नेपाली कांग्रेसका सभापति गगन थापाले यसपालि आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। उनले आफ्नो राजनीतिक आधार क्षेत्रका रूपमा विकास गरेको काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्।
त्यहाँ उनको सामना २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका अमरेशकुमार सिंहसँग हुनेछ, जसले यसपालि रास्वपा प्रवेश गरेर त्यही क्षेत्रमा उम्मेदवारी दिएका छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि गगनले सर्लाहीबाट उम्मेदवारी दिने चर्चा चलेको थियो। तर आखिरमा उनी काठमाडौंमै अडिए।
यसपालि भने उनी काठमाडौं–४ को आफ्नो पकड क्षेत्र युवा उम्मेदवार सचिन तिमल्सेनालाई छाडेर सर्लाही–४ पुगेका छन्।
जेनजी आन्दोलनपछिको तरल राजनीतिक अवस्थामा गगनले एक्कासि आफ्नो निर्वाचन क्षेत्र बदल्नुलाई कतिपयले चुनौतीका रूपमा लिएका छन् भने कतिपयले काठमाडौं असुरक्षित भएपछि सुरक्षित क्षेत्र खोज्दै मधेस झरेको टिप्पणी पनि गरेका छन्।
यसै सन्दर्भमा हामीले कांग्रेस सभापति गगन थापासँग निर्वाचन क्षेत्र परिवर्तन गर्नुका कारण लगायत कांग्रेसको उम्मेदवारीसँग जोडिएका विभिन्न विषयमा कुराकानी गरेका छौं।
तपाईं काठमाडौं–४ छाडेर किन सर्लाही–४ झर्नुभयो? कारण के हो?
नेपालका निर्वाचन क्षेत्रहरू खासै धेरै ठूला छैनन्। स–साना निर्वाचन क्षेत्र छन्। एकै व्यक्ति एकै निर्वाचन क्षेत्रमा सात–आठ पटकसम्म उठ्छ। कि जित्छ, कि हार्छ। ऊ त्यही निर्वाचन क्षेत्रमा पकड जमाएर बस्छ। सानो निर्वाचन क्षेत्रभित्र आफूले सक्ने ताकत, बल, हैसियत सबै प्रयोग गरेर त्यो क्षेत्रलाई आफ्नो प्रभावमा राखिराख्छ। यो आफैमा हाम्रोजस्तो संसदीय राजनीतिका लागि कत्तिको ठिक हो भन्ने एउटा बहसको विषय छ।
यो बहसमा दुई खाले धारणा छन्। उपसभापति विश्वप्रकाश शर्माको धारणामा तीन पटकभन्दा बढी लगातार चुनाव लड्न हुन्न भन्ने छ। त्यही भएर उहाँले यसपटक ब्रेक लिनुभयो।
म चाहिँ लामो समयदेखि के कुराको वकालत गर्दै आएको हो भने, राष्ट्रिय नेता हुँ भनेर जसको आफ्नो बुझाइ छ, उसले आफूलाई परीक्षण गर्न नयाँ नयाँ निर्वाचन क्षेत्रमा जानुपर्छ। म काठमाडौं–४ बाट लगातार दुई पटक निर्वाचित भएपछि अघिल्लो पटक पनि काठमाडौंभन्दा बाहिरको क्षेत्र जाने मन बनाएको थिएँ। त्यो बेला कास्की, सर्लाही लगायत ठाउँबाट सिफारिस वा माग भएर आएको अवस्था थियो।
अघिल्लो चुनावमै म करिब करिब सर्लाही गइसकेको थिएँ। तर सर्लाही जाँदै गर्दा काठमाडौंमा आफ्नो निर्वाचन क्षेत्रमा न्याय होस् भन्ने चाहन्थेँ।
तपाईंलाई स्मरण छ भने, अघिल्लो चुनाव बेला मैले काठमाडौंको मेरो क्षेत्रमा एक जना व्यक्ति, जो अहिले फरक दलमा हुनुहुन्छ — स्वर्णिम वाग्ले —उहाँलाई मैले उम्मेदवारका रूपमा ल्याउने प्रयास गरेको थिएँ। अन्तिम समयमा त्यो प्रयास सफल नभएपछि म आफ्नै क्षेत्रमा अडिएँ।
त्यो बेला अर्को कारण पनि थियो।
मैले काठमाडौं–४ छाडेर जाने भनेपछि मेरो क्षेत्रका साथीहरूको ठूलो असन्तुष्टि र गुनासो रह्यो। मैले त्यसलाई पनि सम्बोधन गर्नुपर्ने थियो।
अनि यसैपालि कसरी निर्णयमा पुग्नुभयो?
खासमा भन्दा यसपालि पनि म दुबिधामै थिएँ। २०८४ मा चुनाव हुने भन्ने थियो, त्यसअघि आफ्नो क्षेत्रमा गएर यो कुरा भन्नुपर्छ भन्नेमा म थिएँ। किनभने, एउटै निर्वाचन क्षेत्रमा लगातार चौथो पटक उठ्ने कुरा, सानो निर्वाचन क्षेत्रमा एकै नेता चार–पाँच पटकसम्म उठ्ने कुरा बदल्नुपर्छ भन्ने मान्यता म राख्छु। तर यसपालि झट्ट निर्वाचन आयो। सोच्दै नसोचेको समयमा निर्वाचनमा जानुपर्ने भयो। यो निर्वाचनमा उठ्ने कि नउठ्ने होला भन्ने म अलमलमा थिएँ।
त्यसैबीच सर्लाहीबाट पनि मलाई एकल रूपमा सिफारिस भयो। साथीहरूले अघिल्लो पटकजस्तो आउँछु भनेर नआउन पाइँदैन भन्नुभएको थियो। मैले काठमाडौं–४ मा साथीहरूसँग पनि कुरा गरेको थिएँ। यो क्षेत्र छाडेर अन्यत्र जान हुन्न भनेर आज बिहानसम्म पनि साथीहरूले भन्दै हुनुहुन्थ्यो। जुन खालको भावना अभिव्यक्त गर्नुभयो, त्यसका लागि उहाँहरूप्रति अत्यन्त ठूलो सम्मान पनि छ।
म नेपाली कांग्रेसको देशभरको पार्टी सभापति हुँ। देशभरका सबै निर्वाचन क्षेत्र मेरो निर्वाचन क्षेत्र हो। त्यसैले मेरो घर, मेरो थलो र ठाउँ यही नै हो नि। मेरो निर्वाचन क्षेत्र काठमाडौं–४ मात्र हुनु हुन्न। कहिले कहाँ, कहिले कहाँ हुनुपर्छ। चुनाव भनेको आफूले आफैलाई परीक्षण गर्ने पनि हो।
यसपालि काठमाडौं–४ छाडेर जाँदा यहाँका साथीहरूले गुनासो गर्नुभएन त?
मलाई साथीहरूले काठमाडौं–४ सुरक्षित ठाउँ हो भनेर लगातार भनिरहनुभएको थियो। मैले जानेको, चिनेको, बुझेको ठाउँ पनि हो भन्ने कुरा थियो। तर मैले नयाँ परीक्षण पनि गर्न दिनुस् भनेर साथीहरूलाई सम्झाएँ।
म राष्ट्रिय नेता हुँ, कांग्रेसको सभापति हुँ। त्यसैले मैले आफूलाई अन्यत्र गएर पनि परीक्षण गर्नुपर्छ भनेर साथीहरूलाई बुझाएँ।
नयाँ निर्वाचन क्षेत्र जानु भनेको एक प्रकारको चुनौती पनि हो। मैले त्यो चुनौती स्वीकार गरेको हो।
यसपालि मलाई काठमाडौं–४ बाट बाहिर जाने निर्णय गर्न किन पनि सजिलो भयो भने, मैले नवयुवा साथीहरूलाई अघि बढाउन चाहेको थिएँ। तर चाहँदा चाहँदै पनि धेरै नवयुवा साथीहरूलाई स्थान दिन सकिनँ।
हाम्रो पार्टीको एउटा संरचना छ। तर मेरो निर्वाचन क्षेत्रका साथीहरूले मेरो मनसायलाई सम्मान गरिदिनुभयो। र, आज मैले आफ्नो ठाउँमा मैले नै कुनै बेला युवा कांग्रेसको संस्थापक अध्यक्ष बनाएको सचिन तिमल्सेना उम्मेदवारका रूपमा प्रस्तुत गर्न पाएको छु। यस्तो मौका अघिल्लो पटक मलाई भएन।
तर कतिपयले यसपालि काठमाडौं–४ असुरक्षित देखेर क्षेत्र परिवर्तन गरेको भनेर आलोचना गरेका छन्, के भन्नुहुन्छ?
यो त झन् उल्टो कुरा भइहाल्यो। म कोर काठमाडौंको मान्छे कोर मधेसमा जाँदैछु। असुरक्षाको भावले जाने भए त त्यो झन् असुरक्षित होला नि!
सर्लाही–४ जाने भनेपछि आज जति पनि साथीहरू भेटिनुभएको छ, आफ्नो क्षेत्र र बाहिरको, उहाँहरूले यत्रो जोखिम किन उठाएको भनिरहनुभएको छ।
मेरो निर्वाचन क्षेत्र काठमाडौं–४ मा एमाले र माओवादी मिलेका बेला पनि मैले जितेको क्षेत्र हो। अहिले पनि मेरो लागि व्यक्तिगत रूपमा सबभन्दा सुरक्षित क्षेत्र नै काठमाडौं–४ हो।
आजै हेर्नुभयो भने पनि म काठमाडौं–४ मा उम्मेदवार हुन्छु कि हुन्न भनेर हेरेर, विचार गरेर मात्र दलहरूले उम्मेदवारी प्रस्तुत गरेका छन्।
कांग्रेसले अहिले उठाएका उम्मेदवार सचिनलाई हामी यो क्षेत्रबाट सानदार ढंगले जिताउँछौं। मैले काठमाडौं बाहिरको क्षेत्रमा उठ्न जोखिम लिएकै हुँ।
केहीले कांग्रेस सभापतिका हैसियतमा मधेस झर्नुको कारण मधेसको भोट तान्न हो भनेर पनि भनेका छन्, त्यस्तो हो?
नेपाली कांग्रेस पार्टीभित्र मधेसका मुद्दामा अत्यन्त प्रखर ढंगले वकालत गर्ने गैरमधेसीका रूपमा म चिनिन्छु। पार्टीभित्र पनि सबभन्दा धेरै मधेसबाट माया पाउने व्यक्ति म हुँ।
मलाई रोल्पा, तेह्रथुम, कपिलवस्तु लगायत जिल्लाबाट पनि उम्मेदवार बन्न आऊ भनेर साथीहरूले नाम सिफारिस गर्नुभएको थियो।
सर्लाही–४ भनेको पहाडीयाको कम बसोबास भएको ठाउँ हो। सर्लाहीबाट दुई–दुई पटक निर्वाचनमा मेरो माग रहनु भनेको आफैमा मधेसले मलाई स्वीकार गरेको कुरा हो।
म मधेस आउँछ भन्ने भएर होला, आजै पर्सा–२, सर्लाही–१, रौतहट–४ बाट पनि तपाईं साँच्चिकै मधेस आउने हो भनेर साथीहरूले सोध्नुभयो। पहिला पहिला जहिले पनि निर्वाचन क्षेत्र परिवर्तनको कुरा हुने तर परिवर्तन नगर्ने थियो। साथीहरूलाई यसपालि चाहिँ साँच्चै मधेस आउँछ भन्ने लागेछ, विभिन्न क्षेत्रबाट बोलाउनुभयो, आनन्द पनि लाग्यो।
यति धेरै क्षेत्रबाट बोलाइएको रहेछ, सर्लाही–४ नै किन त?
सर्लाही–४ ले योभन्दा पहिलेको निर्वाचनमा पनि मलाई उम्मेदवार हुन आउनुपर्छ भनेको थियो। यसपालि काठमाडौं बाहिर जाने भनेपछि रोल्पा, कपिलवस्तु, तेह्रथुम, धनकुटा लगायत ठाउँबाट पनि मधेस नै जानुपर्ने, यता आए पनि हुन्छ भन्ने कुरा साथीहरूको थियो।
तर मधेस नै जाने भनेपछि सबभन्दा पहिला मागेको ठाउँ सर्लाही–४ नै जाऔं भन्ने भयो।
पार्टीबाट उम्मेदवार भएपछि त्यहाँको पार्टी संगठनले पनि कसरी हेर्छ, कसरी लिन्छ भन्ने महत्त्वपूर्ण रहन्छ। हामी बाहिर गयो भने 'टुरिस्ट' उम्मेदवार पनि भन्छौं। कहिलेकाहीँ पार्टीले निर्णय गरेर तिमी फलानो क्षेत्र जाऊ भनिदिन्छ। तर मलाई पार्टीले निर्णय गरेर पठाएको होइन, तलबाट माग भएको हो। मलाई उम्मेदवार बनाउन एकल सिफारिस भएको अवस्था हो, सर्लाही–४ ले तलबाट मलाई माग्यो।
अब चुनावी अभियानमा कहिलेदेखि जानुहुन्छ?
म साथीहरूसँग सल्लाह गर्छु, एकदमै छिटो जान्छु। म त्यहाँ गइरहेकै हो, कार्यक्रमका दौरान। मलाई एकदम खुसी लागिरहेको छ र कहिले त्यहाँ पुगौंजस्तो भइरहेको छ। म पहिलो पटक चुनाव लड्ने बेलाकै जस्तो उत्साही छु।
अब पार्टीले उम्मेदवार छनोट गरेको विषयको पनि कुरा गरौं, करिब दुई–तिहाइ ठाउँमा नयाँ अनुहारलाई टिकट दिइएको रहेछ, किन हो?
नेपाली कांग्रेस पार्टीमा विशेष महाधिवेशनबाट म्यान्डेट पाएर हामी आएका हौं। यो म्यान्डेटको मुख्य कुरा भनेको पार्टी नेतृत्व, शैली, पार्टीभित्र निर्णय गर्ने प्रक्रियाहरूमा ठूलो बदलाव आउनुपर्छ भन्ने प्रक्रियाबाट हामी नेतृत्वमा आएका हौं। यद्यपि हामीले समय पाएको भए योभन्दा आकास–जमिन फरक हुने गरी काम गर्न सक्थ्यौं, तर समयको चाप भयो।
हामी कस्तो अवस्थामा आइपुग्यौं भने, उम्मेदवार चयन गर्न तीन–चार दिन मात्र समय रह्यो। त्यही बेला पार्टी वैधानिकताको प्रश्न थियो, निर्वाचन आयोगमा।
निर्वाचन आयोगले निर्णय दिएलगत्तै विषय अदालतमा पुग्यो। अदालतमा विषय विचाराधीन रहेको अवस्था, केही साथीहरूले हामी तत्कालीन महामन्त्री र एक सहमहामन्त्रीलाई ५ वर्ष पार्टीबाट निकालेको अवस्था वा कारबाही गरेको अवस्था थियो। तर हामी जिम्मेवारीमा आइसकेपछि यी सबै साथीहरूलाई समेटेर लैजानुपर्ने अवस्था रह्यो, बढो असहज परिस्थितिबीच पनि।
हाम्रो वैधानिकताको विषयलाई उहाँहरूले अदालतमा चुनौती दिइरहेको र मेरै हस्ताक्षरमा उहाँहरूलाई टिकट पनि दिनुपर्ने, यो सामान्य अवस्था त होइन। यो असामान्य खालको अवस्था सम्हाल्नुपर्ने थियो।
उम्मेदवारीको अवस्था के थियो भने, तलबाट एक–दुई महिनाअघि नै सिफारिस आएको थियो। उम्मेदवारी सिफारिस हुँदै गर्दा तत्कालीन महामन्त्री विश्वप्रकाश शर्माले एउटा प्रस्ताव राख्नुभएको थियो — यसपटक अधिवेशन र उम्मेदवारी चयन एकै पटक अघि लैजाऔं। क्रियाशीलले बुथ प्रतिनिधि छान्दै गर्दा आफूलाई मन पर्ने तीन जना उम्मेदवारलाई प्राथमिकतामा छानौं, त्यति गर्न पाएको भए एक प्रकारको प्राइमरी इलेक्सन हुन्थ्यो।
तर हामीले केही पनि गर्न पाएनौं। अहिले त पार्टी कार्यालयभन्दा बाहिर रहेर उम्मेदवार छान्नुपर्ने अवस्था रह्यो। फाइल हेर्दा एकै निर्वाचन क्षेत्रबाट १५–२० जनासम्म उम्मेदवार सिफारिस भएको अवस्था देखियो। त्यसबीच हामीले गर्न सक्ने कुरा भनेको नयाँ अनुहार दिन सक्ने मात्र थियो।
अघि मैले माथि भनेको कुरा पनि यसमा जोडिन्छ। एउटा व्यक्ति एउटा निर्वाचन क्षेत्रमा उम्मेदवार हुन्छ, त्यसपछि फलानोको निर्वाचन क्षेत्र भन्ने नाम हुन्छ, जिते पनि हारे पनि। त्यसैले हाम्रो पार्टीमा केही नेताहरू सात–आठ पटक त्यही निर्वाचन क्षेत्रमा लड्दै हुनुहुन्छ। त्यसैले उम्मेदवारहरू बदलिराख्नुपर्छ।
कहिले उम्मेदवार त कहिले क्षेत्र परिवर्तन गरियो भने स्वस्थ प्रतिस्पर्धा हुन्छ भन्ने आधारमा पनि हामीले यसपालि बढीभन्दा बढी नयाँ अनुहारलाई उम्मेदवार बनाएर पठाएका हौं।
टिकट वितरणलाई लिएर धेरै ठाउँमा असन्तुष्टि त देखिएन तर कञ्चनपुर–३ मा सभापति र उपसभापतिको पुतला दहन भयो, त्यसलाई कसरी हेर्नुभएको छ?
हामीले पार्टीका साथीहरूलाई समयमा संवाद गर्न सकेनौं होला। संवादको अभावमा पनि हामीले राख्न चाहेका कुरा उहाँहरूलाई बताउन नसकेको र उहाँहरूले पनि कुरा राख्ने ठाउँ नपाएको हुन सक्छ।
औपचारिक संवाद नहुँदा पनि विरोध भएको हुन सक्छ। ती साथीभाइबीच पनि हामी पुग्ने र उहाँहरूको कुरा सुन्ने प्रयास गर्छौं।
अन्तिम पटक चुनाव उठ्छु भन्दाभन्दै निवर्तमान सभापति शेरबहादुर देउवा लगायतलाई टिकट दिइएन भन्ने कुरा पनि रहेछ, के भएको हो?
एउटा निश्चित समयपछि यो कुरालाई हामीले बदल्नुपर्छ। म त कहीँ न कहीँ 'एक्जिट' को नियम बनाउन सकिएन भने जमेको पोखरीजस्तो हुन्छ भन्छु। विधानमा हामीले एक, दुई, तीन, चार जस्ता व्यवस्था गरेका छौं। कुनै पनि व्यक्ति एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्र सांसद बन्न पाउने।
विधान अनुसार हाम्रो पार्टी सभापति पनि दुई पटकभन्दा बढी एकै व्यक्ति बन्न पाउँदैन। त्यसैले एकै व्यक्ति एकै निर्वाचन क्षेत्रमा कति पटक चुनाव लड्ने? यो कुरा अन्त्य गर्न कोसिस गरौं भन्ने हो।
हामीले अरू नेताका हकमा पनि यस्तो कोसिस गरेका थियौं, तर समय कम रह्यो यसपालि। कहीँ सफल भयौं, कहीँ भएनौं। कहीँ त वैकल्पिक उम्मेदवारबारे छलफल गर्न समय पनि पाइएन। त्यसैले निवर्तमान सभापति मात्र होइन, समग्र सबै नेताहरूका हकमा यो कुरा लागू गर्न खोजेका थियौं।