इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिलियन स्ट्राइकर गाब्रियल जेसस कम्तिमा तीन साताका लागि मैदान बाहिर रहने भएका छन्।
ब्राजिल फुटबल फेडेरेसनले घाइते भएका जेससको नाम बोलिभिया र पेरुविरुद्ध खेल्ने टिमबाट फिर्ता लिएको छ।
जेसस गत सोमबार वुल्भ्सविरुद्धको खेलका दौरान घाइते भएका थिए। २३ वर्षीय जेससले सो खेल पूरै खेलेका थिए भने गोल समेत गरेका थिए।
यसअघि सिटीका अर्का स्ट्राइकर सर्जियो अग्युरो पनि घाइते थिए। घुँडामा चोट लागेका उनी अझै सात साता मैदान बाहिर रहनेछन्।
ब्राजिल र सिटीका लागि महत्वपूर्ण खेल गुमाउन लागेका जेससले छिट्टै मैदान फर्कने विश्वास व्यक्त गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
ब्राजिलले आगामी ९ अक्टोबरमा बोलिभिया र १३ अक्टोबरमा पेरुसँग खेल्नेछ।
यस्तै सिटीले प्रिमियर लिगमा आइतबार लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।