अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।
दिउँस विरोध प्रदर्शन गरेका क्लबका प्रतिनिधि अहिले एन्फाको गेटको सडकमा रिले अनसनमा बसेका छन्। एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्ना माग सम्बोधन नभएसम्म रिले अनसन जारी रहने बताएका छन्।
उनले सोमबार क्लब र एन्फाबीच वार्ता भए पनि सफल नभएको बताए। साथै फेरि हुने वार्ता सफल नभए भोलि पनि अनसन बस्ने शेर्पाको भनाइ छ।
यो पनि : एन्फासँग ए डिभिजन क्लबका सात माग
यसअघि नेपाल फुटबल खेलाडी संघसँगको वार्तामा ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने सहमति भएको थियो। त्यहिँअनुरुप एन्फाले क्लबहरूलाई पत्राचार गरेको थियो। तर क्लबहरूले यो सहमतिलाई एकलौटी भनेको छ।
क्लबहरूको भनाइ छ, ‘आज एउटा निर्णय गर्ने, सम्झौता गर्ने भोलि कार्यान्वयन नगर्ने, आफ्नो खुसीले एकलौटी निर्णय गर्ने प्रवृत्तिप्रति हामी सरोकारवाला आजित भइसकेका छौ।’
एन्फासँग क्लबहरू आजै सात बुँदे माग समेत गरेका थिए। उनीहरुले यसअघि भएका सहमति कार्यान्वयन हुनु पर्ने र क्लबलाई अहिलेको अवस्थामा चैत ३० देखि ए डिभिजन लिग खेल्न सहज नहुने भनाइ छ।