लोकप्रिय नेपाली ब्यान्ड 'नेपथ्य' यतिबेला अष्ट्रेलिया दौडाहामा छ। ब्रिसबेनबाट अस्ट्रेलिया यात्रा शुरु गरेको 'नेपथ्य'ले शुक्रबार डार्विनमा प्रस्तुति दियो। कन्सर्टको आयोजना पाँच सय दर्शक अटाउने ‘इटालियन क्लब’मा गरिएको थियो।
'आँगनैभरि'बाट कार्यक्रम सुरु भएको थियो। डार्विनमा पढ्ने र बसोबास गर्ने नेपालीलाई त्यसपछि ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ले लठ्याउँदै गयो। नेपथ्यका मुख्य गायक अमृतले ब्याण्डसँगको यात्राका अनुभवहरु सुनाइरहेका थिए।
‘संसारमा नेपालीलाई इमान्दार भनेर चिन्छन्। पुर्खा र अग्रजले कमाएको इज्जतमा खलल आउन नदिनु होला।', अष्ट्रेलिया सरकारले यतिबेला यहाँ आउन चाहने नेपालीहरुलाई भिसाको प्राथमिकतामा तल राखेको व्यापक चर्चा चलिरहेकै सन्दर्भमा अमृतले भने, ‘हामीमध्ये धेरै काम गर्न विदेशिएका छौं। कामलाइ ईमान्दारीका साथ निभाउनु होला।’
उनले थपे, ‘डार्विनको यो साँझ सानो र आत्मीय घेरासँग हामी एकाकार भयौं भन्ने कुराले मलाई सन्तुष्टि मिलिरहेको छ।’
नेपथ्यका कन्सर्टहरुमा सधैँ देखिने दृश्यलाई निरन्तरता दिँदै डार्विनमा पनि बुढा बाबुआमादेखि केटाकेटी उमेर समूहका स्राेता दर्शक आएका थिए। कन्सर्ट भइरहेकै बेला पनि अमृत क्यामरा लिएर त्यहाँका दृश्य कैद गर्न तल्लीन थिए।
नेपथ्यको जारी अष्ट्रेलिया श्रृंखला अब एडिलेड सहरतिर अघि बढ्नेछ जहाँ स्थानीय ‘एचक्यू कम्प्लेस’मा ब्याण्डले डिसेम्बर ३ तारिखका दिन प्रस्तुति दिनेछ। अष्ट्रेलिया यात्रामा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाइरहेका छन्।
डार्विनबाट एडिलेडहुँदै ब्याण्ड त्यसपछि ताजमानियाको होबार्ट, सिड्नी भएर अन्तिममा मेलबर्न पुग्नेछ। त्यहाँ डिसेम्बर २३ तारिखको अन्तिम शोसहित यस वर्षको अष्ट्रेलिया यात्रा सकिनेछ।