मोटरसाइकलको ठक्करबाट घाइते सुर्खेतकी एक महिलाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१० बरीपाटीकी ५५ वर्षीया आशा बुढाको उपचारका क्रममा आइतबार दिउँसो बाँकेको नेपालगन्जस्थित नर्सिङ होममा मृत्यु भएको हो।
सुर्खेत प्रहरीका अनुसार शनिबार पौने १२ बजेतिर जिल्लाको लेकवशी नगरपालिका–१० झुप्रामा लेकवेशीबाट भुतचोकतर्फ जाँदै गरेको भे ६ प ४५३ नम्बरको मोटरसाइकलले पैदलयात्री आशालाई ठक्कर दिएको थियो।
उनलाई सुरूमा माया नर्सिङ होम लगिएको थियो। उनको बाहिरी चोट केही नभए पनि भित्री चोट थियो। त्यहाँबाट उनलाई साढे १२ बजेतिर थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको थियो।
त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि थप दिउँसो साढे ३ बजेतिर नेपालगन्जको नर्सिङ होम रिफर गरिएको थियो। आशाको उपचारका क्रममा आइतबार दिउँसो त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ।
शव पोस्टमर्टमका लागि त्यहाँबाट भेरी अस्पताल नेपालगन्ज लगिएको थियो। पोस्टमर्टमपछि शव बेलुकीपख आशाकी छोरी कृष्णा बुढाले बुझेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक लेकबेशी–९ का १७ वर्षीय किशोर प्रहरी नियन्त्रणमा छन्।