दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ भेलाही गाउँकी १७ वर्षीया निशा चौधरीको यतिखेर देशभर चर्चा भइरहेको छ।
तुलसीपुरको अरनिको माध्यमिक विद्यालयमा १२ कक्षाको परीक्षा दिएर बसेकी निशाले लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान राखेकी छन्।
असार २८ गतेदेखि सुरू भएर ३० गते समापन भएको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जुनियर स्पर्धा खेलाडी निशाले सिनियरतर्फबाट राष्ट्रिय कीर्तिमान बनाउन सफल हुनु तुलसीपुरका र यहाँका बासिन्दाका लागि चानचुने उपलब्धि होइन।
निशाले सन् २०१८ मा एपिएफकी शिला चौधरीले कायम गरेको कीर्तिमानभन्दा २ सेन्टिमिटर बढी अर्थात् ५ मिटर ४७ सेन्टिमिटरको नयाँ रेकर्ड बनाएकी छन्। गत बुधबारदेखि लङजम्पको नयाँ रेकर्ड निशाको नाममा कायम भएको छ।
तीन वर्ष गाउँमै तेक्वान्दो खेल्दा साथीहरूसँग गरेको अभ्यासले नै उनी राष्ट्रिय कीर्तिमान रच्न सफल भएकी हुन्।
तेक्वान्दोको 'ब्ल्याक टच बेल्ट' सम्म खेले पनि पछिल्लो ६-७ महिनादेखि खेल्न छाडेको निशाले बताइन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/bibid/jilla/nisha%20chaudhary%20%286%29.jpg)
'गुरू आउनुभन्दा पहिला नै हामी मैदानमा पुगेका हुन्थ्यौं। साथीहरू एकआपसमा मिलेर स्टामिनाका लागि लङजम्प अभ्यास गर्थ्यौं,' निशाले भनिन्, 'मैले त्योबाहेक कहिल्यै कतै पनि लङजम्प अभ्यास गर्ने मौका पाइनँ।'
जीवनमै पहिलो पटक देशको संघीय राजधानी काठमाडौं पुगेकी उनले दशरथ रंगशालामा लङजम्पका साथै दौडमा पनि जुनियरतर्फको नयाँ कीर्तिमान राखेकी छन्। राष्ट्रपति रनिङ शिल्डमा चार स्पर्धामा स्वर्ण जितेकी निशाले ३ स्पर्धामा एक्लै स्वर्ण पदक जितिन्।
एक सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गरी जुनियरतर्फको नयाँ कीर्तिमान आफ्नो नाममा सार्न उनी सफल भएकी हुन्। निशाले दुई सय मिटर दौडमा पनि स्वर्ण पदक जितेकी छन्। उनीसहित रेशु थारू, रामकुमारी थारू र सम्झना थारू सम्मिलित लुम्बिनी टोलीले चारगुणा एक सय मिटर रिले दौड ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक प्रदेशलाई जिताइन्।
निशा कक्षा ६ सम्म गाउँकै एक सरकारी विद्यालयमा पढिन्। उक्त स्कुलमा त्योभन्दा माथिल्लो कक्षा नभएकाले कक्षा ७ पढ्न मानपुर मावि भर्ना भइन्। मानपुर भर्ना भएकै वर्ष उनी पहिलोपटक दौड प्रतियोगितामा सहभागी भइन्। पाँचौं भइन्।
त्यसपछि विद्यालयको आन्तरिक अतिरिक्त क्रियाकलापमा भाग लिँदै गइन्। कक्षा ८ मा पढ्दा नगरस्तरीय मेयर कपमा सहभागी भइन्। यसमा पनि सफलता मिलेन। उनी निराश नभई लागिरहिन्।
कक्षा ९ पढ्दा आफ्नो विद्यालयको वार्षिक कार्यक्रममा १२/१३ जना छात्रालाई पछाडि पार्दै उनले जित हासिल गरिन्। एउटा कलम र कापी पुरस्कार पाइन्।
'विजेता बनेर पाएको पुरस्कारले आत्मबल बढायो,' उनले भनिन्, 'छुट्टै अनुभूति मात्रै दिएन, एउटा बेग्लै उर्जा थप्यो।'
अनि उनले अब निरन्तर खेलमा लाग्ने प्रण गरिन्। मानपुरमा तेज केसीसँग तेक्वान्दो खेल्न सुरू गरिन्। गाउँका अरू केटाकेटी पनि खेल्न जान्थे। बुवाले पनि हौसला दिए।
'बुवाले छोरी मान्छे भएर जहाँ गए पनि आफ्नै खुट्टामा उभिन सक्नु पर्छ भनेर ढाडस दिनुभयो,' उनले सुनाइन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/bibid/jilla/nisha%20chaudhary%20%283%29.jpg)
कक्षा १० पढ्दा उनी फेरि मेयर कपमा सहभागी भइन्। बगर्दीमा भएको प्रतियोगितामा निशा एक सय मिटर दौड र लङजम्पमा दोस्रो र हाइजम्पमा प्रथम भइन्।
त्यतिखेर उनले तेक्वान्दोमा पनि राम्रै गरिरहेकी थिइन्। दसपछि भने पढ्न तुलसीपुर बजार जानुपर्ने भयो। उनको प्रतिभा देखेरै विद्यालयले उनलाई छात्रवृत्तिमा पढाउने भयो। गाउँबाट बजार पढ्न आउनु पर्ने भएपछि खेलमा नियमित जाने समय भएन। 'ब्लाक टच बेल्ट' सम्म पुगेकी उनी पछिल्लो समय तेक्वान्दो गएकी छैनन्।
'तेक्वान्दो छोड्नुको अर्को प्रमुख कारण प्रतियोगिताहरू हुँदा दुवै खेल सँगसँगै हुनु पनि हो,' उनले भनिन्, 'मेरो रूचि दौड र लङजम्पमा भएकाले यतै लागेँ।'
तर बिहान सधैं साथीहरूसँग दगुर्ने र शारीरिक व्यायामलाई निरन्तरता दिइन्।
१७ वर्षीया निशा भन्छिन्, 'म एक्लै भए पनि गाउँमा शनिबारको दिन दौडिरहन्छु।'
आमा चैती र बुवा लक्षिराम चौधरीकी साँइली सन्तान हुन् निशा। परिवारको आर्थिक अवस्था बलियो छैन। उनकी जेठी दिदी सरिता घरमै सिलाइकटाइ काम गर्छिन्। माइली प्रमिलाले एसइई दिएपछि पढाइ छाडेर घर गृहस्थी सम्हालिन्। भाइ शवि कक्षा ९ मा पढ्छन्।
बुवा लक्षीराम रोजगारीको सिलसिलामा चार महिनाअगाडि भारत गएका छन्। आठ कट्ठा जति आफ्नै जमिन छ। त्यतिले परिवारलाई खान पुग्दैन। त्यसैले अरूको झन्डै एक बिगाहा बढी जग्गा अँधियामा कमाउँछन्। हलो जोत्नेदेखि धान रोप्ने तथा घर गृहस्थीका सबै काम आमा, दिदीबहिनी र भाइ मिलेर गर्छन्।
भाइ सानै छन्, स्कुल जानु पर्छ। त्यसैले निशा र उनकी दिदीहरू हलो जोत्छन्, धान रोप्छन्। त्यसैले यो वर्षामा निशालाई फुर्सद निकाल्न निकै कठिन छ। तर सोमबार उनी पढ्ने विद्यालय अरनिको माविले निशाको सम्मान कार्यक्रम राखेको छ। बाजागाजासहित बजार परिक्रमा गराएर उनको हौसला बढाउन खोजेको विद्यालयका शिक्षक मानबहादुर बस्नेतले बताए।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/bibid/jilla/nisha%20chaudhary%20%285%29.jpg)
अघिल्लो मेयर कपमा निशाले एथ्लेटिक्सकी प्रशिक्षक पद्मा चौधरीसँग एक हप्ताजति बिजौरीमा प्रशिक्षण लिएकी थिइन्। त्यो टुर्नामेन्टको समयमा सामूहिक प्रशिक्षण थियो। त्यसपछि त्यस्तै प्रतियोगिता भएन। यसपटक राष्ट्रपति रनिङ शिल्ड नजिक आउँदै गर्दा फेरि विद्यालयका प्रशिक्षक वसन्त वलीसँग झन्डै १५ दिन जति प्रशिक्षण लिएकी हुन्।
योबाहेक उनले अरू कुनै प्रशिक्षण लिएकी छैनन्। १२ कक्षाको परीक्षा दिएर घरकै कामकाजमा व्यस्त भएका बेला विद्यालयले बोलाएपछि आएकी हुन्। त्यही प्रशिक्षणका आधारमा असार ७ देखि ९ गतेसम्म बेलझुण्डीमा भएको नगरस्तरीय प्रतियोगितामा उनले भाग लिइन्। अगाडि दौडिरहेकी उनी ट्रयाकमै लडेकी थिइन्, तर उठेर दौडिइन् र प्रथम भइन्। प्रशिक्षकले यसलाई मान्यता दिएनन्। उनी पछाडि आएकी ऋतिका बोहोरालाई प्रथम घोषणा गरे।
बेलझुण्डीस्थित रंगशाला आम खेलाडीका लागि अझै खुला छैन। करोडौं खर्चिएर बनेको रंगशालामा स्थानीय खेलाडीले अघिपछि अभ्यास गर्न पाउँदैनन्। निशा त्यस्तो ट्रयाकमा कहिलै दौडिएकी थिइनन्।
'मैले लगाएको जुत्ता पनि पुरानो थियो। चिप्लियो र ट्रयाकमै लडेँ,' उनले भनिन्, 'चोट पनि लाग्यो। तै पनि म जिल्लाका लागि छनौट भएँ।'
चोटकै कारण असार १७ देखि २० गतेसम्म भएको जिल्लास्तरीय दौड प्रतियोगितामा भाग लिन सकिनन्। लङजम्पमा भने प्रथम भइन्। २४ देखि २६ गतेसम्म भएको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा पनि राम्रो प्रदर्शन गरिन्। एक सय मिटर दौड र लङजम्प दुवैमा प्रथम भइन्।
त्यसलगत्तै दशरथ रंगशालामा भएको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक सय मिटर दौड, दुई सय मिटर दौड र लङजम्प जितिन्। सयगुणा चार सय मिटर दौडको समूह दौडमा पनि लुम्बिनी प्रदेशलाई स्वर्ण जिताउन भूमिका खेलिन्।
'साथीको जुत्ता मागेर दौडिएकी थिएँ,' निशाले भनिन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/bibid/jilla/nisha%20chaudhary%20%282%29.jpg)
उनलाई जुत्ता दिने साथी बेलझुण्डीमा भएको नगरस्तरीय प्रतियोगिताकी विजेता ऋतिका बोहोरा नै थिइन्। निशा लडेका कारण उक्त प्रतियोगितामा विजयी हुन सकेकी थिइनन्। ऋतिका प्रथम भए पनि उनले निशालाई लडेका बेला उठाइन्।
'चोट लाग्यो कि भनेर उनले सोधिन्। उठाएर अंकमाल गरिन्,' निशा सम्झिन्छिन्, 'हामी दुवै तुलसीपुरकै भए पनि त्यसअघि चिनजान थिएन। त्यही घटनापछि हामी साथी बन्यौं।'
उनीहरूलाई एकअर्काको कुरा बुझ्न समय लागेन।
लगालग भएको प्रतियोगितामा जिल्लाभन्दा माथिको छनौटमा ऋतिका परिनन्। निशासँग दौडिँदा लगाउने जुत्ता थिएन। यो कुरा ऋतिकालाई थाहा थियो।
'उनले मेरो जुत्ता लैजाऊ भनेर दिइन्। मैले लगाएर नापेँ। ठिकै भयो,' उनले सम्झिन्।
त्यही जुत्ता लगाएर उनले प्रदेशस्तरीय खेल जितिन्। राष्ट्रिय प्रतियोगिता जाँदा पनि ऋतिकाले आफ्ना जुत्ता दिइन्। साथी ऋतिकाका जुत्ता लगाएर निशाले नयाँ कीर्तिमान कायम गरिन्। निशाको यो उपलब्धिले यी दुई सखीलाई एकदमै खुसी दिएको छ।
सोमबार निशा र ऋतिकासँगै अरनिको मावि परिवार र स्थानीयले यो खुसी बाँड्दै छन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/bibid/jilla/nisha%20chaudhary%20%281%29.jpg)