Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, माघ ७, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

‘अनवान्टेड’ बेबी!

Nmb
Nmb
यमुना अर्याल (काफ्ले)

यमुना अर्याल (काफ्ले)

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

एक आमाको नलेखिएको कथा :

‘खै किन हो अघिल्लो  रातिदेखि नै आफ्नै जिउ भारी भइरा’छ। न निद्रा लाग्छ, न भोक। मनमा के के कुरा खेले खै कति बेला आँखाका ढकनी यसो जोडिएछन् पत्तै पाइनँ। खुट्टा कट्कटी दुखिरा’छन्।

ओछ्यानमै ऐंठन परेजस्तै भयो जुरूक्क उठें, चकमन्न रात छ, छेउकै खाटमा बुढा मस्त घुरेर सुतेका छन्, दुई छोरीहरू पनि आनन्दले  सुतिरहेका छन्। फेरि मलाई मात्रै किन यस्तो भयो होला त? केही सोच्नै सकिनँ, यसो घडी हेरें  रातको २ बज्नै बाँकी रहेछ।

कोल्टे फर्केर सुत्न खोजें मरिगए आँखा जोडिएनन्। फेरि अर्कोतिर कोल्टे फर्कन खोजें अहँ सक्दै सकिनँ।

आफ्नो ज्यान आफैंलाई किन यति भारी लागिरा’छ , आफ्नै जिउले आफैंलाई थचारिरा’को छ। भाउन्न होला जस्तै भयो, मुख सुकेर प्याकप्याक भइसक्यो। छेउकै खाटमा घुरेर सुतेका बुढालाई उठाउन मन लागेन, छोरीहरू झन् साना छन् आफैं भान्सामा गएर पानी खाने समेत हुती भएन।

खाटबाट उठेर भुइँमा थचक्क बसें, खै किन हो अनयासमै आमालाई सम्झें’।

कठै! मेरी आमा, कसरी पाइन् होला वर्षेनी पाँच छोरी त्यसपछि लगालग दुइ छोरा......, कोही खेतमा, कोही बारीमा, कोही कोदो पिसेपछि , कोही मकै पिसेपछि सबैजना गाउँमै, अस्पतालको मुख देख्नै नपाइकनै जन्मेका।

Laxmi bank
Laxmi bank

आफैंले नाल काटेकी, टपरीमा साल थापेर आफैं खाल्डो खनेर पुरेकी, आफैंले बच्चालाई धोइपखाली गरेकी, धन्न बुढीमाउ तिमी दह्री रहिछौ र अहिलेसम्म बाँचेकी छौ।

खासै ठूलो बिमारी भइछैनौ, लामो लिस्टका ओखती खान परेको छैन। तर....तिम्री छोरीको हालत हेर त आमा? तेस्रो बेतमै थला परी .... आफैंप्रति छि..छि भन्न लाग्यो।

Ncell
Ncell

मलाई यसपाला न आमा बन्ने उत्साहले झक्झकाएको छ, न त यो बच्चा कस्तो होला? उसको नाक र मेरो नाक मिल्ला कि नमिल्ला ? काटीकुटी यो बच्चा त आमा गोता गएछ भन्लान् कि बाउ गोता गएछ भन्लान् आफन्तले ? मेरो निदारमा सानो खत छ बच्चामा पनि त्यस्तै खत देखिएला कि नदेखिएला  ? अनुहार म जस्तै कालोकालो होला कि उसको बाउजस्तो सेतो न सेतो, मूला पखालेजस्तो होला? म जस्तै जिलिगान्टे  होला कि उसको बाउजस्तो  लम्बेतान ? .... जे सुकै होस् , जस्तो होस् मलाई कुनै मतलब छैन।

मलाई आमा बन्नुथ्यो, समाजको सामु फलानी आइमाइ बाँझी छैन भन्ने देखाउनुथ्यो त्यो देखाइसकें।

म आमा बन्ने यो अन्तिम पटक हो, जे होला होला यसपाला पाउँछु , फेरि नि छोरी नै भइछ भने बुढालाई छोरो पाउने कान्छी खोज भन्छु, पटक पटक आफू मरेर छोरा पाउने हिम्मत मरिसक्यो मेरो।

जिउ हलचल गराउन सक्दिनँ, मनमा केके कुरा खेल्छन् घरि भुतुक्कै मरिजान्छु कि जस्तो लाग्छ, फेरि आमा सम्झन्छु सात बच्चा गाउँमै पाउँदा त मेरी आमा मरिनन् म किन मरूला र ? सहरमा बस्छु, उपचार त पाउँला नि भन्ने  पनि लाग्छ।

अनेकन राम्राभन्दा नराम्रा कुरा खेल्दै गए दिमागमा, झ्वाट्ट आफ्नै परिवारजन सम्झें,  आक्कलझुक्कल माइत आएका मेरा आमाजूले अनेक कुरा लाएर सासूको कान बेस्मारी फुक्छन् , बाबा ! कति जानेका हुन उकास्न पनि ? मानौं उनीहरूको माइतीमा भदो जन्मेन भने सम्पत्ति खाने कोही हुन्न रे, माइत केको लागि आउनु ?

‘यसपालि पनि छोरी पाइच भने त मलाई खबर नगर्नू आमा म न्वारान स्वारान खान आउन्न’ भनेर गइछन् माइली आमाजू।

नन्द पनि त्यस्तै छिन् ‘भाग्यमानीको पहिलो पाला छोरो जन्म्यो, फेरि पाउने कष्ट क्यार्न गर्नु परो र अब ? कुल धान्ने, सम्पत्ति खाने , मरेपछि पोल्ने छोरो भइहाल्यो अब म त पाउन्न अर्को’ ..... ओहो सुत्केरी भएर माइत बस्न आएकी नन्दको सानो फुर्ति थेन। मानौं संसारकै सबभन्दा भाग्यमानी आमा उनै हुन जसरी डंका पिट्थिन्।

‘भाउजू,! यसपालि के छ ? हेरेको हो ? अहिले नि छोरी रहिच भने त’.....त्यसपछि नन्दको बोली अड्क्याथ्यो।

‘के गर्ने नानी छोरी रहिच भने ? फाल्ने नि छोरी जाबो क्यार्न पाउनु? अझै धोको पुग्या छैन कि क्याहो ? कस्ती भाउजू रहिछिन् ? पहिल्यै विचार गरेकी भए अर्की छोरी हुन्थिन नि , एउटी छोरी छँदै थि अर्को छोरो हुन्थ्यो नि अझै छोरी पाउन रहर छ र ?’

नन्दको यो बोली किन हो दिमागमा फनन्न घुमिरहे, एकाएक खुइय्या् गर्न मात्रै आयो। पेट नमज्जाले घोचिरहेको छ, एकपछि अर्का बचनका छर्राहरू मुटुमा झ्वाट्ट गर्दै पिटिक्क गरिराछन्।

मेरी सासूले दुई  छोरा लगालग पाएपछि तीन वटी छोरी पाएकी, नन्द , आमाजूले पहिलो पालामै छोरा पाएका आफूमात्रै छोरी पाउनेमा परें। सबैको तारो मै , यस्तै भएर होला मलाई यो पाला आमा बन्ने कुनै उत्साह छैन।

ठूली छोरी दश वर्षकी, कान्छी छ वर्षकी भइसके, अब त बच्चा हुर्के , बच्चाको दिसापिसाबबाट छुटकारा मिल्यो, अब अलि सुविस्ता होला भन्दा फेरि अर्को बेथा आइलाग्यो।

‘दुई पटक सुत्केरी भइसकें, तीन पटक क्युरेट गरिसकें, जिउ घरगंघाट भइसक्यो, बाहिर हेर्दा भ्यात्त मोटी भएर क्यार्नु ? भित्र धमिराले गोलो लाएजस्तो भइसक्यो जिउ । तीन महिनासम्म वाक्कबिक्क गर्दै पेट बोक्यो, डाक्टरकहाँ भिडिओ एक्सरे गर्न पुग्यो , पहिलो बच्चा के छ ? कति वटा बच्चा छन्? तपाईलाई चाहिएको के हो’ ? भनेर सोध्छ।

म त पेट बोकेर डाक्टरले भनेको ठाउँमा लमतन्न परेर सुतिरहने मुडो न हुँ, मेरो मनको फैसला गर्ने न्यायाधीश त क्याबिनमा बसेका हुन्छन्, उनीहरू जवाफ दिन्छन्, डाक्टर साब दुइटी छोरी छन् छोरो भए राख्ने छोरी पाए फाल्ने हो कति पैसा लाग्छ तुँ गरिहाल्नुस.....पेटमा चिसो क्रिमजस्तो लेप लगाउँदै डाक्टरले भिडिओ एक्सरेको मेसिनमा देखाउँछ र भन्छ ‘छोरी छ’।

म ट्वाँ पर्चु... हे भगवान फेरि पनि उही ... सन्नाटा छाउँछ आफ्नै मुटुभित्र।

बाहिर प्रतीक्षामा बसेका आफन्तले मलाई सराप्छन्, ‘कति छोरीमात्रै बस्ने पेट रहेच, छोरा त यलाई लेखेको छैन कि क्याहो ? क्युरेट गर्नपर्नि भो फेरि’।

अर्को दिन क्युरेट गर्न पुग्छु, मन भाउन्न हुन्च, कति मठमन्दिर धाएँ, कति व्रत गरे, कति पूजापाठ गरें तर किन मैलाई छोरा हुन्नन्?

ठूली छोरीको पिपलसँग बिहे गर्दा छोरा हुन्च भने जोतिषीले त्यो पनि गरें, के मात्रै गरिनँ? एउटा छोरा भइदे त भर्खर टुसाउँदै गरेका छोरी मार्न पर्थेन मैले। कति अपराधी म , कति अभागी मेरो खप्पर ? कति अभागी मेरो कोख ? कति नालायक आमा म ? कस्ती पापिनी आमा म ? मेरी आमाले मलाई किन गर्भमै तुहाइनन्? मलाई नि आमाले नपाएर मार्देको भा आज यो दिन देख्न पर्थेन। बिचरा मेरो गर्भमा हुर्कन लागेको छोरीको के दोष थ्यो र ? संसारमा नआउँदै तीनटी छोरी मारिए। मैले चाहेर हुने भए त पहिलो छोरी जन्मदा नै पुगेको थ्यो। पहिलो छोरी जन्मदा घरमा लक्ष्मीको बास भयो भनेर सबै खुसी भका थे, ठूली छोरीलाई अहिले नि सबै जना निकै माया गर्चन्।

छोरी हुर्कंदै गई, उसलाई आफन्तले सोध्न थाले ‘नानी ! तिहारमा टीका कलाई लाउछ्यौ ? एउटा भाइ चाहिन्न तिमलाई ? आमालाई भाइ पाउन भन न ...तिमलाई साथी खै त ? हेर त सन्जु आन्टीको भाइ कति राम्रो छ ? पुकु दिदीसँग कति रमाको छ ? तिमलाइ त्यो मन पर्दैन’?

कुनै दिन  यस्ता प्रश्न  नसोध्ने छोरी सधैं मलाई प्रश्न तेर्साउन थाली, ‘आमा मलाई भाइ चाहियो, मैले तिहारमा कल्लाइ टिका लगाउने ? हेर्नु त सन्जु आन्टीको घरमा कति राम्रो भाइ छ, पुकु दिदीको भाइ छ मेरो किन छैन ?’ म नाजवाफ हुन्थे छोरीसँग।

‘किन कस्ले भन्यो छोरी ! तिम्लाई ?’ एकदिन जिज्ञासा राखें, ‘आमा र फुपू दिदीले भन्न लगाको’ भनी उसले।

‘आमा ! तपाई घरमा नभाको बेलामा आमा र दिदीहरूले तपाईलाई गाली गर्छन् मैले सुन्न थालें भने अर्को कोठामा जा भनेर पठाउँछन्’ छोरीले  सुनाई ।

‘साँच्चि आमा तपाईंलाई छोरा नपाउने भनेकी हो ठूली दिदीले, तपाईंले किन छोरा नपाको ?’ अवोध छोरीका यस्ता प्रश्नको उत्तर मैले कसरी दिने? केके भनेर थामथुम पारें, यी सबै कुरा दिमागमा किन एकैचोटि यही अँध्यारोमा सल्बलाए ? म केही सोच्न सक्दिनँ।

हरे भगवान! यो रात कति लामो भा को ? कहिल्यै उज्यालो हुन्न ... । आफ्नो ज्यान आफैंलाई यति बोझ हुन थाल्यो कि ....थुक्क फेरि पनि त्यही छोरी ... भन्लान् आफन्तले।

अस्पतालमा नर्सले ल बच्चा उचाल्न आउनुस् भन्दा कोही नजालान्, सुत्केरीलाई तात्तातो खानेकुरा खुवानुस् भन्दा मुन्टो बर्टालान्।

मलाई कति सराप्लान्, मैले घरमा कसरी मुख देखाउने ?

यसो घडी हेरें साढे चार  बज्दै रहेछ, सानी छोरी बिउँझी, ‘आमा सुसु आयो’ ...... आफैं थला परिरैछु उसलाई बत्ती बालेर पाइखाना कसरी पुर्‍याऊँ ?

‘एकछिन पख नानी ! बत्ती बाल्छु’ भनें तर आफैं उठ्न सकिनँ , बसेको ठाउँ पानीको पोखरी जस्तै भएछ , थला परें , छोरी फेरि कराई ‘आमा छिटो बाल्नु न बत्ती, सुसु नानामै आयो’.....

अहँ म उठ्न सकिनँ , छेउको खाटमा मस्त सुतेका बुढाले बुढी आधा रातमा उठेको, कष्टले खुइय्या गरेको केही भेउ पाएनन्।

पहिलो छोरीको पालामा यतिधेरै ख्याल गर्ने बुढा अहिले पूरै फेरिएका छन्। पहिले डेट नजिक आउन थालेसी सामानको बन्दोबस्त गर्ने, पैसाको जोहो गर्न आफैं तम्सिन्थे तर यसपाला... केही मतलब छैन।

जिउ दुख्न थालेको एकसाता भइसक्यो , ऐयाऐया गर्दै घरधन्दा गरिराछु, एक वचन आज सन्चो छैन कि के छ भनेर सोध्दैनन्।

एक मनले सोच्छु, अब म मरेनी बुढालाई कुनै दरकार (चिन्ता) छैन, छोरीछोरी पाउने आइमाइ मरे नि हुन्छ भन्दा हुन् मनमनै। अर्की छोरैछोरा बुढी ल्याउन बाटो खुल्दो हो , के को पिर मान्दा हुन् र ? म उठ्नै नसकेपछि बुढा चर्को स्वरमा कराए, ‘ए शर्मिला !? के हो कान सुन्दिन कि क्याहो ? छोरीले सु आयो भन्दैछे अघिदेखि , उठेर बत्ती बाल्नु पर्दैन ? सँगै सुतेर पनि छोरीको भेउ नपाउने कस्तो निद्रा हो’ ???.....

मलाइ बलिन्द्र आँसु मात्रै आयो, एक बचन बोली फिटिक्कै आएन बुढा भने एकोहोरो कराइरहे।  ठूली छोरीले पनि हल्लाको सुइँको पाइछ क्यार, ऊ उठेर बत्ती बाली, मलाई भुइँमा देखेसी गाली गरी, ‘आमा के भयो ? तपाई किन रोको ? आमा प्लिज बोल्नु न किन नबोलेको ? आमा के भयो ?’

छोरीले आधा दर्जन प्रश्न गरी उसका बाउ अर्कातिर कोल्टे फर्केर सुते अहँ मतिर फर्केर हेरेनन्, के भयो एक वचन सोधेनन्।

केही भा छैन छोरी अलि सन्चो भएन बस् यति भनें, दुइटी छोरी दुइटा कोखमा बसेर मसँगै रून थाले, ‘आमा ! के भयो?’

उनीहरूलाई के भयो भनूँ ? जसले के भयो भन्ला भन्ने आशले उसकै खाटमुनि आँसु बगाएको  तीन घण्टा भइसक्यो केही भन्देन, बिचरा छोरीलाई के भन्नू ?

सानी छोरी कराई , ‘बाबा ! उठ्नु न आमालाई सन्चो भएन, आमा रुनु भा छ बाबा प्लिज’....

छोरीको कुरामा पनि बाउ वेवास्ती बने, ‘चुप लाग सानी तेरी आमाको नाटक हो.....केही भा छैन’... ।

ठूली छोरीले भान्सामा गएर तातो पानी ल्याई, दौडेर गएर हजुर आमालाई उठाइछ, सासू आँखा मिच्दै म भा ठाउँमा आइन्।

‘ओए  के भो ? बेला भयो र?’

आफूलाई रातिदेखि गाह्रो भएको बताएँ।

पहिलो छोरीको पाला  चसक्क पेट घोच्दा नि ट्याक्सी खोज्ने श्रीमान अहिले कुनै मतलब गर्दैनन्, घरका आफन्त उस्तै छन्।

सासू, नन्द , आमाजूले जति खोइरो खनेनी ससूरा बा भने अरूभन्दा अलि मनकारी छन्, बा पनि म भकै ठाउँमा आए।

‘के भो नानी ?’ बा को यो बोली यति प्रिय लाग्यो कि आफ्नै बाउले खुट्टामा ठेस लाग्दा चुकचुक गर्दै बोलाए झै लाग्यो, ‘अलि गाह्रो भयो बा’ यो भन्दा वाक्य फुटेन।

‘यतिन्जेल के हेरेर बस्या’छौ? अस्पताल लान पर्दैन ? ओए ! छोरा तलाई अलिकति लाज लाग्दैन? हेर त बुहारीको हालत ? एउटै कोठा सुतेर पनि भेउ पाइनस्? कतिबेलादेखि ऊ रोइरा’की छ, अघि नै हाम्लाई उठाउन पर्दैन’ ? बल्ल बा कराएसी छोराको निद्रा खुल्यो।

लामो हाइ काट्दै जिउ तन्काएर आँखा मिचे, उनलाई नि लाग्यो होला जति स्याहार गरेनी छोरी नै पाउने हो। आखिर...के को लागि मरिहत्ते गर्नु र?

अस्पतालको कार्ड दराजमा थियो ससुरा बाले निकाले, आफैं ट्याक्सी खोज्न गए, सासूलाई भने केही तातो लाएन।

बुढा पनि अस्पताल जान जाँगर देखाएनन्, ठूली छोरीले मेरी बहिनीलाई फोन गरिछ, बहिनीनजिकै बस्थी एक झोला थाङ्नाथुङ्नी पोको पारेर आत्तिँदै आइपुगी।

बहिनी, ससुरा बा र म भएर अस्पताल गयौं।

ट्याक्सीको ढोकामा आएर दुबै छोरी रोए, ‘आमा तपाईं काँ जान ला’को? तपाईलाई के भयो र आमा ?’

म केही बोल्नै सकिनँ, मेरी बहिनीले सम्झाई।

यसपालि आमाछोरा अस्पताल आएनन्, अनुहारको रंग उडेकी म, हतास बहिनी र चिन्तित ससुरा बा सिधै अस्पतालको इमरजेन्सीमा पुग्यौं, अस्पतालमा के भको भनेर सोधियो, मैले बताएपछि नर्स कराइन्।

ल ल भर्ना गरिहाल्नुपर्छ, रुम नं. ३१ मा लैजानुस्।

ससुरा बा बाहिरै बसे, नर्सले बहिनीलाई यतै उभिनुस् भनिन् र  मलाई एक्लै लेबर रूममा लगिन्।

म जस्तै आमा बन्न आएकाहरू दर्जन बढी थे होला त्यहाँ, सबैजना रोइ-कराइ गर्दैथे। ऐयाऐया...दुख्यो.... सिस्टर बरु मलाई अपरेसन गर्दिनुस् म सहन सक्दिनँ ....

त्यही बीचको बेडमा मलाई सुत्न लगाइयो अस्पतालकै गाऊन लगाएर। मुखमा मास्क लाएकी डाक्टर महिला आइन् चेक गर्नको लागि।

उनले चेक गरेपछि तुरुन्तै सिस्टरलाई बोलाइन्, चार घर खुलिसकेछ सिस्टर तुरून्तभित्र लानुस्.... हतारहतार ह्विल चेयर मगाइयो र मलाई बस्न लगाइयो।

दुखाइको पीडाले सबै सीमा नाघिसक्यो तै पनि पीडा बाहिर देखाकी छैन। श्रीमान र सासूको त्यही अँध्यारो मुख सम्झिरहें।

बच्चा जन्माउने कोठामा लगेर बेडमा सुत्न भनिन् डाक्टरले।

‘ल बहिनी यहाँ रातभर बेथा ला’का तपाईंजस्तै महिला छन्, एकैछिन बल गर्नुस् अब धेरै बेर लाग्दैन।

ती डाक्टरले आफ्नै आमाले जसरी सम्झाउँदा मेरा आँसु थामिएन।

‘किन रोएको बैनी ? रोयो भने तागत हुन्न नि ...’ एक जना सिस्टर छेउमै बसेकी छिन्, डाक्टरले ढाडस दिएकी छन्, एकैछिनमा ‘तपाईंको श्रीमान कहाँ हुनुहुन्छ बैनी’ बोलाउन पर्‍यो भनिन्।

मेरो बोली रोकियो, त्यही अँध्यारो अनुहार सम्झें, ‘मेरो बहिनी र ससुरा बा आका छन्। श्रीमान आका छैनन् डाक्टरसाप’ भनें।

डाक्टर र सिस्टर अवाक बने, ‘तपाईंका श्रीमान यहाँ छैनन र बैनी ? यस्तो बेलामा नि अस्पताल नआउनी कस्ता लोग्ने ?

अफिसको कामले बाहिर गएको बताएँ, बल्ल ए.. ए.. भने उनीहरूले। सिस्टरले मेरी बहिनीलाई बोलाइन् र हाम्ले बोलाउनेबित्तिकै आउन भनिन्।

‘ल ल बैनी... ल बैनी...’ भएभरको बल लगाएँ। अब तागत सकिएजस्तै लागो, एकैछिनमा जिउ हल्का भयो, खलखली पसिना आयो, भयो बैनी भयो नर्स कराइन्... एक्कासि लामो सास मात्रै आयो, अब मर्दिनँ जस्तो लाग्यो, एकाएक भाउन्न भयो, जिउ गल्यो ।

‘ल ल बेबीको तोल कति छ ? ए ! एकुरेट टाइम कति छ, घडी हेर्नू’ , सिस्टर हतार गर्न थालिन्।

उता च्याँच्याँ.... निकै ठूलो स्वरमा बच्चा रोएको आवाज दुइटै कानमा ठोक्कियो।

सिस्टरले बहिनीलाई बोलाइन् र बच्चाको लुगा मागिन्।

बहिनी खुसी भई, ससुरा बालाइ सुनाइ बच्चा भइसकेछ बा।

एकैछिनपछि बच्चा हेर्न आउनु भनेर बोलाए, मलाई अर्को बेडमा सारे। मलाई खै किन त्यो बच्चाको मुख पनि हेर्न मन लागेन, कस्तो होला ? कति केजीको होला केही सोध्ने आँटै भएन।

न डाक्टरले भनेको आइरन, क्यालसियम खाएँ, न टिटीको खोप लाएँ, न भिडियो एक्सरे गर्दा यसपालि के छ भनेर सोधें, मन मरिसक्यो आइरन क्यालसियम खाको हो भन्थे डाक्टरले हो भन्थें बस् यति मात्र हो तर एक चक्की नि खाइनँ।

‘पहिलो बच्चा के छ बैनी’ ? छेउमै आएर सिस्टरले सोधिन, ‘पहिलो हैन दिदी मेरा त दुइटी छोरी छन भनें’।

‘ए तपाईंको मेरो उस्तै रै’छ बैनी’, यो भन्दा नर्स बोलिनन्।

मैले ठानें,  नर्सका पनि तीनटी छोरीछोरी हुन्छन् कि क्या हो ? यिनीहरूलाई त थाहा हुनुपर्ने हो नि भन्ने पनि लागो।

ससुरा बालाई बच्चा बोक्न दिइन् नर्सले, ‘ल बा! तपाईंको नाति भा’को छ, हेर्नुस साढे तीन किलो छ, अब सुत्केरीलाई तात्तातो झोलकुरा खुवाउँदा हुन्छ’।

म मरे बाँचेको केही मतलब नहुने जसरी घरमा बसेका आमा छोराले फेरि छोरी पाउने हो किन जान परो अस्पताल भन्दै मन मारेका होलान्।

नर्सले नातिभन्दा ओ हो छोरो जन्मेछ कि क्या हो भन्ने नि लाग्यो फेरि सोध्न मन लागेन।

ससुराबाले नातिको मुख हेरेर पाँच सय दिए, बहिनीलाई मेरो लागि तात्तातो खानेकुरा ल्याउनको लागि एक हजार पैसा देर पठाए।

घरमा फोन गरेर सुनाए।

ल अब बच्चालाई दूध चुसाउनुस् त, सिस्टरले बच्चा काखमा राख्दिइन्। मलाइ छोरो हो कि होइन अझै दोधारथ्यो, बच्चालाई बेरेको कपडा यसो उक्काएरै हेरें छोरै रहेच। धन्न भगवान मलाई बचायौ मनमनै भगवान पुकारें।

बच्चा रोइराथ्यो, हेरिरहें, दुध चुसाउन नि मन लाएन, अहिले जन्मनु रै च त पहिले नै जन्मेको भए तेरा तीन तीनटी दिदीले मेरो कोखलाई चिहान बनाउन पर्थेन नि!

तेरो प्रतीक्षामा मैले के के मात्रै भोगिनँ ? के मात्रै सहिनँ ? आँसु बगाउँदै बच्चालाई दूध चुसाएँ।

मज्जाले चुस्यो, दूध चुस्दाचुस्दै भुसुक्क निदायो, मेरो आँखाका डिल भरिएकै थे, बहिनीले खानेकुरा ल्याइ।

अघिल्लो दिनदेखिको भोको, गलेको जिउ, एकभाँडो खानेकुरा सिनिक्क पारेर खाएँ।

छोरी पाई भने न्वारानमा नबोलाउनू आमा भनेकी आमाजू सबभन्दा पहिले भेट्न आइन्, ‘कति बेलादेखि बेथा लाको ? राति भन्न पर्थेन ? खै मेरो भाइ कहाँ छ?’ छेउमै सुतेको उनको भाइ काखमा लिइन्, एक हजार दिइन् मुख हेरेर। प्लाष्टिकमा बच्चाका लुगा, मेरो लागि खानेकुरा टन्नै लेर आकी रै’छिन्, प्रफुल्ल मुद्रामा एकपछि अर्को निकाल्दै दिँदै गरिन्।

‘ल लुगा फेर अर्को लगाऊ’ उनैले फेरिदिइन्। बच्चाको नि लुगा फेरिदिइन्। कति खुसी ? बाबा हो, मन अरमठ्ठ भइरह्यो।

फेरि अर्की आमाजू र नन्द हस्याङफस्याङ गर्दै आइपुगे।

उनीहरू पनि उही पारामा।

सबै जना कति खुसी ..., आधा घण्टापछि सासू, बुढा र दुई छोरी आए हुल बाँधेर।

राती हकारेका बुढा अहिले फतक्कै गलेछन्, ‘शर्मिला तिम्लाई कस्तो छ अहिले? अफिसको हाकिमले आजै मिटिङमा बोलाथ्यो। आउनै ढिलो भयो सरी है’ ... नौटकी सहितको बनावटी जवाफ टक्राए।

अस्पतालमा लड्डु बाँडे, मानौं ठूलै उत्सव भए जसरी।

 सासू र नन्द आमाजूले बुढालाई अबिरजात्रै गरे।

म मौन बसें, एकैछिनमा सिस्टर आइन्, बच्चालाई इन्फेक्सन हुन्छ धेरै जना भीड नगर्नुस्, नन्द आमाजू बाहिर गए अरु त्यही बसे।

छोरीहरू अँध्यारो मुख लाएर छेउमै बसे, ‘आमा अब हाम्रो भाइ भयो हो’ ? सानीले सोधी, मेरो आँशु खस्यो बोली खसेन, टाउको हल्याएँ मात्रै। उनीहरूकै हजुर आमाले जवाफ दिइन्, ‘हो नानी तिम्रो भाइ हेर त कति राम्रो छ, तिमीहरूले तिहारमा यल्लाइ टीका लाइदिन्छौ, पुकु दिदीको जस्तै तिमेरको नि भाइ भयो’।

यति धेरै स्याहार गरे आफन्तले, अझ बुढाको के कुरा गर्नु ? चर्पी जाँदा नि हात समाएर ल्याउने लैजाने गरे।

अर्कोदिन अस्पतालले डिस्चार्ज गर्‍यो, घरमा तेल लगाउने मान्छे रेडी अवस्थामा, भित्र पस्नासाथ घरै अर्कै जस्तो लाग्यो।

बच्चा र आमाको स्याहारसुसारमा कुनै कमी भएन, बच्चाको मुख हेर्न आउने आफन्त नि कति धेरै हुन्, कति भाग्यमानी भन्या छन्, कुरा गरेका छन्, न्वारानसम्म मुख हेरेको पैसा मात्रै बीस हजारभन्दा बढी जम्मा भयो होला।

लुगामात्रै तीन वर्षलाई पुग्ने, दिनमा पाँचपटक मलाई खाना खुवाइराका छन्। तर यो चाकडी मेरो लागि कहाँ हो र ? सबै उनीहरूको नातिको लागि हो।

मेरो लागि हुन्थ्यो भने सानी छोरीको पाला नि हुन्थ्यो, त्यो बिर्सेकी कहाँ छु र ? न्वारान गरेदेखि भात पकाउन लाका थे, अहिले यो चुरीफुरी.....।

न्वारान नि चानचुने भएन, टोलका कुनै घर बाँकी भएनन् निम्ता पाउन, खर्च मनलागे जसरी गरे।

मानौं संसारमा सबभन्दा भाग्यमानी कै छ भने त्यो मैले पाएको छोरो हो र उसकी आमामात्रै हुँ।

सानी छोरीको पालामा ज्वानाको झोल पनि पेटभरि खान नपाएकी म अहिले छोरो पाएसी भने कुनै दरबारकी बुहारीभन्दा कम मेजमानमा परेकी छैन।

मन मारेर पाएको छोराले घर, आफन्तको मन उज्यालो भा’छ, धन्न यसपालि छोरो पाइ सरूले भन्या छन्, मेरै चर्चा छ तर मनभित्रको पीडाका ज्वारभाटा कस्लाइ था छ र ?

अब ढुक्क छु मेरो मनले नचाहेको भए नि परिवारको वंश धान्ने छोरा जन्माएँ, अब मेरा छोरीले तिहारमा टीका लाउने भाइ पाए, मैले नचाहेर के भो र? परिवारको खुसीको लागि आफू पटक-पटक मरेर, कोखमा अंकुराउन थालेका टुसाहरू छोरी भएकैले मारिए, यो पापको मोचन कहाँ गएर गरूँ ?

छोरो पाएकोमा दुनियाँको सामु भाग्यमानी कहलिएकी म छोरीको भ्रुण हत्याको अपराधी हुँ, पापी हुँ, स्वार्थी हुँ, तर जे भए नि म छोरो पाउने भाग्यमानी हुँ।

मेरो मनले नचाहेर के भो र ? पटक पटक कोख चिहान बनाएर भएनि घर भरिलो पारिदिएँ, अब छोराको पास्नी धुमधामसँग गर्ने तरखर छ घरमा। ‘बुढेसकालको नाति हो, यसको बिहे खान पाइन्न मरिहालिन्च , पास्नी त धुमधाम गर्नुपर्छ’... सासूको गाइँगुइँ सुन्छु ... ल ल जे जे गर्छौ गर। आफूले मनले नचाहेको बच्चाप्रति आफन्तको फूर्ति देख्दा केही सोच्नै सक्दिनँ।

धन्न भगवान मेरी आमालाई जस्तै पाँच वटी छोरीपछि छोरा पाउन परेन, बाँचेका भा त मेरा नि पाँच वटी छोरी हुन्थे, तीन वटी छोरी मेरै कोखलाई चिहान बनाएर अस्ताए।

कतिपटक आफन्तले छेड हान्थे सरू त आमागोता गई ,उसकै आमाले पाँच वटी छोरीछोरी पाएकी, छोरीले के छोरा पाउँथी? अब चिन्ता नगर आमा छोरीछोरी पाएकी मेरी आमा तिम्री छोरीले नि छोरो पाएर देखाइदिई  ...।

अब मलाई तिम्रो नामसँग जोडेर छोरी पाउनेकी सन्तान भन्दैनन्।

मेरो ज्यान अब चिहान बन्दैन, जतिबन्नुथ्यो बनिसको आमा।

रहरले पाका दुई छोरी भन्दा कहरले  पाको छोराले बढी माया पाइरा’छ। उसकै कारण परिवारको नाक उचो भा’को छ।

वंश धान्ने, आफन्त मर्दा सदगद गर्ने कूलको रक्षा गर्ने छोरो जन्मेको छ आमा।

मेरो जिउ दुम्सी लुक्ने ओडार भए नि घोर्ले छोरो जन्मेको छ, आफू मरेर भएनि अरूलाई छोरो पाएर खुसी पार्दिनु पर्ने कस्तो नियममा मलाई जन्मायौ आमा?

अर्को जुनिमा म छोरी हुन चाहन्नँ, आफ्नो कोखलाई चिहान बनाउन चाहन्न।

मेरो नजरमा सन्तान हुन्छ, त्यसमा लिंग हुँदैन, आफूले जन्माएका सन्तान बराबरी लाग्छन् तर इच्छाविपरीत अरूको लागि आफ्नो मन मारेर जन्माइदेका सन्तानलाई नि बराबरी माया गर्छु आमा।

अब तिम्री छोरी छोराकी आमा भइसकी...

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १८:१५
सिफारिस
कांग्रेस सभापति गगन थापालाई प्रश्न– तपाईं काठमाडौं छाडेर सर्लाही किन जानुभयो?
कांग्रेस सभापति गगन थापालाई प्रश्न– तपाईं काठमाडौं छाडेर सर्लाही किन जानुभयो?
१६५ मध्ये नेकपाले ‍दर्ता गर्‍यो १६४ क्षेत्रमा उम्मेदवारी (सूची)
१६५ मध्ये नेकपाले ‍दर्ता गर्‍यो १६४ क्षेत्रमा उम्मेदवारी (सूची)
अमेरिकामा भइन् फर्मुलेसन साइन्टिस्ट, भन्छिन्– तलब र सुविधा राम्रो भएकाले सहज छ
अमेरिकामा भइन् फर्मुलेसन साइन्टिस्ट, भन्छिन्– तलब र सुविधा राम्रो भएकाले सहज छ
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने तयारी
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने तयारी
निर्वाचन प्रहरीमा भर्ना गर्न यसरी हुँदैछ शारीरिक परीक्षण (तस्बिरहरू)
निर्वाचन प्रहरीमा भर्ना गर्न यसरी हुँदैछ शारीरिक परीक्षण (तस्बिरहरू)
बढ्यो कामना विकास बैंकको नाफा, सेयर बजारमा के होला?
बढ्यो कामना विकास बैंकको नाफा, सेयर बजारमा के होला?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

दोषको उत्तराधिकार!
भिरमा झुन्डिएको सत्य!
तिम्रो सम्झनामा!
चिया पिउन भेटौँ न यार!
चिया कपसँगे भविष्यका गफ!
मैले तिमीलाई जोगाउन सकिनँ!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

रमेश अधिकारी
अमेरिका, स्विट्जरल्यान्डलाई नचाहिएको आचार संहिता नेपाललाई किन? रमेश अधिकारी
नारायण वाग्ले
प्रधानमन्त्रीको उम्मेदवार तोकौं भन्दा महामन्त्रीहरूलाई निस्कासन गर्ने पार्टी! नारायण वाग्ले
चेतनाथ आचार्य
के अमेरिका चीनलाई विश्व नेता बनाउँदैछ? चेतनाथ आचार्य
डा. निर्मल कँडेल
नेपालमा हामी बहस गर्दैनौं, अपमान गर्छौं! डा. निर्मल कँडेल
garima bikash bank
garima bikash bank

ब्लग

प्रतिमा विक
'रिलेसनशिप'मा बसेपछि साथी पनि बदलिने रहेछन्! प्रतिमा विक
National life inner
National life inner
पवन पाण्डे
मष्टा सामु उभिँदा: कर्म र आस्थाको संवाद! पवन पाण्डे
विदुर दाहाल
मान्छे नगई सरकारले भत्ता दिँदैन, घिस्रेर जान्छु, घरैमा ल्याएर दे भन्दिनू न सरकारलाई! विदुर दाहाल
सुधन सुवेदी
हिउँ र घामको दोसाँधमा मोहम्मद, बाँसको चम्चा र खुसी! सुधन सुवेदी

साहित्यपाटी

मन्दिरा दाहाल
दोषको उत्तराधिकार! मन्दिरा दाहाल
Hardik
Hardik
हरिभक्त कटुवाल
भिरमा झुन्डिएको सत्य! हरिभक्त कटुवाल
side bar 17- shivam inner
side bar 17- shivam inner
त्रिलोचन सुवेदी
तिम्रो सम्झनामा! त्रिलोचन सुवेदी
दिपेन्द्र बिसी दिपु
चिया पिउन भेटौँ न यार! दिपेन्द्र बिसी दिपु

केटाकेटीका कुरा

यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP