बाँकेको नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा शनिबारदेखि नेपालगञ्ज रंगशालामा नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरू हुँदैछ।
नेपाल स्वीमिङ एसोसिएसनसँग सहकार्य गरेर आयोजना हुने नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा भारतको लखनऊ, दिल्ली र पंजाबबाट समेत खेलाडी सहभागी हुँदैछन्।
प्रतियोगितामा भारतबाट करिब ५० जना र बाँकेको नेपालगञ्ज लगायत देशैभरबाट करिब १५० जना गरी करिब २०० जना खेलाडीहरू सहभागी हुँदैछन्।
अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ बर्ष भन्दा बढी उमेरका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। खेलाडीका बीचमा फ्रि स्टाइल, बेष्ट स्ट्रोक, ब्याक स्ट्रोक , बटर फ्लाइ , रिले र ब्यक्तिगत गरी ६ छुट्टा छुट्टै बिधाका ८० वटा इभेन्टमा प्रतिष्पर्धा हुने छ।
च्याम्पियनसिपमा सहभागी हुन भारत लगायत देशैभरका खेलाडी नेपालगञ्ज आउने क्रम सुरू भएको क्लबका अध्यक्ष केशव न्यौपानेले बताए।
क्लबले स्थापना कालदेखि नै नियमित रूपमा राष्ट्रिय स्तरको स्वीमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ।
पहिलो र दोस्रो संस्करणको सफल आयोजना पछि तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप १४ र १५ गते नेपालगञ्ज रंगशालामा हुन लागेको हो।
च्याम्पियनसिप संचालनका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको नेपाल स्वीमिङ एसोसिएसनका प्राविधिक निर्देशक विष्णु खड्काले बताए।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेल अवधिभर नेपालगञ्जका स्वीमिङ पुल भएका चारतारे स्तरका होटेलमा बस्ने र खाने नि:शुल्क सुविधा आयोजक क्लबले उपलब्ध गराउने भएको छ। प्रतियोगिता संचालन गर्न करिब ३५ लाख लाग्ने अनुमान गरिएको छ।
स्वीमिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जका स्वीमिङ खेल प्रेमी उद्योगी, ब्यवसायी, डाक्टर, इन्जिनियर, कानुन ब्यवसायी, चार्टर एकाउन्टेड , सञ्चारकर्मी लगायत नागरिक समाजका अगुवाहरूको पहलमा गठन गरिएको यो क्लबव नै लुम्बिनी प्रदेश कै पहिलो स्वीमिङ क्लब हो।