आइपिएल क्रिकेटमा किंग्स-११ पञ्जाव र राजस्थान रोयल्सबीच आइतबार राति भएको खेल क्रिकेटप्रेमीले सायदै बिर्सिएलान्।
दुवै इनिङमा गरी ४४९ रन बनेको खेलमा छक्काको वर्षा भएको थियो। कूल २९ छक्का प्रहार भएको खेलमा एक खेलाडीले शतक प्रहार गर्दा चार खेलाडीले अर्धशतक बनाएका थिए।
पहिले ब्याटिङ गरेको पञ्जावले २२३ रनको विशाल योगफल तयार पारेको थियो। पञ्जावका लागि मंयक अग्रवालले शतक प्रहार गर्ने क्रममा १०६ रन जोडेका थिए भने कप्तान केएल राहुलले ६९ रन बटुलेका थिए।
२२४ रनको लक्ष्य पार गर्नु राजस्थानका लागि निकै चुनौतीपूर्ण थियो। अझ ओपनर जोस बटलर ४ रनमै आउट हुँदा राजस्थानलाई सुरुमै झड्का लागेको थियो। त्यसपछि कप्तान स्टिभ स्मिथ र सञ्जु सामसनको जोडीले आक्रमक ब्याटिङ गर्दै राजस्थानको इनिङ उकासेका थिए।
स्टिभ ५० रन बनाएर आउट भएपछि ब्याटिङमा आएका राहुल टेवाटियामाथि राजस्थानको जित निर्भर थियो। विशाल लक्ष्य पछ्याइएको राजस्थानलाई लगातार बाउन्ड्रीको खाँचो परिरहेको थियो। तर टेवाटियाले सुरुमा १-२ रन मात्र लिन सके।
टेवाटियालाई चौका-छक्का प्रहार गर्न मुस्किल परिरहेको थियो। उनले २३ बलको सामना गर्दा केवल १७ रन मात्र जोडेका थिए।
त्यतिबेलासम्म उनले एक छक्का मात्र हिर्काउन सकेका थिए। जुन विशाल लक्ष्य पछ्याइरहेको टिमका लागि एकदमै खराब ब्याटिङ हो। त्यतिबेला उनी टिमका लागि भिलेन बनिरहेका थिए।
खेलकै दौरान टेवाटियाको ब्याटिङको आलोचना गर्दै क्रिकेट विश्लेषक हर्ष भोग्लेले 'उनले आफ्नो टिमलाई हराइरहकेा छन्' भन्दै ट्विट गरेका थिए।
टेवाटियाले सुस्त गतिमा रन बनाइरहदा आक्रामक ब्याटिङ गरेका सञ्जु समासन ४२ बलमा ८५ रन बनाएर आउट भइसकेका थिए।
अन्तिम ३ ओभर बाँकी रहदा राजस्थानलाई जितका लागि ५१ रन चाहिएको थियो।
१८औं ओभरमा पञ्जावका लागि सेलडम कोट्रेल बलिङमा आएका थिए। जुन ओभरमा टेवाटियाले अविश्वसनिय ब्याटिङ गरे।
कोट्रेलविरुद्ध टेवाटिया पहिलो बलमै आक्रमक देखिए। पहिलो बलमा छक्का प्रहार गरे। दोस्रो बल र तेस्रो बलमा पनि टेवाटियाले छक्का प्रहार गरे।
लगातार तीन छक्का प्रहार गरे पछि पञ्जाव दबाबमा आइसकेको थियो। चौथो बलमा पनि टेवाटियाले छक्का प्रहार गरे। पाँचौ बल भने डट भएको थियो।
छैटौं बलमा उनले ओभरको पाँचौ छक्का प्रहार गर्दै एकै ओभरमा ३० रन बटुलेका थिए। पाँच बल छक्का प्रहार गरेसँगै टेवाटिया टिमका लागि जिरोबाट हिरो बनिसकेका थिए।
मोहमद सामीले बलिङ गरेको १९औं ओभरको पाँचौ बलमा अर्को छक्का प्रहार गरेसँगै टेवाटियाले आइपिएलको पहिलो अर्धशतक पूरा गरे। ओभरको छैटौं बलमा आउट भएका टेवाटियाले ३१ बलमा ५३ रन जोड्दै पञ्जावलाई जित नजिक पुर्याए।
जससँगै राजस्थानले अन्तिम तीन बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा २२४ रनको विशाल लक्ष्य पूरा गर्यो।
आइपिएलमा कुनै पनि टिमले पार गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो। यसअघि सबैभन्दा ठूलो लक्ष्य पार गर्ने कीर्तिमान पनि राजस्थानकै नाममा थियो।
राजस्थानले सन् २००८ मा डेकन चार्जरले दिएको २१५ रनको लक्ष्य पार गरेको थियो।
टेवाटियाले सन् २०१४ देखि आइपिएल टिममा स्थान बनाए पनि उनले राम्रो खेल देखाउन सकेका थिएनन्। सन् २०१८ मा उनले ८ खेलमा कुल ५० रन जोडका थिए। यसअघि उनको आइपिएलमा सर्वाधिक स्कोर २४ रन थियो।
आइपिएल खेल्न थालेको ६ वर्षपछि आफ्नो क्षमता प्रमाणित गरेका टेवाटियाको अहिले तारिफ भइरहेको छ। सोसल मिडियामा छाएका टेवाटियाको प्रशंसा गर्दै भारतका पूर्व ब्याट्सम्यान युवराज सिंहले बधाइ दिएका छन्।
विश्वकपमा ६ बलमा ६ छक्का प्रहार गरेका सिंहले राहुलले ५ छक्का मात्र हानेकोमा 'धन्यवाद' भन्दै हाँसो गरेका छन्।
खेलपछि टेवाटिया आफैमाथि विश्वास गरेकाले एकै ओभरमा छक्का हान्न सकेको बताए।
'आफूमाथि भरोसा गर्नु पर्ने कुरा मलाई थाहा थियो। एक छक्काको कुरा थियो। एकै ओभरमा पाँच छक्का हान्नु सक्नु गजबको कुरा हो। मैले लेग स्पिनरको बलमा रन हान्न खोजेको थिएँ। तर सकिन। त्यसैले मैले रन हान्न दोस्रो बलरलाई कुर्नु थियो,' टेवाटियाले खेलपछि भने।