फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने योजनासहित धरानका मेयर हर्क साम्पाङले दल दर्ता गराइसकेका छन्।
उनी अध्यक्ष रहेको दल ‘श्रम संस्कृति पार्टी’ ले साम्पाङलाई सुनसरी-१ बाट उम्मेदवारी बनाउने तयारी गरिरहेको छ। फागुन २१ को निर्वाचनमा उम्मेदवारी बन्ने निश्चित भए उनले मेयर पदबाट राजीनामा दिनुपर्नेछ।
उनको राजीनमापछि धरानमा मेयर पद रिक्त बन्नेछ। लगत्तै धरान उपमहानगर उपनिर्वाचन उन्मुख बन्नेछ।
स्थानीय तह निर्वाचन ऐन २०७३ मा स्थानीय सरकार प्रमुखको पदावधि एक वर्ष वा त्योभन्दा बढी समय बाँकी रहे उक्त अवधिका लागि उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ।
‘जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ,’ ऐनमा उल्लेख छ, ‘तर, एक वर्ष भन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरिने छैन।’
निर्वाचन आयोगले फागुन २१ को चुनावका लागि सार्वजनिक गरेको कार्यतालिकामा प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति उल्लेख छैन। सामान्यतयाः मतदान हुनभन्दा कम्तिमा एक महिना अगाडि उम्मेदवारी दर्ता भए माघ २१ भित्र मेयर साम्पाङले पदबाट राजीनामा दिइसकेका हुनेछन्।
‘उम्मेदवारी दर्ता हुनभन्दा अघिल्लो दिन पदबाट राजीनामा दिएर मेयर सा’ब ले भोलिपल्ट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराउनुहुनेछ,’ श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य समिर तामाङले भने।
तामाङले भने अनुसार नै उनले माघ महिनाभित्रैमा पदबाट राजीनामा दिए स्थानीय तहको कार्यकाल १४ महिना बाँकी रहनेछ।
स्थानीय तहको आवधिक निर्वाचन २०८४ वैशाखमा हुनेछ। त्यसअघि १४ महिना कार्यकाल बाँकी रहने अवस्थामा कानुन अनुसार उपनिर्वाचन अनिवार्य हुनेछ।
‘एक वर्ष भन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरिने छैन’ भनेर निर्वाचन कानुनले त्योभन्दा बढी अवधि बाँकी रहे उपनिर्वाचन गराउनुपर्ने बाध्यतात्मक अवस्था सिर्जना गराउनेछ। कानुन अनुसार नेपाल सरकारले स्थानीय तहको निर्वाचन गराउन आयोगसँगको परामर्शमा मिति तोक्नेछ।
२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले स्थानीयबाट संघतर्फ ताक्दै आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्।
धरानमा लामो समय सामाजिक अभियन्ताका रूपमा सक्रिय मेयर साम्पाङले २०७९ को स्थानीय चुनावमा सफलता पाएका थिए।
त्यसबेला स्वतन्त्र उम्मेदवार रहेका साम्पाङ २० हजार ८२१ मत पाएर मेयर पदमा विजयी बन्दा नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मत प्राप्त गर्दै दोस्रो बनेका थिए। नेकपा एमालेकी मञ्जु भण्डारी १२ हजार ८२५ मत पाएर तेस्रो बनेकी थिइन्।
२०७९ मा मेयरमा विजेता बन्नुअघि पनि साम्पाङ धरानको मेयरमा उम्मेदवार बनेका थिए।
२०७६ मा धरानको स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार बनेका बेला उनले ४२२ मत मात्र पाएका थिए।
स्वतन्त्र उम्मेदवार बनेर निर्वाचन जितेपछि उत्साही साम्पाङले श्रमदान अभियान चलाएर धरानमा खानेपानीको स्रोत थपेका छन्। त्यो अभियानले उनलाई थप लोकप्रिय बनाएको छ। त्यही आधारमा दल खोल्ने तयारीमा लागेका उनले जेनजी आन्दोलनपछि भने दल दर्ता नै गराएका हुन्।
मेयर साम्पाङले चुनाव लड्ने तयारी गरिरहेको सुनसरी–१ नम्बर निर्वाचन क्षेत्रमा धरान उपमहानगरका २० वटै वडा, बराह क्षेत्र नगरपालिकाको १ देखि ५ वडा र रामधुनी नगरपालिकाकाका ६ र ७ नम्बर वडा समेटिएका छन्।
२०७९ को प्रतिनिधिसभा चुनावमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी नेपालका तर्फबाट अशोक राई निर्वाचित भएका थिए। राईलाई एमालेले सहयोग गरेको थियो।
त्यस बेला विजेता बनेका अशोक राईले १७ हजार ५९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ दोस्रो बनेकी थिइन्। तामाङले १६ हजार ६०६ मत र तेस्रो बनेका माओवादीका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका थिए।
सुनसरी–१ लाई एमालेको पुरानो किल्ला मानिन्छ।
२०४८ मा मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ सुब्बा, २०५६ मा कुन्ता शर्माले जितेको सुनसरी–१ मा २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका किरण कुमार राईले जितेका थिए।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका कृष्णकुमार राईले जित्दा यो क्षेत्रबाट २०७४ मा एमालेकै जयकुमार राई निर्वाचित भएका थिए। त्यस बेला उनी माओवादीसहितको वाम गठबन्धनका तर्फबाट उम्मेदवारर बनेका थिए।
२०७९ मा अन्तिम समय जसपाले एमालेसँग चुनावी तालमेल गर्दा नेता अशोक राईका लागि एमालेले यो क्षेत्र छाडेको थियो।