आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानीलगायतका क्षेत्र राखेको कुरा भारतले अस्वीकार गरेको छ।
बिहीबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्साले नेपालसँगको सीमा परिवर्तन नगरेको दाबी गरे।
पत्रकार सम्मेलनका क्रममा एक जना पत्रकारले भारतको नयाँ राजनीतिक नक्साबारे नेपालमा व्यक्त भइरहेको आक्रोश र प्रदर्शनबारे भारतको धारणा के छ भनेर एक जना पत्रकारले सोधेका थिए।
उनको थप प्रश्न थियो- नेपाल सरकारले विज्ञप्ति नै जारी गरेर कालापानी आफ्नो अभिन्न अंग भएको बताइसकेको छ। यसबारे भारतको औपचारिक धारणा के हो?
जवाफमा प्रवक्ता रविशकुमारले भने- हाम्रो नयाँ नक्साले एकदमै ठीक तरिकाले भारतको सार्वभौम भूमि समेटेको छ। नयाँ नक्साले नेपालसँगको हाम्रो सीमा परिवर्तन गरेको छैन। दुई पक्षीय संयन्त्रबाट नेपालसँगको सीमा निर्धारण पक्रिया चलिरहेको छ। हामी वार्ताबाट दुई पक्षीय मैत्रीपूर्ण सम्बन्धको मर्मअनुसार समस्या समाधान गर्न तयार रहेको प्रतिवद्धता दोहोर्याउन चाहन्छौं।
उनले सीमाको विषय उछाल्ने तत्वहरूलाई दुबै देशका सरकारले रोक्नुपर्ने बताए।
‘हामी सँगैसँगै यो पनि भन्न चाहन्छौं कि दुबै पक्षले निहित स्वार्थलाई रोक्नुपर्छ। केही तत्वहरू छन् जसले दुई देशबीच मतभिन्नता सिर्जना गर्न प्रयास गरिरहेका छन्,’ रविशकुमारले भने।
यसअघि बुधबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले कालापानी नेपाली भूमि भएको उल्लेख गर्दै भारतको एकपक्षीय निर्णय मान्य नहुने बताएको थियो।
जम्मु-कस्मिरलाई दुई केन्द्र प्रशासित क्षेत्र बनाउन भारतले गत साता जारी गरेको नयाँ नक्सामा कालापानी, लिपुलेकलाई पनि समेटिएको छ। भारतले नेपाली भूमि हडपेको भन्दै उक्त नक्साको नेपालमा जनस्तरमा चर्को विरोध भइरहेको छ।