रुकुम पश्चिममा आइतबार बिहान भएको जिप दुर्घटनाका गम्भीर घाइतेको उद्धार गरि बाहिरी जिल्ला पठाउनका लागि हेलिकोप्टर मागिएको छ ।
गम्भीर घाइते चार जनाको उद्धारका लागि हेलिकोप्टर मागिएको जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले बताए।
दुर्घटनाका थप ८ घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार जारी रहेको डिएसपी पौडेलले जानकारी दिए।
‘घाइते मध्य चार जनाको अवस्था गम्भीर छ । उहाँहरुको उपचारका लागि तत्काल बाहिरी जिल्ला पठाउनु पर्ने अवस्था देखिएको हुँदा हेलिकोप्टर माग्न प्रमुख जिल्ला अधिकारीज्यूले सम्वन्य गरी रहनु भएको छ,’ पौडेलले भने, ‘थप आठ जना घाइतको अवस्था मध्यम रहेको तथा सबैको हालसम्म जिल्ला अस्पतालमै उपचार भइ रहेको छ।’
दुर्घटनामा परL घटनास्थलमै मृत्यु भएका चालक त्रिबेणी गाउँपालिका– १ रुँघाका अन्दाजी ३३ बर्षीय चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका– ६ की अन्दाजी १६ बर्षीया किशोरी प्रेमकला पुन मगर रहेको डिएसपी पौडेलले बताए ।
डिएसपी पौडेलका अनुसार जिपमा कुल १३ जना सवार रहेको भन्ने खुलेको छ।
आइतबार बिहान सवा ८ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका– ६ कोट बाट खलंगा तर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जिप भीरबाट झन्डै १०० मिटर तल खसेको थियो ।
जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमन्त गिरीले घाइतेको पहिचान गर्ने क्रम जारी रहेको बताए।
शनिबार बिहान मात्रै बिहान ८ बजेतिरै छिमेकी जिल्ला सल्यानमा भएको यस्तै डबल क्याप जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो। थप ३ जना घाइतेको भने दाङमा उपचार जारी छ।