प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्।
आइतबार बिहान उनी औपचारिक भ्रमणका लागि चीनको बेइजिङतर्फ प्रस्थान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उनी बेइजिङमा आयोजना हुने १३औं बेइजिङ सियाङशन फोरममा सहभागी हुने कार्यक्रम छ। उनी असोज ३ गते काठमाडौं फर्किनेछन्।
बेइजिङ जानुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए।
भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको उल्लेख छ।
प्रधान सेनापति सिग्देललाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत प्रदान गरेको थियो।
बलाधिकृत केसीलाई कायममुकायम प्रधान सेनापतिको कार्यभार दिइएको छ।