बाँकेको नेपालगन्जमा नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु भएको छ।
नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको शनिबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए।
दुई दिनसम्म चल्ने प्रतियोगिताअन्तर्गत शनिबार दिउँसो ३ बजेसम्म १७ वटा इभेन्ट सम्पन्न भएका छन्। अहिलेसम्मको नतिजाअनुसार ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ११ स्वर्ण पदक जित्दै अग्रता लिएको छ।
त्यस्तै, भारतको नयाँदिल्लीस्थित इलाइट स्वीमिङ एकेडेमीले चार स्वर्ण जितेको छ। ललितपुरको रातो बंगला स्कुल र काठमाडौंको मपिल क्यानेडियन स्कुलले एक–एक स्वर्ण पदक जितेका छन्।
प्रतियोगितामा आठ वर्षमुनिदेखि १७ वर्षसम्मका तथा १७ वर्षभन्दा माथिका खुला समूहका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। खेलाडीले फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले गरी छ विधाका ८० इभेन्टमा प्रतिस्पर्धा गर्दैछन्। शनिबार केही इभेन्टका हिट चरण सम्पन्न भएका छन् भने तिनको फाइनल प्रतिस्पर्धा आइतबार हुनेछ।
नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजित प्रतियोगितामा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट आएका गरी १५० खेलाडी सहभागी छन्। प्रतियोगिताको टाइटल स्पोन्सर नबिल बैंक रहेको छ।
स्वीमिङ खेलको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जका खेलप्रेमी उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट, सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाहरूको पहलमा नेपालगन्ज स्वीमिङ क्लब गठन गरिएको हो। यो लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो।