खेल पत्रकार तथा लेखक नवीन अर्यालको नयाँ कृति ‘नेपाल–जापान खेल सम्बन्ध आउँदो शुक्रबार (२ असोज) जापानको नागोया शहरमा बिमोचन हुने भएको छ।
नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स्थापना भएको तथ्यलाई लेखक अर्यालले आफ्नो नयाँ पुस्तकमा उजागर गरेका छन् ।
अर्यालको पहिलो खोजमुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’२०८० सालमा बिमोचन भएको थियो ।
जापानमा बिमोचन हुने ‘नेपाल–जापान खेल सम्बन्ध पुस्तक तयार पार्न दुई वर्ष लागेको लेखक अर्यालले बताएका छन्।
‘नेपाल र जापानबीचको खेल सम्बन्ध सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको पहिलो एशियाली खेलकुदबाट सुरु भएको हो । यसपछि कसरी हाम्रो सम्बन्ध स्थापित भयो यही कुरालाई पुस्तकमार्फत उजागर गर्न खोजेको छु,’ लेखक अर्यालले भने ।
नेपालमा जुडो, कराते र सफ्ट टेनिस जस्ता खेल भित्र्याउने कार्यमा जापान सरकार सक्रिय थियो। नेपालको भलिबल, जिम्न्यास्टिक, ब्याडमिन्टन जस्ता खेलहरूलाई पनि अहिलेको अवस्थामा ल्याउन जापान सरकारको ठूलो सहयोग प्राप्त छ।
२०३० सालमा जापानको चर्चित मोटर कम्पनी टोयटाका अध्यक्ष सोइची साइतोको नेपाल आगमन र टोयटा कम्पनीले नेपालको खेल क्षेत्रमा गरेको लगानीलगायत थुप्रै विषयवस्तु समेटिएको पुस्तक हो, ‘नेपाल–जापान खेल सम्बन्ध’।
‘जापानी पर्वतारोहीलाई नेपालको हिमालहरूमा सफल बनाउन नेपाली शेर्पाहरूले गरेको योगदानलाई पनि मैले पुस्तकमा स्थान दिएको छु,’ उनी भन्छन् ।
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगतामा भाग लिएको ७५ वर्ष पूरा भइसकेको छ। यसै उपलक्ष्यमा एशियाली खेलकुदको अयोजना स्थलमा पुगेर पुस्तक बिमोचन हुन लागेको पहिलो अवसर हो ।
पुस्तकको सहयोगले नेपाल र जापानको खेल कूटनीतिलाई भविस्यमा अझैं सशक्तढंगले अगाडि बढाउन सहयोग पुग्नेमा लेखक अर्याल आशावादी छन् ।
लेखक अर्याल विगत २७ वर्षदेखि खेल पत्रकारितामा सक्रिय छन् । उनको यो पुस्तक जापानको आइची–नागोया शहरमा रहेको दियालो रेस्टुरान्टमा साँझ ५ बजे बिमोचन हुँदैछ । जापानले २० औं एशियाली खेलकुदको आयोजना पनि आइची–नागोयामा गर्दैछ ।