देशलाई १८ घन्टे लोडसेडिङबाट मुक्त गराएपछि आमजनतामाझ लोकप्रिय भएका कुलमान घिसिङले राजनीतिक दल खोल्नु नौलो कुरा होइन। उनको राजनीतिक आकांक्षा देखिएको धेरै अघिदेखि हो।
अघिल्लो आमनिर्वाचनमै उनी माओवादी केन्द्रबाट चुनाव लड्ने चर्चा थियो। माओवादी केन्द्रले आफ्नो चुनावी प्रचारको पोस्टरमा समेत कुलमानको फोटो राखेको थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को फेसबुकबाट सार्वजनिक उक्त पोस्टरमा प्रचण्ड, नेता जनार्दन शर्मा र कुलमानका तस्बिर थिए।
'लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो नि:शुल्क बिजुलीको' लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको थियो। पोस्टरमा 'अँध्यारोबाट उज्यालो तर्फको यात्रा' पनि लेखिएको थियो।
तर तत्कालीन समय विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहेका कुलमानलाई चुनावी प्रचारमा 'पोस्टर ब्वाई' बनाइएको भन्दै आलोचना भएपछि उनको तस्बिर हटाइयो।
त्यति बेला कुलमानले चुनाव लड्ने भनी चर्चा भएको निर्वाचन क्षेत्र काठमाडौं–३ थियो।
यति मात्र होइन, विद्युत प्राधिकरणबाट बाहिरिएपछि पनि विभिन्न राजनीतिक पार्टीमा प्रवेशबारे कुलमानको छलफल भएको र त्यस क्रममा काठमाडौं–३ को टिकट आफ्ना लागि सुनिश्चित हुनुपर्ने माग गरेको उनी निकट स्रोत बताउँछ। यसबाट कुलमानले आफ्ना लागि काठमाडौंको उक्त क्षेत्र उपयुक्त हुन्छ भन्ने धेरैअघिदेखि विचार गरेको देखिन्छ।

राजनीतिमा कुलमानको प्रवेश अब चर्चामा मात्र सीमित रहेन।
अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रहेका कुलमान आफ्नै पार्टी खोलेर राजनीतिमा होमिइसकेका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्य गरेर उनले 'उज्यालो नेपाल पार्टी' खोलेका छन्, जसको चुनाव चिह्न 'चिम' हो।
अब प्रश्न उठ्छ — कुलमान अहिले पनि काठमाडौं–३ बाटै चुनाव लड्न चाहन्छन् कि उनले आफ्नो निम्ति अर्कै निर्वाचन क्षेत्र सोचिरहेका छन्?
काठमाडौं–३ बाहेक कुलमानले चुनाव लड्न सक्ने क्षेत्र उनको गृहजिल्ला रामेछाप हो। घिसिङको जन्मस्थान रामेछाप भएकाले उनी त्यहीँबाट चुनाव उठ्न सक्ने धेरैको आकलन छ।
कुलमानका निकटहरू भने उनको चुनाव उठ्ने क्षेत्र लगभग टुंगो लागिसकेको र उनी काठमाडौं–३ बाटै उठ्ने बताउँछन्।
निकटहरूका अनुसार उनले आफ्नो गृहजिल्ला छाडेर काठमाडौं–३ रोज्नुका पछाडि तीन राजनीतिक कारण छन् —
पहिलो, कुलमान अहिले काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने बौद्ध/महांकालमा बस्दै आएका छन्। यो ठाउँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ। बौद्ध र गोकर्णेश्वर नगरपालिका क्षेत्रमा जनजातिको बाक्लो उपस्थिति रहेकाले त्यहाँ उनलाई सहज हुने आकलन उज्यालो पार्टीका नेताहरूको छ।
दोस्रो, काठमाडौं–३ बाट प्रमुख राजनीतिक दलका उच्च तहका नेताहरू उम्मेदवार नभएको र लोकप्रिय व्यक्तित्वको अभाव भएकाले कुलमानका लागि सजिलो हुने आकलन गरिएको छ।
गत निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए। त्यसअघि नेकपा एमालेका कृष्ण राईले चुनाव जितेका थिए।
दुवै नेताको राष्ट्रिय स्तरको छवि नभएकाले कुलमान उम्मेदवार बन्दा मतदाताले स्वतस्फुर्त मत दिने कुलमान निकटहरू बताउँछन्।
र तेस्रो कारण हो, काठमाडौंमा उनको लोकप्रियता।
गृहजिल्ला रामेछाप भए पनि कुलमानको खास लोकप्रियता सहरी मतदाताहरूमै छ। लोडसेडिङ हटाएको जुन नाराका आधारमा कुलमानले राजनीतिक लाभ उठाउन सक्छन्, त्यसको खास प्रभाव सहरी क्षेत्रमा हो। लोडसेडिङबाट मुक्त हुनुले सहरी क्षेत्रका जनता बढी लाभान्वित भएकाले रामेछापभन्दा काठमाडौंमै उठ्दा उनले चुनाव जित्न सक्ने अनुमान पार्टी नेताहरूले गरेका छन्।
योसँगै जोडिएको अर्को कारण, सहरी क्षेत्रका युवा पुस्तामाझ कुलमान चिरपरिचित व्यक्तित्व हुन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व छान्न युवाहरूले सामाजिक सञ्जाल 'डिस्कर्ड' मा बहस चलाउँदा पनि कुलमानको नाम अग्रपंक्तिमै आएको थियो। युवाहरूले बालेन र सुशीलापछि तेस्रो स्थानमा कुलमानको नाम प्रस्ताव गरेका थिए।
युवा पुस्तामाझ लोकप्रियताका कारण पनि कुलमान काठमाडौंबाटै उठ्दा फाइदा हुनसक्ने पार्टीका नेताहरूको विश्लेषण छ।
यी तीन कारणलाई ध्यानमा राखेर फागुन २१ को चुनावमा कुलमानले काठमाडौं–३ बाट चुनाव लड्ने लगभग टुंगो लागेको उनी निकटहरू बताउँछन्।
आसन्न निर्वाचनमा कुलमानको उज्यालो नेपाल पार्टीबाट उनीबाहेक अरू को को उठ्छन् भन्ने चाहिँ अहिलेसम्म टुंगो छैन। पार्टीमा ५१ सदस्यीय केन्द्रीय समिति छ। केन्द्रीय समितिकै एक नेताले अर्को नेता चिनेका छैनन्। उनीहरूबीच समन्वयको काम कुलमानले गरेका भए पनि को को चुनाव उठ्छन् भन्ने टुंगो नलागेको नेताहरू बताउँछन्।
उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा नाम बुझाएकामध्ये हुम्लाकी टासी ल्हान्जोम र नवलपरासीका विजय कँडेलले उक्त पार्टीमा नरहेको घोषणा गरिसकेका छन्।
नामसूचीमा भएका केही व्यक्तिले पहिलेदेखि नै निर्वाचनमा भाग लिएकाले उनीहरू पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने आकलन गरिएको छ।
उदाहरणका लागि —
इलामको निर्वाचन क्षेत्र २ बाट यसअघि स्वतन्त्र उम्मेदवार बनेका डेकेन्द्रसिंह थेगिम कुलमानको पार्टीमा छन्। उनले सुवास नेम्वाङ बितेपछि इलाममा भएको उपनिर्वाचनमा ११ हजार ४ सय ५७ मत पाएका थिए। उक्त निर्वाचनमा एमालेका सुहाङ नेम्वाङ विजयी हुँदा थेगिम तेस्रो स्थानमा थिए। कुलमानको पार्टीबाट थेगिम फेरि इलाम–१ बाट प्रतिस्पर्धामा ओर्लने आकलन गरिएको छ।
त्यस्तै, अघिल्लो निर्वाचनमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवार भएका श्री गुरूङ पनि कुलमानको पार्टीमा छन्। उनी त्यही क्षेत्रबाट उम्मेदवार बन्ने सम्भावना छ। गुरूङ डकुमेन्ट्री एवं फिल्म निर्माता हुन्।
विवेकशील साझा पार्टीबाट सक्रिय राजनीति गरेका निर्देश सिलवाल पनि उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिमा छन्। अघिल्लो चुनावमा उनी काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवार थिए। त्यसैले सिलवालले फेरि त्यही क्षेत्र रोज्न सक्ने देखिन्छ। उनको पुर्ख्यौली घर लमजुङ हो।
कुलमानको पार्टीमा रहेका महेन्द्रसुन्दर लावती पाँचथरबाट चुनाव लड्ने आकलन गरिएको छ। उनका बुबा पद्मसुन्दर लावती पञ्चायत कालदेखि राजाको सक्रिय शासनमा नेपाली राजनीतिको केन्द्रमा थिए।
पद्मसुन्दुर लावती राप्रपाको महामन्त्रीसमेत भएका थिए। उनका एक छोरा सगुन लावती राप्रपाबाटै राजनीतिमा सक्रिय छन्। अर्का छोरा महेन्द्रसुन्दर लावती कुलमानको पार्टीबाट राजनीतिमा आएका छन्। बुबाको राजनीतिक विरासत थामेर महेन्द्रसुन्दर पाँचथरमा उम्मेदवार बन्न सक्ने आकलन उज्यालो नेपाल पार्टीका नेताहरूको छ।
दिवंगत पद्मसुन्दर लावतीको कामको सम्मानस्वरूप पाँचथरको फिदिम र यासोक बजारको मध्यभागमा शालिक निर्माण गरिएको छ। त्यसैले छोरा लावतीलाई पाँचथरमा चिनाउन ठूलो मिहिनेत आवश्यक पर्ने छैन।
कुलमानको पार्टीमा कलाकार रिमा विश्वकर्माको पनि केन्द्रीय समितिमा नाम छ। उनले चुनाव लड्ने कि नलड्ने स्पष्ट पारेकी छैनन्। तर बर्दिया घर भएकी रिमा सेलिब्रेटी अनुहार भएकाले उज्यालो नेपाल पार्टीबाट चुनाव लड्न सक्ने सम्भावित उम्मेदवार हुन्।
त्यसमाथि नेपालभर जताजतै चिनिएकी रिमालाई अन्य क्षेत्रमा चुनाव लड्न पहिचान गराइराख्नु पर्दैन।
कुलमानको पार्टीमा डा. गोविन्द केसीको आन्दोलनबाट चिनिएका अभिषेकराज सिंह पनि केन्द्रीय सदस्यको भूमिकामा छन्। उनको पुर्ख्यौली घर सर्लाही हो। पछिल्लो समय उनी सुशीला कार्की नेतृत्वको सरकार गठन बेला सक्रिय भएका थिए। त्यसैले राजनीतिमा रस पसेका अभिषेक उम्मेदवार बन्ने सम्भावना नकार्न सकिँदैन। जेनजी आन्दोलनमा भूमिका भएकाले त्यसलाई संस्थागत गर्न पनि उनी उम्मेदवार बन्न सक्छन्।
कुलमानको पार्टीमा विवेकशील साझा पृष्ठभूमिका ६ जना नेता छन्। तीमध्ये रजिया बानु पनि एक हुन्। उनी काठमाडौंबाटै उम्मेदवार बन्ने आकलन छ।
त्यस्तै, विवेकशील साझा पार्टीबाट विगतमा राजनीति गरेका सञ्जीव भट्टराई पनि चितवन–२ बाट उम्मेदवार बन्ने अनुमान छ।
***