आइतबार समग्र बजार नै उच्च (३२ अंक) ले बढ्दा कामना विकास बैंकको सेयर मूल्य ४.१९ प्रतिशतले बढ्यो।
बैंकको नाफामा सुधार हुने संकेत लगानीकर्ताहरूले पाइसकेको देखिन्छ।
बैंकले सोमबार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको नाफा उच्चले बढेको वित्तीय विवरण प्रकाशित गर्यो।
कामनाको नाफा २२.३४ प्रतिशतले बढेर ३९ करोड ४५ लाख रूपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा यसको नाफा ३२ करोड २४ लाख रूपैयाँ थियो।
खुद ब्याज आम्दानी एक अर्ब आठ करोड रूपैयाँबाट ११ प्रतिशतले बढेर एक अर्ब २१ करोड रूपैयाँ पुगेको छ।
कर्जा प्रावधानमा यसअघि १९ करोड ६४ लाख रूपैयाँ राखेकामा यस पटक १८ करोड ७१ लाख रूपैयाँ राखेको छ। यस्तो रकम कम राख्नुपर्दा नाफा थप बढ्न सहयोग पुगेको छ।
राष्ट्र बैंकले हालै मात्र निस्क्रिय कर्जामा वर्गीकरण भइसकेको कर्जाको बाँकी सबै साँवा–ब्याज भुक्तानी भएर किस्ता नियमित भएको तीन महिनापछि असल वर्गमा स्तरोन्नति गर्न पाइने व्यवस्था गरेको थियो।
यसअघि किस्ता नियमित भए पनि ६ महिनासम्म सुक्ष्म निगरानी वर्गमा राख्नुपर्थ्यो। सुक्ष्म निगरानीमा रहेका कर्जाका लागि न्यूनतम कर्जा नोक्सानी व्यवस्था अन्तर्गत कर्जा रकमको ५ प्रतिशत बराबर प्रावधान राख्नुपर्छ। त्यस्तै, असल कर्जामा ऋण रकमको १ प्रतिशत राखे हुन्छ।
हुन त कामना बैंकको निस्क्रिय कर्जामा पनि सुधार भएको देखिन्छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज) सम्म निस्क्रिय कर्जा ४.४१ प्रतिशत रहेकामा पुस अन्त्यमा ४.१० प्रतिशत छ। निस्क्रिय कर्जाका लागि २५ देखि शतप्रतिशतसम्म नोक्सानी व्यवस्थामा रकम राख्नुपर्छ।
बजारमा बैंक तथा वित्तीय संस्थाहरूको बाहुल्यता (करिब ६० प्रतिशत) रहेकाले सकारात्मक वित्तीय विवरणको प्रभाव सेयर बजारमा पनि पर्न सक्ने देखिन्छ। अबका दिनका वित्तीय विवरण प्रकाशित गर्ने अन्य कम्पनीहरूको प्रतिवेदनमा पनि सुधार देखिँदै गएमा बढ्ने तयारीमा रहेको बजारलाई थप ऊर्जा मिल्नेछ।
कम ब्याजदर, मुलुक निर्वाचनमय बन्दा बजारलाई अहिले सकारात्मक लाभ पुग्दै गइरहेको छ।
कामना विकास बैंकको वित्तीय विवरण हेर्दा यसले अहिलेकै आधारमा नाफा कमाइरहे वर्षको अन्त्यमा १५.१३ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ। अहिलेकै क्षमताले ७.६५ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ। यसलाई वार्षिकीकरण गर्दा १५ प्रतिशत लाभांश दिन सकिने देखिएको हो।
बैंकले आर्थिक वर्ष २०८१/८२ को नाफा पछि १५.७८ प्रतिशत लाभांश दिएको थियो। विगत पाँच वर्ष दिएको औसत लाभांश ११.३० प्रतिशत छ।
अहिले कामनाको सेयर मूल्यले थ्री आउटसाइड अप बुलिस बनाउनसक्ने संकेत गरिरहेको छ। यसो भएमा भने मूल्य थप बढ्छ।
कामनाको सेयर गत बुधबार सानो शरीर भएको रातो मैनबत्ती र आइतबार लामो शरीर भएको हरियो मैनबत्ती बनाएको छ।
हरियो मैनबत्तीको शरीरले अघिल्लो दिनको रातो मैनबत्तीलाई ढाकेको छ।
मंगलबार यदि बैंकको सेयर आइतबारको सुरू मूल्य ४५० रूपैयाँभन्दा माथि बन्यो र बजार बन्द हुँदा ४७२ रूपैयाँभन्दा माथि पुग्यो भने यसले मूल्य थप बढ्ने सुनिश्चितता दिन्छ।