भोटेकोशी नदीमा बुधबार बिहानबाट आएको बाढीले सबभन्दा बढी क्षति पुर्याएको स्याफ्रुबेसी र टिमुरेको पछिल्लो अवस्था के छ भनेर हामीले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ का सदस्य पेमा दोर्जे घलेसँग कुराकानी गरेका छौं।
उनका अनुसार यो गाउँपालिकाको वडा नम्बर २ र ५ मा रहेका बस्ती बाढीले पूरै सखाप पारेको छ। वडा नम्बर २ मा पर्ने टिमुरे र वडा नम्बर ५ मा पर्ने स्याफ्रुबेसीका घरहरू पूर्ण रूपमा पुरिएको उनले बताए।
'बिहान साढे ८ बजेतिर खाना खान लागिरहेका बेला एक्कासि ठूलो आवाज आयो। त्यसपछि तुरून्तै बाढी बस्तीमा पस्यो,' उनले सेतोपाटीसँग भने, 'बाढी पस्दा जमिनबाट धुवाँ निस्किएजस्तै भएको थियो। अनि त, क्षणभरमै सबै घर पुरिए।'
उनले अगाडि भने, 'हामीलाई पूर्वसूचना केही थिएन। एक्कासि बाढी पसेपछि दौडिन सक्नेहरू भागे, बाँकी कता गए कता! धेरै जना सम्पर्कविहीन छन्।'
उनले चप्पलसमेत नलगाई भाग्दा आफ्नो ज्यान जोगिएको बताए।
'म ज्यान जोगाउन चप्पलसमेत नलगाई पहाडतिर उक्लिएको थिएँ। पछि हेलिकप्टरमा रेस्क्यू गरेर मलाई काठमाडौं ल्याइयो,' उनले भने, 'मेरा दिदी, बहिनी कहाँ छन्, अहिलेसम्म पत्ता लगाउन सकेको छैन। हाम्रो गाउँको मात्र ३ भागमा २ भाग मानिस पहिरोमा पुरिएका छन्।'
उनले हेलिकप्टरबाट देखेको दृश्य वर्णन गर्दै भने, 'मैले हेलीबाट तल हेर्दा गाउँ भुसुक्कै भएको देखेँ। त्यहाँ कुनै पनि घर बाँकी थिएनन्। बजारहरू सबै पुरिएका थिए। आफू जन्मे-हुर्केको ठाउँ सोत्तर भएको थियो। हिजोसम्म झिलिमिली बजार पूरै मरूभूमिमा परिणत भएको थियो।'
उनले अगाडि भने, 'टिमुरेमा त दुई-तीन वटा घर मात्र बचेका छन्। स्याफ्रुबेसीमा पनि त्यस्तै अवस्था छ।'
टिमुरेमा लगभग डेढ सय घरधुरी थिए। स्याफ्रुबेसीमा पनि लगभग त्यही हाराहारीमा घरहरू थिए। यी दुईवटा वडामा ४/५ सय जनाको बसोबास थियो। स्थानीयसँगै भन्सारका कर्मचारी, प्रहरी, ड्राइभर र चालक दलका सदस्य पनि थुप्रै थिए। तीमध्ये धेरै सम्पर्कविहीन छन्।
उनका अनुसार गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ सम्पर्कविहीन छन्। उपाध्यक्ष प्रतिमा गुरूङ सहित उनको परिवार नै सम्पर्कविहीन रहेको उनले जानकारी दिए। त्यस्तै, वडा नम्बर २ का वडाध्यक्ष छिरिङ तामाङसहित ठूलो संख्यामा गाउँलेहरू सम्पर्कविहीन छन्।
'त्यहाँबाट बाँचेका स्थानीयहरू ज्यान जोगाउन विभिन्न ठाउँमा होलान्। तर कोहीसँग कुरा हुन सकेको छैन,' उनले भने, 'को-को बाँचे, को-को पुरिए केही थाहा पाउन सकिएको छैन।'
यी पनि पढ्नुहोस्: