साउदी अरबले १२०० किलोमिटर लामो इस्ट-वेस्ट तेल पाइपलाइन बन्द गरेको छ।
लगातारको ड्रोन हमलाबाट साउदीले आफ्नो महत्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
इरान र अमेरिकाबीच जारी युद्धका कारण स्ट्रेट अफ हर्मुजमा तेल ट्यांकरको आवागमन प्रभावित भइरहेका बेला साउदीको यो पाइपलाइन पनि बन्द भएपछि विश्वव्यापी तेल आपूर्तिमा थप दबाब पर्ने देखिएको छ।
साउदी र इराक दुवैले पाइपलाइनमाथि भएको ड्रोन आक्रमण इराकबाट भएको बताएका छन्। इराकमा इरानसमर्थित सशस्त्र समूहहरूको प्रभाव रहेको क्षेत्रमा आक्रमण भएको अनुमान छ। घटनापछि इराकले एक सैन्य कमान्डरलाई पदबाट पनि हटाएको रोयटर्सले जनाएको छ।
अरब प्रायद्वीप हुँदै जाने यो पाइपलाइनले स्ट्रेट अफ हर्मुजको जलमार्ग प्रयोग नगरी साउदीको तेल निर्यात गर्न सहयोग गर्दै आएको थियो।
पछिल्ला महिनामा यसबाट दैनिक ४० लाखदेखि ५० लाख ब्यारेलसम्म कच्चा तेल प्रवाह भइरहेको थियो। यो परिमाण विश्वव्यापी तेल आपूर्तिको करिब ४ देखि ५ प्रतिशत हो।
साउदीको ऊर्जा मन्त्रालयले पाइपलाइनलाई सावधानीस्वरूप बन्द गरिएको जनाएको छ।
बिहीबार बिहान रियाद र मदिना क्षेत्रमा पाइपलाइनमा आक्रमण भएको थियो।
आक्रमणमा केही मानिस घाइते भएको र पाइपलाइनमा क्षति पुगेको साउदी विदेश मन्त्रालयले जनाएको छ। क्षतिको मूल्यांकन भइरहेको भए पनि त्यसले तेल निर्यातमा कति असर पारेको छ भन्ने तत्काल स्पष्ट भएको छैन।
स्याटेलाइट तस्बिरमा मदिनाको दक्षिणतर्फ पाइपलाइन रहेको क्षेत्रमा कालो धुवाँ उठिरहेको देखिएको रोयटर्सले जनाएको छ।
पाइपलाइनमाथिको आक्रमणसँगै यमनका इरानसमर्थित हुथी विद्रोहीले रेड सी क्षेत्रमा आफ्नो नियन्त्रण थप विस्तार गरेको पनि बताएको छ।
चार जना यमनी सरकारी स्रोतले शुक्रबार रेड सीको प्रवेशद्वार बाब अल–मन्देब जलमार्ग नजिक रहेको रणनीतिक पेरिम टापु हुथीले कब्जामा लिएको बताएका छन्।
साउदी विदेश मन्त्रालयका अनुसार इराकका प्रधानमन्त्रीको आग्रहपछि साउदीले तत्काल कुनै जवाफी कारबाही गरेको छैन। तर आफ्नो हित र सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाउने अधिकार सुरक्षित रहेको साउदीले जनाएको छ।
इराक सरकारले पनि आक्रमणको निन्दा गरेको छ।
आक्रमणपछि इराकले इरानसँगको शालामचेह सीमा नाका पनि सावधानीस्वरूप बन्द गरेको छ।
सुरक्षा स्रोतका अनुसार उक्त नाका इरानबाट इराकमा तरकारीलगायत खाद्य सामग्री आयात गर्ने प्रमुख मार्गमध्ये एक हो। पाइपलाइनमाथि आक्रमण गर्नेहरूको खोजीका लागि इराकमा व्यापक अभियान सञ्चालन भइरहेको दुई सुरक्षा स्रोतले रोयटर्सलाई बताएका छन्।
यसैबीच, हुथीले बाब अल–मन्देब जलडमरुमध्यमा नियन्त्रण कायम गरेमा इरानलाई अमेरिकासँगको युद्धमा महत्वपूर्ण रणनीतिक लाभ पुग्न सक्ने आकलन गरिएको छ।
यमनी सरकारी सेनाले यस साता लाल सागरको तटीय क्षेत्रमा हुथीले कब्जा गरेका क्षेत्र फिर्ता लिन जवाफी कारबाही गर्ने संकेत दिएको छ।
रोयटर्सका अनुसार हुथीको पछिल्लो तीव्र सैन्य अग्रसरतामा इरानी रिभोलुसनरी गार्ड्सको प्रत्यक्ष निर्देशन रहेको थियो। दुई इरानी स्रोतका अनुसार इरानले गत साता हुथीलाई साउदी अरबमाथिको आक्रमण तीव्र बनाउन निर्देशन दिँदै थप आर्थिक सहयोग, हतियार र वरिष्ठ सैन्य अधिकारी उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। इरानले हुथीलाई आफ्नो सहयोगी माने पनि उनीहरूलाई सैन्य निर्देशन दिने गरेको आरोप अस्वीकार गर्दै आएको छ।
हुथीका सैन्य प्रवक्ता याह्या सारीले साउदीका पानीजहाजबाहेक अन्य सबै जहाजका लागि समुद्री आवागमन सुरक्षित रहेको बताएका छन्। साउदी पानीजहाजमाथि भने यसअघि नै प्रतिबन्ध घोषणा गरिएको उनले बताएका छन्।
हुथीविरुद्ध सैन्य सहयोग माग्दै साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बिहीबार कम्तीमा दुई पटक फोन गरेको विषय पनि सार्वजनिक भएको छ। घटनाबारे जानकार दुई स्रोतले रोयटर्सलाई दिएको जानकारीअनुसार साउदीले हुथीविरुद्ध लड्न अमेरिकासँग सैन्य सहयोग मागेको हो।
तर वासिङ्टनले तत्काल हुथीविरुद्ध प्रत्यक्ष सैन्य कारबाही गर्न अस्वीकार गरेको छ। यद्यपि अमेरिकाले साउदीलाई गुप्तचर सूचना र लक्षित कारबाहीका लागि आवश्यक जानकारी उपलब्ध गराउने बताएको छ।