नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रञ्जितलाई भदौ १० गते बिहान ९:३५ बजेतिर माथिबाट ठूलो बाढी आइरहेकाले सुरक्षित हुन भन्दै एउटा टेलिफोन आयो।
टेलिफोन गर्ने व्यक्ति नुवाकोटका पत्रकार शरण उत्सुक सापकोटा थिए।
शरणले बाढीले टिमुरे बजार बगाइसकेकोले त्रिशूली र ढुंगे बजार पनि बगाउन सक्ने भन्दै लेनिनलाई त्यहाँबाट निस्किन भने।
कफी पिउँदै गरेका लेनिनले उक्त सूचना के हो भनेर जिल्ला प्रहरी कार्यालयमा टेलिफोन गरे। जिल्लाका प्रहरी उपरीक्षक एसपी विपिन रेग्मीले माथिबाट धेरै ठूलो बाढी आइरहेको र टिमुरे, स्याफ्रुबेसी बजार पनि बगाइसकेकोले त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा जान भनिहाल्नु भने।
त्यसपछि उनले सामाजिक सञ्जालमा सूचना हाले अनि नजिकका घरघर गएर त्यहाँबाट निस्किन भन्दै हिँडे।
फेरि लेनिनलाई त्रिशूलीदेखि माथि थुम्कामा बस्ने एक जना कार्यपालिका सदस्यले फोन गरेर बाढी गेर्खुमा आइसकेकाले त्यहाँबाट छिटो भाग्न भने।
त्रिशूली बजारमा दुई वटा पुल थिए, एउटा पुरानो र अर्को नयाँ। लेनिन पुरानो पुलको छेउमै थिए।
कार्यपालिका सदस्यसँगको कुरा पूरा गर्न नपाउँदै बाढी त्रिशूली बजारमा आइपुग्यो।
'म उभिएको नजिकैको पुरानो पुलमा यति ठूलो छाल ठोक्कियो कि पुल गर्ल्यामगुर्लुम भइहाल्यो। त्यो छालले त्यहाँको सबैभन्दा अग्लो घर पनि नाघेर गयो। छालसँगै घरजत्रै ठूला ढुंगा र रूख पनि माथि माथि उफ्रिँदै बगिरहेका थिए। त्यो देख्दा के भएको हो भन्ने सोच्नै सकिने अवस्था थिएन,' उनले भने।
छाल ठोक्किएको पाँच सेकेन्डमै पुरानो पुल बगिहाल्यो। उनी त्यहाँबाट अगाडि दौडिरहेका थिए, बाढी पनि उनी दौडिरहेको सडकमा आइसकेको थियो। त्यही बेला एक जना युवा मोटरसाइकलमा भाग्दै थिए। लेनिनले त्यही मोटरसाइकल चढेर ज्यान जोगाए।

'ती भाइलाई नभेटेको भए म पनि बाढीसँगै बग्थेँ भन्ने लाग्छ। त्यो दृश्य बयान गर्नै सकिँदैन। फिल्ममा देखाइने भयानक सुनामी पनि त्यति डरलाग्दो हुँदैन। त्यसैले म त्यो घटना र दृश्य सम्झिन पनि चाहन्नँ,' लेनिन भन्छन्।
वडा नम्बर ४ बट्टारमा व्यवसाय सञ्चालन गर्दै आएका पशुपति कोइराला यस पटकको बाढी जमिनबाट नभई आकाशमा उडेर आएजस्तो बताउँछन्।
बाढी आउँदा उनी घरमै थिए।
'बाढी आयो भनेर त्रिशूलीतिर हेरेको थिएँ, बाढी त आकाशबाट उडेर आइरहेको थियो,' उनले भने, 'अरू बेला त जमिनको सतहबाट बगेर आउँथ्यो, यसपालि त जमिनभन्दा धेरै माथि उडेर आइरहेको थियो। यस्तो पहिले कहिल्यै देखिएन।'
बाढीबाट विदुर नगरपालिकामा सबभन्दा बढी वडा नम्बर १ मै क्षति भएको छ। नदी वारिपारिको ४०० मिटर क्षेत्र ढाकेर तुफानी वेगमा आएको बाढीले त्रिशूली र ढुंगे बजार बगरमा परिणत भएको छ। त्रिशूली बजारमा केही घर जोगिए पनि ढुंगे बजार सखापै भएको उनले बताए।
त्रिशूली अलि तल भएकाले बाढी मुख्य सडकसम्म आए पनि बस्ती नै बगाउने गरी आउला भन्ने कल्पना स्थानीयले गरेका थिएनन्।
लेनिनका अनुसार बाढीले वडा नम्बर १ मा मात्र ४८३ घरमा क्षति पुगेको छ। अधिकांश घर कहाँ थिए भन्ने अनुमान नै गर्न सकिँदैन। ७७ जना स्थानीय र १० जना भारतीय मूलका व्यवसायी गरी ८७ जना बाढीमा परेको तथ्यांक छ। हालसम्म १६ जनाको मात्र शव फेला परेको छ।
त्यस्तै २००७ सालमा स्थापना भएको त्रिभुवन त्रिशूली माविको नामनिशान नै छैन। बाढी आउँदै छ भनेर विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई पहिले नै सूचना गरिएकाले विद्यार्थीहरू भने जोगिए। यहाँ १६४३ विद्यार्थी पढ्थे।
त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस, प्रादेशिक तालिम केन्द्र, मदरसा र एक निजी स्कुल पनि बाढीमा परेको छ। विपन्न नागरिकका बालबालिका पढ्ने सिटिइभिटी अन्तर्गतको पोस्टबहादुर आंगिक शिक्षालय बाढीपछि जोखिममा परेको छ। त्यो स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको वडा अध्यक्ष लेनिनले बताए।
त्रिशूलीका धेरै धार्मिक र पुरातात्त्विक संरचनाहरू पनि मासिएका छन्।

'यो पुरानो ऐतिहासिक र सांस्कृतिक बजार थियो। बजारमा नेवार समुदायको बाक्लो बसोबास रहेकोले भक्तपुरमा जस्तै विभिन्न नेवारी जात्राहरू हुन्थेर नेपालमा परियत्ति शिक्षाको सुरूआत भएको पुरानो बुद्ध विहार र त्रिशूली जलविद्युत केन्द्र पनि मासियो,' उनले भने।
त्रिशूली, सिमचौर, देविघाट आसपासमा मात्र ९ वटा पुल बगेका छन्। त्रिशूली बजारमा दुइटा, यहाँदेखि तल सिमचौर, सिँचाइ, देविघाट, कांशिटारसम्म ५ वटा र त्रिशूलीदेखि माथि भैंसे र बेत्रावतीमा दुइटा पुल थिए। अहिले माथिदेखि तलसम्म एउटा पुल नभएपछि वारिपारिको सम्बन्ध टुटेको उनले बताए।
वडा अध्यक्ष लेनिन पनि घरबासविहीन बनेका छन्। ढुंगेमा तीन वटा पक्की र दुइटा ट्रसका गरी उनका ५ वटा घर थिए। उनको घरमा ठूलो र पुरानो 'रञ्जित होटल' थियो।
'धेरै जनाको व्यापार, व्यवसाय खत्तम भयो,' उनले भने, 'केही समयअघि भए पनि सूचना पाएकाले धेरै मानिस जोगाउन भने सकियो। केही मिनेट मात्र ढिलो भएको भए अझै कति मानिसको क्षति हुन्थ्यो भन्ने कल्पना पनि गर्न सकिन्न।'
अहिले उनी आफन्तको घरमा आश्रय लिएर बसेका छन्। वडा नम्बर १ को कार्यालय पनि बगेकाले अहिले उनी वडा नम्बर २ को कार्यालयको भुइँ तलाबाट काम गरिरहेका छन्। सेवाग्राहीलाई त्यहीँबाट सेवा दिइरहेको उनले बताए।
आफ्नो वडामा सुरक्षित स्थान नै नभएकाले होल्डिङ सेन्टर पनि अरू वडामा बनाएर प्रभावितहरूलाई राखिएको छ। वडा नम्बर १ का ४८३ घरधुरी परिवार वडा नम्बर ८ को भैरव माध्यमिक विद्यालय तथा इन्द्रेणी आधारभूत विद्यालय 'बाद्रे नर्सरी' मा र वडा नम्बर २ मा स्थापित होल्डिङ सेन्टरमा छन्।
'करोडपति व्यक्तिले एकैछिनमा आफ्नो जमिनमा टेक्ने ठाउँसमेत गुमाएको छ। चार–पाँच वटा घर र १०/१५ रोपनी जमिन भएका व्यक्तिहरू सडकमा आउनुपर्दा मानसिक रूपमा समेत असर परिरहेको छ। त्यसैले होल्डिङ सेन्टरहरूमा मनोपरामर्श पनि दिइएको छ,' वडा अध्यक्ष लेनिनले भने।
नेपाल सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनेपछि सुरूका तीन दिन भने धेरै गाह्रो भएको उनले बताए।
'सरकारले एकद्वार प्रणाली भनेपछि रासन सबै सैनिक क्याम्पभित्र राख्यो। पहिलो दिन हेलिकप्टरबाट उद्धार गर्ने काम भए पनि दोस्रो दिनदेखि सबैको ध्यान रसुवामा केन्द्रित भएपछि विदुर ओझेलमा पर्यो। हामीले धेरै रोइकराइ गर्यौं,' उनले भने।

उनले अगाडि भने,' तीन दिनपछि नगरप्रमुख, उपप्रमुख र म ब्यारेकमा गएर गुनासो गरेपछि बल्ल चौथो दिनमा विद्यार्थीहरूलाई उद्धार गरेर अभिभावकसँग भेटाउन सकियो। माथिल्लो तहसम्म आग्रह गरेपछि पाँचौं दिनमा बल्ल जमिनमा पुरिएका संरचना उत्खनन गरी उद्धार गर्न नेपाली सेना र सशस्त्र प्रहरी परिचालित गरिएको थियो।'
अहिले राहत तथा पुनर्स्थापना कार्य प्रभावकारी बनाउन बाढीपीडितलाई तीन वर्गमा विभाजन गरिएको छ। पूर्ण वा आंशिक रूपमा घर क्षति भई बस्न अयोग्य भएका परिवारहरूलाई रातो कार्ड, व्यवसाय सञ्चालन गरिरहेका तर बाढीबाट प्रभावित भएका व्यवसायीलाई निलो कार्ड र कोठा भाडामा लिएर जीविकोपार्जन गर्दै आएका प्रभावित परिवारलाई पहेँलो कार्ड वितरण गरिएको छ।
रातो कार्ड पाउनेलाई विदुर नगरपालिकाको कार्यपालिका बैठकले कोठा भाडाबापत मासिक १० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै ६ महिनासम्म चाहिने आधारभूत घरायसी तथा राहत सामग्री उपलब्ध गराइनेछ।
भारतीय दूतावास, चौधरी फाउन्डेसन र जापानी संघसंस्थाहरूले विद्यालयहरू पुनर्निर्माण गरिदिने प्रस्ताव गरेका छन्। हाल कसरी पुनर्निर्माण गर्ने भन्नेबारे निर्णय नभएको र सर्वसाधारणलाई पुनर्स्थापना गर्न खाली ठाउँको व्यवस्थापन गरिरहेको उनले बताए।
विदुरका मात्र होइन, नुवाकोटका अरू पालिका र रसुवाका समेत प्रभावितलाई राख्न वडा नम्बर २ मा ५ वटा होल्डिङ सेन्टर बनाइएको छ।
वडा नम्बर २ का अध्यक्ष दिपक कायस्थका अनुसार यो वडा माथिल्लो भेगमा भएकाले भौतिक क्षति नभए पनि ५ जना बाढीमा परेका छन्। यो वडा बाढीबाट प्रभावित नभए पनि रोजगारीको समस्या भएपछि राहत उपलब्ध गराइएको छ।
यहाँको भीमसेन मावि र भैरवी माविमा जुनसुकै स्कुलका बालबालिका आएर पढ्न सक्ने गरी आह्वान गरिएको छ।
'यसरी आउने बालबालिकालाई विद्यालय पोसाक, भर्ना केही आवश्यक नपर्ने गरी व्यवस्थापन गरिएको छ,' दिपकले भने।