कर्णाली प्रदेशमा बितेको तीन वर्षको अवधिमा सवारी दुर्घटना र विपद्का घटनामा परी ६६९ जनाको मृत्यु भएको छ।
त्यसमध्ये सवारी दुर्घटनामा ४०८ जना र विपद्का घटनामा २६१ जनाले ज्यान गुमाएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी सन्तोषसिंह राठोरका अनुसार कर्णालीका १० जिल्लामा बितेको तीन वर्षको अवधिमा ४ हजार ४ सय ९१ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा ६ हजार ६ सय ८१ जना घाइते तथा अंगभंग भएका थिए।
जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी सवारी दुर्घटना कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएका छन्।
आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीमा कुल १ हजार ८६ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा ११२ जनाको मृत्यु र २ हजार ७७ जना घाइते भएका थिए। सो आर्थिक वर्षमा १ हजार ४४५ वटा सवारीसाधन दुर्घटनामा परेका थिए।
त्यो वर्ष सबैभन्दा धेरै ६ सय ७३ वटा दुर्घटना सुर्खेतमा भएका थिए। जसमा परी २८ जनाको मृत्यु भएको थियो भने १ हजार १८४ जना घाइते तथा अंगभंग भएका थिए। सुर्खेतमा मात्रै ९५१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए।
त्यसपछि सल्यान दोस्रो स्थानमा थियो। यो जिल्लामा १०२ वटा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २७१ जना घाइते भएका थिए। कुल १३० वटा सवारीसाधन जिल्लामा दुर्घटनामा परेका थिए।
तेस्रो स्थानमा रुकुम थियो। त्यो आर्थिक वर्षमा यो जिल्लामा ८० वटा दुर्घटनामा परी २३ जनाको मृत्यु भएको थियो। ९३ वटा सवारीसाधन दुर्घटनामा परेका थिए भने १५५ जना घाइते भएका थिए।
तथ्याङ्क विश्लेषण गर्दा त्यो आर्थिक वर्षमा सवारी दुर्घटनाबाट सबैभन्दा कम मानवीय क्षति डोल्पामा भएको देखिएको छ। त्यहाँ १ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए। जम्मा १३ वटा सवारीसाधन दुर्घटनामा परेका थिए भने दुर्घटनाको संख्या १२ थियो।
आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीमा कुल १ हजार २४० वटा सवारी दुर्घटना भएका थिए। दुर्घटनाको संख्या ९६८ थियो। त्यो आर्थिक वर्षमा दुर्घटनामा परी कुल १३९ जनाको मृत्यु र २ हजार ८ जना घाइते भएका थिए।
यो आर्थिक वर्षमा पनि सबैभन्दा बढी दुर्घटना सुर्खेतमै भएका थिए। सुर्खेतमा ५७८ सवारीसाधन दुर्घटनामा परेका थिए भने दुर्घटनाको संख्या ४२३ थियो। दुर्घटनामा परी ३८ जनाको मृत्यु भएको थियो भने ९४२ जना घाइते भएका थिए।
रुकुममा १७० वटा सवारीसाधन १३९ पटक दुर्घटनामा परेका थिए। जसमा परी १३ जनाको मृत्यु र २३४ जना घाइते भएका थिए।
त्यो आर्थिक वर्षमा सल्यानमा १४१ सवारीसाधन दुर्घटनामा परेका थिए भने दुर्घटनाको संख्या ११८ थियो। ती दुर्घटनामा परी सल्यानमा १९ जनाको मृत्यु र २४८ जना घाइते भएका थिए।
दुर्घटना कम भए पनि मानवीय क्षतिको हिसाबले त्यो आर्थिक वर्ष जाजरकोट दोस्रो नम्बरमा परेको थियो। ९१ सवारीसाधन दुर्घटनामा संलग्न थिए भने ७३ वटा दुर्घटना भएका थिए। त्यसमा परी २१ जनाको मृत्यु र १७८ जना घाइते भएका थिए।
त्यो आर्थिक वर्षमा डोल्पामा सवारी दुर्घटनामा परी १ जनाको मात्रै मृत्यु भएको थियो। कालिकोट र दैलेखका १४/१४ जनाको मृत्यु भएको थियो। हुम्लामा ११, जुम्लामा ५ र मुगुमा ३ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली प्रदेशमा सवारी दुर्घटनामा परी कुल १३५ जनाको मृत्यु भएको थियो भने २ हजार ३०५ जना घाइते भएका थिए। त्यो आर्थिक वर्षमा १ हजार ५८० सवारीसाधन दुर्घटनामा संलग्न थिए भने दुर्घटनाको संख्या १ हजार १९७ वटा थियो।
यो बितेको आर्थिक वर्षमा पनि सबैभन्दा बढी मानवीय क्षति सुर्खेतमै भएको छ। दुर्घटनामा परी ३७ जनाको मृत्यु भएको थियो भने १ हजार १९५ जना घाइते भएका थिए। त्यो वर्ष सुर्खेतमा ९७६ सवारीसाधन दुर्घटनामा संलग्न थिए भने दुर्घटनाको संख्या ६९० वटा थियो।
बितेको आर्थिक वर्षमा रुकुममा २२ जनाको मृत्यु भएको थियो भने सल्यानमा २१ जनाको मृत्यु भएको थियो। कालिकोटमा १३ जना, दैलेखमा १२ जना, जाजरकोटमा ९ जना, हुम्लामा ८, डोल्पामा ६, जुम्लामा ४ र सबैभन्दा कम मुगुमा ३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए।
त्यस्तै, आर्थिक वर्ष २०८३/०८४ को करिब २ महिनाको अवधिमा कर्णाली प्रदेशमा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भइसकेको छ। २९१ जना घाइते भएका छन्। यो अवधिमा २२६ वटा सवारीसाधन दुर्घटनामा संलग्न थिए भने दुर्घटनाको संख्या १७० थियो।
यो अवधिमा सबैभन्दा बढी सल्यानमा ७ जना, सुर्खेतमा ५ जना, रुकुममा ४ जना, डोल्पामा २ जना तथा जुम्ला, दैलेख, कालिकोट र जाजरकोटमा १/१ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ। मुगु र हुम्लामा सवारी दुर्घटनामा परी यो अवधिमा कसैले ज्यान गुमाउनु परेको छैन।
विपद्का घटनातर्फ आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीमा ७६५ वटा विपद्का घटना भएका थिए। त्यसमा परी १९४ जनाको मृत्यु भएको थियो भने ४७४ जना घाइते भएका थिए। त्यो आर्थिक वर्षमा विपद्का घटनामा परी ७२५ वटा पशुचौपाया मरेका थिए भने ६३ हजार १३१ वटा भौतिक संरचनामा क्षति पुगेको थियो। जसबाट अनुमानित क्षति २ अर्ब ६६ करोड १५ लाख ६२ हजार १२० रुपैयाँ बराबरको भएको थियो।
आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीमा ८२१ वटा विपद्का घटना भएका थिए। त्यसमा परी ३५ जनाको मृत्यु भएको थियो भने १८० जना घाइते भएका थिए। १ जना बेपत्ता भएका थिए। त्यो वर्ष ८८२ वटा पशुचौपाया मरेका थिए भने १ हजार ३०६ वटा भौतिक संरचनामा क्षति पुगेको थियो। जसबाट अनुमानित क्षति १ अर्ब ६२ करोड ६६ लाख ७ हजार ४४० रुपैयाँ बराबरको भएको थियो।
आर्थिक वर्ष २०८२/०८३ मा कर्णालीमा ७०० वटा विपद्का घटना भएका थिए। त्यसमा परी २२ जनाको मृत्यु भएको थियो भने ७३ जना घाइते भएका थिए। १ जना बेपत्ता भएका थिए। त्यो वर्ष कर्णालीमा ३५४ वटा पशुचौपाया मरेका थिए भने १ हजार १५२ वटा भौतिक संरचनामा क्षति पुगेको थियो। जसबाट अनुमानित क्षति ३९ करोड ६९ लाख ९ हजार ६०० रुपैयाँ बराबरको भएको थियो।
चालु आर्थिक वर्ष २०८३/०८४ को एक महिनाको अवधिमा कर्णालीमा १५७ वटा विपद्का घटना भइसकेका छन्। त्यसमा परी १० जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए। २ जना बेपत्ता छन्। यो चालु वर्षको एक महिनाको अवधिमा कर्णालीमा १२१ वटा पशुचौपाया मरेका छन्। २२४ वटा भौतिक संरचनामा क्षति पुगेको छ भने अनुमानित क्षति ५१ करोड ४६ हजार ९०० रुपैयाँ बराबरको पुगेको छ।