अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ २८ मा झापामा हुन लागेको केन्द्रीय कार्य समितिको निर्वाचनमा तेस्रो पक्षको हस्तक्षेप भएको बताएको छ।
उच्च अदालत पाटनको निर्वाचन प्रक्रिया रोक्न दिएको अन्तरिम आदेश र राष्ट्रिय खेलकुद परिषदले विधान संशोधन गरेर मात्र निर्वाचन गर्न निर्देशन दिएपछि एन्फाको निर्वाचनको विषयमा अन्योल बढेको छ।
एन्फाले निर्वाचन प्रक्रिया वैधानिक रुपमा बढेको अवस्थामा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र अदालतको आदेशलाई निर्वाचनमा हस्तक्षेप भएको संकेत गरेको छ।
साथै तोकिएको मितिमा निर्वाचन नभए अन्तर्राष्ट्रिय निकायले हस्तक्षेप मान्दै एन्फालाई निलम्बन गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। यसले नेपाली फुटबलमा आउने अनुदान रोकिने पनि एन्फाको भनाइ छ।
एन्फाले आफ्ना सदस्यलाई पठाउँदै उल्लेखित कुरा जानकारी गराएको हो।
हेर्नुहोस् पत्रमा के लेखिएको विवरण :-
अखिल नेपाल फुटबल संघ (एन्फा) को मिति २०८२ पौष १६ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार मिति २०८२ माघ २८ गते, झापामा हुने अखिल नेपाल फुटवल संघ (एन्फा) को अर्डिनरी कंग्रेस (साधारण सभा) तथा २०८२-२०८६ (४ वर्ष) कार्यकालको लागि कार्यसमितिको निर्वाचनको प्रक्रिया प्रारम्भ भैसकेको अवस्थामा विभिन्न तेश्रो पक्षहरुले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्मानित उच्च अदालत लगायतमा निर्वाचन रोक्न उजुरी दिएको यहाँमा जानकारी गराउँदछु।
संघले विधान बमोजिम आयोजना गर्न लागेको साधारण सभा तथा २०८२-२०२६ (४ वर्ष) कार्यकालको लागि हुने निर्वाचनको कार्यक्रमहरुको बारेमा कार्यसमितिको निर्णय पूर्व नै फिफा र ए.एफ.सी लाई परिपत्र गरी अनुमती लिई संघको कार्यसमितिको बैठकको निर्णय पश्चात राष्ट्रिय खेलकुद परिषद्लाई जानकारी दिई सकिएको थियो। कार्यसमितिको निर्णय पश्चात संघको विधान बमोजिम संघमा आवद्ध सदस्य संस्थाहरु (१०६)ले उक्त कार्यक्रमका लागि आ-आफ्नो कार्यसमितिबाट निर्णय गरी मताधिकार प्रतिनिधि र प्रतिनिधिहरुको नामावली संघमा पठाई सक्नु भएको छ, भने उम्मेदारी दर्ता प्रक्रिया समेत सम्पन्न भैसकेको छ।
अखिल नेपाल फुटबल संघको निर्णय विरुद्धमा संघमा आवद्ध सदस्य संस्थाहरु भन्दा बाहिरबाट तेश्रो पक्षहरुले यवा तथा खेलकद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्मानित उच्च अदालत लगायतमा उजुरी दर्ता गरे पश्चात मिति २०८२ माघ २ गते (तदनुसार सन् २०२६ जनवरी १६ तारिख) संघलाई विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (ए.एफ.सी) बाट संयुक्त रुपमा परिपत्र प्राप्त भएको छ ।
पत्रमा विश्व फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (ए.एफ.सी) र अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान बमोजिम सवै प्रकृयाहरु वैद्यानीक तवरबाट अगाडी बढी रहेको हुँदा घोषित मितिमा नै कुनै तेश्रो पक्षको हस्तक्षेप विना संघको साधारण सभा तथा कार्यसमितिको निर्वाचन सम्पन्न गर्न निर्देशन सहितको पत्र प्राप्त भएको छ ।
साथै पत्रमा संघद्धारा घोषित बैधानिक रुपमा आयोजना भएको एन्फा साधारण सभा तथा कार्यसमितिको निर्वाचन कार्यक्रम सम्पन्न गर्न संघको दायित्व रहेको कुरा पनि ध्यानार्षण गराएकोछ । कुनै तेश्रो पक्षको हस्तक्षेप विना घोषित कार्यक्रम सम्पन्न गर्न निर्देशन दिदै यदि कुनै तेश्रो पक्षको हस्तक्षेप भई उक्त साधारण सभा र निर्वाचन प्रकृयामा अवरोध भएको अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन हुने भनि सचेत गराएकोछ ।
तसर्थ कुनै पनि तेश्रो पक्षको हस्तक्षेपको कारण घोषित भएको साधारण सभा र निर्वाचन तोकिएको मितिमा सम्पन्न नभएको अवस्थामा संघ निलम्बनमा पर्ने र नेपाली फुटबल दुर्घटनामा जाने, सवै राष्ट्रिय, अन्तराष्ट्रिय, प्रतियोगिताहरु तथा अन्तराष्ट्रिय सहभागीता लागायत गतिविधिहरुका साथै फिफा, ए.एफ.सीबाट प्राप्त हुने आर्थिक अनुदानहरु रोकिन सक्ने अवस्था सिर्जना हुने व्यहोरा समेत जानकारी गराउँदछु ।
त्यसैले एन्फा साधारण सभा तथा कार्यसमितिको निर्वाचन कुनै तेश्रो पक्षको हस्तक्षेप विना घोषित मिति २०८२ माघ २८ गते झापामा नै सम्पन्न हुने व्यहोरा जानकारी गराउँदछु।

