बाँकेको नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु हुँदै छ।
नेपाल स्विमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजना हुने प्रतियोगितामा भारतको लखनउ, दिल्ली र पञ्जाबबाट समेत खेलाडी सहभागी हुँदै छन्।
प्रतियोगितामा भारतबाट करिब ५० जना र बाँकेको नेपालगन्जलगायत देशभरबाट करिब १५० जना गरी करिब २०० खेलाडी सहभागी हुनेछन्।
अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात् १७ वर्षभन्दा बढी उमेरका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। खेलाडीबीच फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत गरी ६ विधाका ८० इभेन्टमा प्रतिस्पर्धा हुनेछ।
च्याम्पियनसिपमा सहभागी हुन भारतलगायत देशभरका खेलाडी नेपालगन्ज आउने क्रम सुरु भएको क्लबका अध्यक्ष केशव न्यौपानेले बताए।
क्लबले स्थापना कालदेखि नै नियमित रूपमा राष्ट्रियस्तरको स्विमिङ प्रतियोगिता आयोजना गर्दै आएको छ। पहिलो र दोस्रो संस्करणको सफल आयोजनापछि तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा हुन लागेको हो।
च्याम्पियनसिप सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको नेपाल स्विमिङ एसोसिएसनका प्राविधिक निर्देशक विष्णु खड्काले बताए।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेल अवधिभर नेपालगन्जका स्विमिङ पुल भएका चारतारे स्तरका होटलमा बस्ने र खाने निःशुल्क सुविधा आयोजक क्लबले उपलब्ध गराउने भएको छ। प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
स्विमिङ खेलको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जका खेलप्रेमी उद्योगी, व्यवसायी, डाक्टर, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड अकाउन्टेन्ट, सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाहरूको पहलमा क्लब गठन गरिएको हो। यो क्लब लुम्बिनी प्रदेशकै पहिलो स्विमिङ क्लब हो।
स्विमिङ स्वास्थ्य, सुरक्षा र जीवनशैलीसँग जोडिएको महत्त्वपूर्ण खेल हो। स्विमिङ जान्नुलाई विश्वभर नै अत्यावश्यक जीवनोपयोगी सीपका रूपमा लिइन्छ।
भोलिदेखि सुरु हुने च्याम्पियनसिपलाई नबिल बैंकले टाइटल स्पोन्सर गरेको छ। लुम्बिनी प्रदेश खेलकुद परिषद्, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गर्ने भएका छन्। नेपाल टेलिकम, बीवाईडी, बेस्टन हस्पिटल, शिखर प्लाइ, डर्मा अर्थ र स्टार पाइप एन्ड फिटिङले प्रायोजन गरेका छन्।
विद्यालय साझेदारका रूपमा शिखा एकेडेमी, ब्राइटल्यान्ड, सोफिया, आदर्श र बागेश्वरी एकेडेमीलगायत विद्यालय रहेका छन्।