काठमाडौं उपत्यकाका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको एक महिने गुँला पर्व आज समापन गरिएको छ।
बौद्ध धर्मावलम्बी नेवार समुदायका लागि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गुँला पर्व विशेष पूजा, बाजागाजा र धार्मिक यात्रासहित मनाइन्छ।
नेपाल संवत्को गुँला महिनामा मनाइने यस पर्वका क्रममा बिहानै उठेर विभिन्न बौद्ध विहार, चैत्य तथा धार्मिक स्थलमा पुगेर पूजा–आराधना गर्ने परम्परा छ।
विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट श्रद्धालुहरू समूह बनाएर धार्मिक स्थलमा पुग्ने गरेका छन्।
गुँला पर्वमा धाः, न्याकुँ तथा अन्य परम्परागत बाजा बजाउँदै धार्मिक यात्रा गर्ने प्रचलनसमेत रहेको छ । बाजागाजासहितको गुँला यात्रा यस पर्वको प्रमुख आकर्षणका रूपमा रहँदै आएको छ।
श्रद्धालुहरू स्वयम्भू, बौद्ध तथा उपत्यकाका विभिन्न चैत्य र विहारमा पुगेर दीप प्रज्वलन, पूजा तथा प्रार्थना गर्ने गर्छन्।
बौद्ध धर्मावलम्बीहरूका लागि गुँला महिना विशेष साधना र धार्मिक गतिविधिको समय मानिन्छ ।
यस अवधिमा बिहानैदेखि धार्मिक स्थलमा पुग्ने, बुद्ध तथा विभिन्न देवीदेवताको पूजा गर्ने, दान गर्ने र धार्मिक अनुष्ठानमा सहभागी हुने चलन छ।
कतिपयले एक महिनासम्म नियमित रूपमा व्रत, पूजा तथा धार्मिक गतिविधिमा सहभागी भएर पर्व मनाउने गर्छन्।
गुँला पर्वले नेवार समुदायको मौलिक संस्कृति, परम्परागत बाजा, धार्मिक आस्था र सामुदायिक एकतालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
आधुनिक जीवनशैलीका कारण धेरै मौलिक परम्परा परिवर्तन हुँदै गए पनि गुँला पर्वका क्रममा देखिने सामूहिक धार्मिक यात्रा र बाजागाजाले उपत्यकाको सांस्कृतिक पहिचानलाई निरन्तरता दिइरहेको छ।
तस्बिरहरूः














तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।