नेपाल प्रिमियर लिग टिम विराटनगर किंग्सले ग्रासरुट विकास कार्यक्रम अन्तर्गत ड्रिम टु प्लेको दोस्रो संस्करण आयोजना गर्न लागेको छ।
असोज १ गते देखि ५ गते सम्म सञ्चालन हुने कार्यक्रम कोशी प्रदेश क्रिकेट संघ अन्तर्गत रहेका पाँच जिल्लाका युवा क्रिकेट खेलाडीहरूबीच टी-२० फर्म्याटमा प्रतिस्पर्धा हुनेछ।यस प्रतियोगितामार्फत विभिन्न जिल्लामा रहेका प्रतिभाशाली खेलाडीलाई एउटै प्लेटफर्ममा ल्याई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ।
कार्यक्रम केवल एउटा क्रिकेट प्रतियोगिता मात्र नभई युवा प्रतिभाको खोजी, विकास र भविष्य निर्माण गर्ने अभियान भएको किंग्सको भनाइ छ।
दोस्रो पटक आयोजना गर्न लागेको यस कार्यक्रमले कोशी प्रदेशमा क्रिकेटको आधार तहलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
यस प्रतियोगिताको अर्को महत्वपूर्ण पक्ष भनेको विराटनगरको टोलीमा आइकोनिक खेलाडी छनोट पनि हो। प्रतियोगिताका क्रममा खेलाडीहरूको प्रदर्शन, क्षमता, अनुशासन, क्रिकेटिङ स्किल तथा सम्भावनालाई मूल्याङ्कन गर्दै उत्कृष्ट प्रतिभामध्येबाट बिराटनगर किङ्सको खेलाडी छनोट गरिनेछ।