्ति विभिन्न जिल्लामा परिचालन गरेको छ।
नेपाल प्रहरीको तथ्यांक अनुसार सोमबार बिहान पौने ११ बजेसम्म प्रहरीले ९ हजार १५९ जनाको उद्धार गरिसकेको छ। यो संख्या रसुवासँगै बाढीबाट प्रभावित नुवाकोट र धादिङबाट उद्धार गरिएका मानिस समेतको हो।
उद्धारसँगै बेपत्ताको खोजी, शव व्यवस्थापन, मुचुल्का लेखन तथा कानुनी सहायताका लागि छुट्टाछुट्टै टोली खटिएका छन्।
प्रहरी प्रधान कार्यालयले डिआइजी सुदर्शन कोइरालाको कमान्डमा विभिन्न टोली परिचालन गरेको छ। यी टोली फरक–फरक मोर्चामा छन्।
कसैले जीवित मानिस खोजिरहेको छ।
कसैले बेपत्ताको खोजी गरिरहेको छ।
कसैले भग्नावशेषभित्र ड्रोन पठाइरहेको छ।
कसैले कुकुरको सहारामा माटो सुँघिरहेको छ।
र, कसैले फेला परिसकेका शवको पहिचान र व्यवस्थापन गरिरहेको छ।
यसबीच बाढीको पानी घट्दै गएको छ, तर प्रहरीको खोजी र उद्धार कार्य रोकिएको छैन।
***