स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेसी पछिल्लो समय क्लबप्रति खुसी छैनन्।
ला लिगाको उपाधि यात्रामा धक्का लागेपछि मेसी र क्लबका अफिसियलबीच मतभेद बढेको छ।
पछिल्लो दुई सिजनको ला लिगा च्याम्पियन बार्सिलोनाको खेल खस्किदा कप्तानको भूमीकामा रहेका मेसीमाथि दबाब थपिएको छ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्ष स्थानको रियल म्याड्रिड भन्दा ४ अंकले पछि छ। लिगमा अब पाँच चरणका खेल बाँकी छन्। जसमध्ये चार खेलमा विजयी भए रियलले बार्सिलोनालाई पछि पारेर उपाधि जित्नेछ।
कोरोनाभाइरसका कारण रद्द भएको लिग सुचारु हुनुअघि बार्सिलोनाले दुई अंकको अग्रता लिएको अवस्था थियो। तर अहिले रियलसँग चार अंकले पछि परेको स्थिति छ।
बार्सिलोनाको खेल खस्किरहदा ६ पटकका बालोन डि'अर विजेता ३३ वर्षीय मेसीले क्लब छाड्ने खबर सार्वजनिक हुन थालेका छन्। मेसी र बार्सिलोनाबीच सन् २०२१ सम्म सम्झौता छ।
स्पेनको पुरानो रेडियो काडेना सेरले मेसीले बार्सिलोना छाड्ने निर्णय गरेको दाबी गरेको छ। रेडियोका अनुसार मेसीले सन् २०२१ मा बार्सिलोनासँग सम्झौता सकिएपछि क्लब छाड्नेछन्।
क्लबले मेसीसँग सम्झौता थप्न चाहे पनि मेसीले यो विषयमा कुरा गर्न चाहेका छैनन्।
मेसीले आफ्ना नजिकका व्यक्तिहरूसँग आफू क्लबका लागि समस्या बन्न नचाहेको पनि बताएको रेडियोले उल्लेख गरेको छ।
काडेना सेरमा समाचार आएपछि पत्रकारहरुले 'मेसीले स्पेन छाडे ला लिगा कस्तो हुन्छ?' भन्दै रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानसँग प्रश्न सोधेको गोल डटकमले लेखेको छ।
जिदानले मेसीले स्पेन छाड्ने खबर सुखद नभएको जवाफ फर्काएका थिए।
बिहीबार रियलले गेटाफेलाई पराजित गरेपछिको पत्रकार सम्मेलनमा जिदानले मेसीले ला लिगाबाटै खेल्नु पर्ने चाहाना व्यक्त गरेका हुन्।
'मलाई भविष्यमा के हुन्छ भन्ने थाहा छैन। तर त्यस्तो नहोस् भन्ने आसा छ। किनभने उनी ला लिगामा छन् र हामी उत्कृष्ट खेलाडी यो लिगमा चाहान्छौं,' जिदानले भने।