अटिजम बाल विकाससँग सम्बन्धित स्नायु विकासको समस्या हो।
पाटन अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ सह.प्रा. डा.अनिलराज ओझाका अनुसार अटिजम भएका बालबालिकामा मुख्यतः सञ्चार, भाषा, सामाजिक व्यवहार तथा दोहोरिने व्यवहारमा फरक देखिने गर्छ।
अटिजम भएका बालबालिकाको बोल्ने तथा सञ्चार गर्ने तरिकामा कठिनाइ हुन्छ। कतिपय बालबालिकाको भाषा विकास ढिलो हुन्छ भने कतिपयले बोलाइ बाहेकका माध्यमबाट समेत सञ्चार गर्न कठिनाइ अनुभव गर्छन्।
इशारा गर्ने, आँखा जुधाउने तथा शरीरको हाउभाउबाट कुरा बुझाउने जस्ता गैरमौखिक सञ्चारमा समेत कमी देखिन सक्छ। उनीहरूलाई साथी तथा सम्बन्ध बनाउन कठिनाइ हुन सक्छ भने सम्बन्ध बनाइहाले पनि त्यसलाई निरन्तरता दिन समस्या देखिन सक्छ। एउटै कुरा पटक–पटक दोहोर्याउने, साना–साना कुरामा धेरै चासो राख्ने तथा ठूलो आवाजबाट डराउने जस्ता व्यवहार पनि देखिन सक्ने डा. ओझा बताउँछन्।
'अटिजम किन हुन्छ भन्ने विषयमा धेरै अध्ययन भए पनि एउटै कारणले मात्र अटिजम हुने भन्न सकिँदैन। अटिजमका विभिन्न कारण हुन सक्छन्, जसमध्ये जिन प्रमुख कारणमध्ये एक हो,' उनले भने, 'जन्मिने केही बच्चाले त्यस्ता जिन लिएर आउने र त्यसले उनीहरूको सामाजिक, शारीरिक तथा मानसिक विकासमा असर पार्न सक्छ। यससँगै वातावरणीय कारणले पनि भूमिका खेल्न सक्छ।'
गर्भावस्थामा आमालाई हुने संक्रमण, आमाले सेवन गरेका औषधि तथा गर्भावस्थामा हुने तनाव लगायतका कुरा पनि यससँग जोडिन सक्ने उनको भनाइ छ।
अटिजम जन्मेदेखि नै हुने समस्या भए पनि बालबालिका हुर्किँदै जाँदा यसका लक्षण अझ बढ्दै जान्छ। बच्चा दुई वर्ष भएपछि यसको पहिचान तुलनात्मक रूपमा स्पष्ट हुन सक्छ। तर त्यसअघि पनि केही संकेत देखिन सक्छन्। दूध खुवाउँदा बच्चाले आमाको अनुहार नहेर्ने, सुताइ तथा खेलाइमा समस्या हुने, अरूको अनुहार हेर्ने र हाँस्ने व्यवहार कम हुनेजस्ता संकेत देखिन सक्छन्। यस्ता लक्षण देखिँदैमा अटिजम नै हो भन्ने हुँदैन।
'आँखामा वा कानमा समस्या भएका कारण पनि बच्चाले अनुहार नहेर्न वा बोलाउँदा नहेर्न सक्छ। दुई वर्षको उमेरपछि सामान्यतया बालबालिकाले दोहोरो कुराकानी गर्न थाल्ने भएकाले त्यसपछि अटिजमका केही लक्षण स्पष्ट रूपमा पहिचान गर्न सकिन्छ,' डा. ओझा भन्छन्, 'जटिल लक्षण भएका बालबालिकामा समस्या चाँडै देखिन सक्छ भने सामान्य लक्षण भएका बालबालिकामा ढिलो मात्र पहिचान हुन सक्छ। अटिजम भएका बालबालिकामा भाषा, सञ्चार र समाजमा घुलमिल हुने क्षमतामा बढी समस्या देखिन सक्छ।'
उमेर बढ्दै गए पनि सिकाइको गति भने ढिलो हुन सक्छ।
उदाहरणका लागि पाँच वर्षको बच्चाको बोलाइ दुई वर्षको बच्चाको जस्तो हुन सक्छ। अर्थात् बच्चाको उमेर र उसको सिकाइ तथा वृद्धि विकासको अवस्थाबीच अन्तर देखिन सक्छ।
अटिजम पहिचान भएपछि सबभन्दा पहिले अभिभावकले त्यसलाई आत्मसात् गर्नुपर्ने डा. ओझाको भनाइ छ। त्यसपछि बालबालिकामा देखिएका समस्या र आवश्यकताका आधारमा विभिन्न परीक्षण तथा उपचार प्रक्रिया अघि बढाउनुपर्छ। कतिपय अवस्थामा रगत परीक्षण गर्नुपर्ने हुन सक्छ भने अटिजमसँगै अन्य जटिलता छन् कि छैनन् भनेर पनि हेर्नुपर्ने हुन्छ।
'केही बालबालिकामा सिजरको समस्या देखिन सक्ने भएकाले आवश्यकताअनुसार एमआरआई लगायतका परीक्षण गर्नुपर्ने हुन सक्छ। बालबालिकामा देखिएको समस्याका आधारमा उपचार गर्नुपर्छ,' उनले भने, 'भाषा र सञ्चारमा समस्या भएका बालबालिकाका लागि स्पिच थेरापी तथा व्यवहारमा परिवर्तन आवश्यक भएका बालबालिकाका लागि त्यसअनुसारको सहयोग आवश्यक पर्छ।'
खाने, कपडा लगाउने, ट्वाइलेट जाने लगायत दैनिक जीवनका गतिविधि समेत सिकाउनुपर्ने भएकाले अटिजममा औषधि दिनुभन्दा सीप विकासमा बढी केन्द्रित हुनुपर्ने भन्दै उनले यसका लागि अभिभावकलाई समेत तालिम दिनुपर्ने उनले बताए।
अटिजम भएका बालबालिकालाई सकेसम्म अन्य बालबालिकासँगै पढ्ने वातावरण दिनुपर्ने डा. ओझा बताउँछन्। त्यसका लागि विद्यालयले अटिजमबारे बुझेका शिक्षकको व्यवस्था गर्नुपर्ने हुन्छ।
अटिजम भएका बालबालिकालाई कक्षाको वातावरणसँग घुलमिल हुन कठिनाइ हुन सक्ने भएकाले उनीहरूको अवस्था बुझ्ने शिक्षक आवश्यक पर्ने उनले बताए।
अटिजम भएका बालबालिकालाई कसरी सिकाउने भन्ने विषयमा शिक्षकलाई तालिम दिनुपर्ने भए पनि आवश्यक जनशक्तिको चुनौती हुन्छ। जटिल किसिमको अटिजम भएका बालबालिकालाई सामान्य कक्षाको वातावरणमा समायोजन गर्न कठिन हुन सक्ने भए पनि सामान्य बालबालिकाका गतिविधिबाट अटिजम भएका बालबालिकाले धेरै कुरा सिक्न सक्छ।
'अटिजम भइसकेपछि पूर्ण रूपमा निको पार्नेभन्दा त्यसले ल्याउने असर कम गराउनेतर्फ ध्यान दिनुपर्छ। परिवारले राम्रोसँग हेरचाह गर्न सके बालबालिकाको जीवन सहज बनाउन सकिन्छ,' उनले भने, 'बालबालिकामा देखिने लक्षण र समस्या फरक–फरक हुने भएकाले सबैमा एउटै किसिमको अवस्था नदेखिन सक्छ। त्यसैले परिवार, समाज र विद्यालय सबैको भूमिका महत्वपूर्ण हुन्छ।'
अटिजमको निश्चित रूपमा रोकथाम गर्ने उपाय नरहे पनि केही कुरामा ध्यान दिएर यसको जोखिम कम गर्न सकिने डा. ओझा बताउँछन्।
बच्चाको स्क्रिन समय कम गर्ने तथा बच्चासँग सकेसम्म धेरै समय घुलमिल भएर बिताउने कुरामा ध्यान दिनुपर्ने उनले बताए।
सानो उमेरदेखि नै बच्चालाई सिकाउन सके उनीहरूले छिटो सिक्ने भएकाले अटिजम भए पनि त्यसले ल्याउने समस्या कम गर्न सकिने उनको भनाइ छ।
अटिजम हुँदैमा बच्चाको सबै क्षमता समाप्त हुन्छ भन्ने बुझाइ गलत भएको भन्दै डा.ओझाले अटिजम भएका सबै बालबालिकामा एउटै किसिमको समस्या नदेखिने भएकाले उनीहरूको क्षमता पनि फरक–फरक हुने बताए।
'कतिपयमा जटिल समस्या देखिन सक्ने भए पनि अटिजम भएका बालबालिकामा विभिन्न क्षमता हुन सक्छन्।अटिजम भएकालाई भाषा, बोलाइ वा सामाजिक सञ्चारमा समस्या भएको अवस्थाका रूपमा बुझ्दै उनीहरूको क्षमता कम छ भन्ने निष्कर्षमा पुग्न हुँदैन,' उनले भने, 'अभिभावकले अटिजम भएका बालबालिकालाई जति धेरै समय दिन्छन् र उनीहरूलाई परिवार तथा समाजमा घुलमिल गराउने प्रयास गर्छन्, त्यति नै उनीहरूलाई सहज हुन सक्छ।'
(पाटन अस्पतालको बाल विभागका प्रमुख सह.प्राध्यापक डा.अनिलराज शर्मासँग सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।)