रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले आइतबार बिहान भएको दुर्घटनामा चालकसहित अर्की एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। मृतकको पहिचान भइ सकेको छैन ।
उनका अनुसार दुर्घटनामा परी थप चार जना गम्भीर र थप पाँच जना मध्यम घाइते छन् ।
आइतबार बिहान सवा ८ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका – ६ कोट बाट खलंगा तर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जिप भीरबाट झन्डै १०० मिटर तल खसेको डिएसपी पौडेलले बताए ।
जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमन्त गिरीले आफूसहित प्रहरी प्रमुख पौडेल घटनास्थल तर्फ जाँदै गरेको बताए ।
मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
शनिबार बिहान सोही समयमा सल्यानमा भएको जिप दुर्घटनामा परि ३ जनाको मृत्यु भएको थियो । थप ३ जनाको दाङमा उपचार जारी छ ।