भर्खर माध्यमिक शिक्षा टेकेको छ
हातमा मोबाइल सेट बोकेको छ
हन्डीमा भुटेको मकै र दारको ठेकीमा पारेको
मकै र मोही छ आजको खाजा
छोरो भन्दछ, ‘आमा, म मोही खान्नँ!’
सिनेमाको ‘शो’मा पपकर्न समाएका हातले
दुःख मान्दै ठेला सहितका मकै त सुमसुम्यायो
तर मोहीको घुट्को लगाउन ऊ चाहन्न-
मोही रेडियोमा बज्दैन,
टिभीमा देखिन्न,
सिनेमामा चल्दैन,
कसरी भान्सामा चल्छ त?
गाउँलाई पत्रु पेयको वैश्वीकरणले गालेको छ
विज्ञापनको ऐँजेरुले बेरेको छ
र
संकटमा छ गोपाल र महिषपाल संस्कृति!
समस्या पेयको मात्र हैन;
यो त भूमण्डलीकरणको जालोबाट
निस्कन नसक्ने मौलिकताले
आफ्नो पनको चिनारी कायम राख्न नसक्नाले हो।
रङ्गिन लेपन लागेका
सबै-सबै पत्रु पेय बिक्छन् सहजै बजारमा
बिक्दैन कहिल्यै इमान नगुमाएको
तर विज्ञापनमा नसिँगारिएका मौलिक उत्पादनहरू!
चाखेको छ उसले विविध रङ्ग घोलिएका
र
खासमा नभएका तर चित्रले सजिएका उत्पादनहरू-
लाग्दछ उसलाई विज्ञानको आवरणमा भित्रिएका उत्पादनमा
सेलिब्रेटीका लोभलाग्दा नशालु मुहार
तिनकै सेवनबाट सम्भव भएको हो!
पुँजीवादी व्यवस्थाको सामूहिक भ्रमबाट
मुक्त हुन नसकेको समाजमा
आफ्नो सोच, रुचि र इच्छालाई प्रभावित गर्दै
विद्यमान व्यवस्थालाई चुनौती दिन
ऊ कसर मोही पिउन सकोस्?
आमा,
समस्या मोहीको स्वाद र शुद्धतामा छैन;
विज्ञापन र थोरै छद्म-व्यक्तीकरण सहित
नवजवानहरूका लागि व्यापक उत्पादन गर्ने कि?
अफसोस,
समाजमा अडोर्नो र होर्खाइमरको चेतना सुषुप्त छ-
नत्र तपाईं स्वयम यस पद्धतिको
अन्तिम उत्पादक र उपभोक्ता हुनुहुनेछ!