एकदिन एक जुग
अवश्य आउनेछ-
त्यो रोगको प्रतीक,
त्यो भोकको प्रतीक,
सांसारिक मोह माथि
त्यो खोजको प्रतीक।
खोज्नेछन् बुद्धहरू त्यो ज्ञान,
लुछ्नेछन् गिद्धहरू त्यो ध्यान।
पाउनेछन् निर्जीव, अस्थिर पुञ्जमा
बोक्रो, खोस्टो सम्मान।
आउनेछन् दैत्यहरू मानव मस्तिष्क खान,
धाउनेछ यमराज गुणी साधु लान।
बगाउनेछ करुणा-दया,
तरी नर्क जान।
एकदिन एक किरण हराउनेछ,
रातमा जून डराउनेछ।
अनकन्टार मस्तिष्कमा
एउटा आवाज कराउनेछ।
जब आउँछ सकिएर,
अनि जान्छ मासिएर,
आफैँसँग नासिएर,
तब उदाउनेछ नौलो किरण।
रचिनेछ नयाँ सृष्टि,
अनि देखिनेछ एउटै दृष्टि।
सभ्य समाज,
गुणी मानव-
मर्नेछन् परजीवी दानव।
अनि उदाउनेछ एउटा विचार,
बदल्नेछ सोचले दृष्टि,
त्यही दृष्टिले रचाउनेछ नयाँ सृष्टि।