काठमाडौं महानगरपालिकाले जलन (आगलागी तथा पोलिएका) को बिरामीलाई २ लाख रूपैयाँसम्मको नि:शुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ।
जलको उपचार गराउनुपर्ने लक्षित वर्गका बिरामीका लागि २ लाख रूपियाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउन लागिएको हो।
महानगरपालिका र कीर्तिपुरस्थित जनस्वास्थ्य सरोकार ट्रष्ट (कीर्तिपुर अस्पताल) बिच सम्झौता भएसँगै अब विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीले यो सुविधा पाउने भएका हुन्।
काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, कर्मचारी र तिनका परिवारले कोषबाट प्रतिव्यक्ति २ लाख रूपैयाँसम्मको निःशुल्क उपचार पाउने काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिइन्।
उनका अनुसार जलनका बिरामीले अस्पतालको क्याबिन, इएचएस वा कस्मेटिक उपचार रोजेको खण्डमा भने यो रकम प्रयोग गर्न पाइनेछैन।
सम्झौता अनुसार सेवा सञ्चालन तथा उपकरण खरिदका लागि महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ प्रदान गरेको छ।
जसमा १ करोड रूपैयाँ ‘जलन उपचार कोष’का लागि छुट्याइएको छ भने बाँकी १ करोड रुपैयाँ गत वर्ष खरिद गरिएका एनेस्थेसिया मेसिन, जेनेरेटर र डिजिटल एक्सरे मेसिनको भुक्तानीका लागि हस्तान्तरण गरिएको उनले बताइन्।
'पैसाको अभावमा कोही पनि उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष खडा गरिएको हो,' उनले भनिन्, 'कसैले जलन भोग्नु नपरोस्। भवितव्य परिहाले पैसा नभएकै कारण अस्पताल नलैजाने वा अस्पताल पुर्याएपछि बिरामी छोडेर पैसा खोज्न दौडिनुपर्ने बाध्यता नआओस् भनेर यो कोषको व्यवस्था गरेका हौं।'
आगलागी नियन्त्रणमा अग्रपंक्तिमा खटिने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीयलाई समेत जलनबाट बच्ने उपायबारे सचेतना र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ।
सम्झौता पत्रमा महानगरको तर्फबाट स्वास्थ्य विभाग प्रमुख दिपककुमार के.सी. र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक गौरी प्रधानले हस्ताक्षर गरेका छन्।
अस्पतालका प्राध्यापक डा. शंकरमान राईका अनुसार पछिल्लो प्रविधि र पूर्वाधार विकासले गर्दा जलेका बिरामी बचाउन सक्ने क्षमतामा उल्लेख्य सुधार आएको छ।
उनका अनुसार १० वर्षअघिसम्म ४० प्रतिशत जलेका बिरामी बचाउन गाह्रो हुन्थ्यो। अहिले ५० प्रतिशत जलेकामध्ये आधा बिरामीलाई बचाउन सक्ने क्षमता बनाइएको छ।
'महानगरजस्तै अन्य निकायबाट पनि सहयोग पाए आगामी १० वर्षभित्र ७० प्रतिशत जलेका आधा बिरामी बचाउन सक्ने लक्ष्य छ,' उनले भने।
महानगरपालिकाले यसअघि पनि वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ र कान्ति बाल अस्पताललाई उपकरण सहयोग गरिसकेको छ भने नागरिकको स्वास्थ्यमा पहुँच बढाउन आफ्नै महानगर अस्पताल स्थापनाको तयारीसमेत गरिरहेको छ।

-1789281623.png)