लुम्बिनी प्रदेश तेक्वान्दो संघको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः बिमल रिजालकै नेतृत्वमा सर्वसम्मत रूपमा १६ सदस्सीय कार्यसमिति चयन गरेको छ।
प्रदेशमा संघको पहिलो पटक गठन भएको तदर्थसमिति समेतलाई जोड्दा रिजालको यो तेस्रो कार्यकाल हो।
रिजाल प्रदेश तेक्वान्दो संघको संस्थापक अध्यक्ष पनि हुन्।
बुधबारदेखि सुरू भई बिहीबार सकिएको अधिवेशनले उपाध्यक्षद्वय विनिल केसी र राजिवसिंह क्षेत्री, कोषाध्यक्षमा देवबहादुर केसी लगायतलाई सर्वसम्मत रूपमा चयन गरेको छ।
उपाध्यक्ष बिनिल यसअघिको कार्यसमितिमा सचिव थिए भने हाल कोषाध्यक्ष भएका देवबहादुर कार्यसमिति सदस्य र हाल सदस्य रहेका मोहन यसअघि कोषाध्यक्ष थिए। सदस्यमध्येबाट एक जना सचिव मनोनीत गरिने छ। अबको सचिव मोहन सुनार हुने सहमति भइसकेको छ। उनी यसअघि कोषाध्यक्ष थिए।
प्रदेश तेक्वान्दो संघको अधिवेशनबाट कार्यसमिति सदस्यमा रितु राना, बमबहादुर बिक, मोहन सुनार, दुर्गाबहादुर खड्का, सचिन पौडेल, डम्मरबहादुर बुढाथोकी, बिरबहादुर रावत (बिरु), दिपेन्द्र रिजाल, सपना बस्नेत, नारायणी कुमारी वली, श्याम घले, साबित्रा गुरूङलाई सर्वसम्मत रूपमा चयन गरेको निर्वाचन संयोजक पारेश्वर भट्टराईले जानकारी दिए।
संघको तुलसीपुरमा भएको अधिवेशनमा संघका केन्द्रीय अध्यक्ष दीपराज गुरूङ, महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य तथा केन्द्रबाट खटाइएका अधिवेशन प्रतिनिधि श्रीमण थापा लगायत लुम्बिनी प्रदेशभरका तेक्वान्दाका खेलाडी, प्रशिक्षक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
होटल वष्टर्न पार्टी प्यालेसमा भएको अधिवेशनले तेक्वान्दो खेलको विकास, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे दिशा तय गरेको प्रदेशका अध्यक्ष बिमल रिजालले बताए।
रिजाल अध्यक्ष भएपछि यसअघि नै तुलसीपुरको दुधेना कृष्ण मन्दिर नजिकै तेक्वान्दो संघको सभाहल निर्माण भएको थियो। त्यो सभाहल प्रदेश सरकारको लगानीबाट निर्माण भएको हो।