तीन वर्षअघि मास्टर्सको थेसिस लेख्ने बेला जया शर्माले आफ्नै पेन्टिङबारे पनि केही लेख्नुपर्ने भयो। त्यो काम आफ्नै कला यात्रालाई नजिकबाट नियालेर हेर्ने मौका बन्यो। उनलाई आफ्ना अतीतका धेरै कुरा सपनाजस्तै लाग्न थाले। नलागोस् पनि किन, उनले पार विभिन्न चरणहरु साँच्चिकै सपनाजस्तै छन्।
उनी पेन्टिङको औपचारिक अध्ययन गरेर यही क्षेत्रमा स्थापित हुन चाहन्थिन्। सानोमा माटो र बालुवामा आकृति कोर्दै हुर्केकी जया अलि ठूलो भएपछि रंग र ब्रसमा रमाउने भइन्। तर युवावस्थामा उनको स्वास्थ्यमा समस्या देखियो। एउटा यस्तो समय पनि आयो, जब उनको डाक्टरले नै उनलाई बचाउन सक्ने आश मारेका थिए। तर उनको मुटुको अपरेसन सफल भयो। त्यो क्षण उनी र उनका आफन्तजनका लागि पुनर्जन्मसरह बन्यो।
कलाकार बन्ने सपना पछ्याउँदै क्यानभासको कल्पनामा हराइरहने उनले कहिल्यै सोचेकी थिइनन्, बिहे गर्दा परीक्षा नै छोड्नु पर्छ। रंगसँग खेल्नु नै जीवनको सबैभन्दा ठूलो खुसी मान्ने उनलाई डाक्टरले पेन्टिङ गर्न प्रतिबन्ध लगाउलान् भन्ने पनि कहाँ उनले सोचेको कुरा थियो र?
तर उनको जीवनमा यस्तैयस्तै धेरै अवरोधहरु आइरहे र उनको कलाकार बन्ने सपनालाई चुनौती दिइरहे। गत शुक्रबारदेखि बबरमहल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा जयाको जीवनका यस्तै यस्तै मोड र उतारचढावका पेन्टिङहरु राखिएका छन्। २०३३ सालमा जन्मेकी जयाले आफ्नै जन्मदेखि बाल्यकाल, युवावस्थादेखि मातृत्व अनुभूतिसम्मका चरण समेटिएको एकल प्रदर्शनीलाई ‘ड्रिमवाक’ नाम दिएकी छिन्।
कहिले स्वास्थ्य त कहिले बालबच्चा हुर्काउने जिम्मेवारीमा रुमल्लिएकी जयाले स्नातकदेखि स्नातकोत्तरसम्मको अध्ययन सक्न १५ वर्ष बिताउनु पर्यो। दोस्रो सन्तान जन्मेपछि बल्ल उनले स्नातक पूरा गर्ने समय पाइन्। जया भन्छिन्, ‘पेन्टिङबाट हराउनु पर्दा म आफैंबाट हराइरहेकी थिए। मलाई आफू जहिले पनि हारेको मान्छेजस्तै लाग्थ्यो।’
जीवनका तीतामीठा पल भोग्दै बाँच्दै उनले आफूलाई यतिबेलासम्म हारभन्दा जीतको नजिक पुर्याइसकेकी छिन्। भन्छिन्, ‘पहिला सोच्थेँ सिक्काको दुई पाटो हुन्छ, ‘सही र गलत। तर अर्को पाटो पनि रहेछ, त्यसको गोलाई।’
त्यही गोलाईले उनलाई आफू जन्मदै विजयी भएर जन्मेको आभास दिलायो। ‘आफूमात्रै नभई सम्पूर्ण प्राणी जगत नै विजयी भएर जन्मेको कुरा सोचेपछि म कसरी हरेश खाएर बस्न सक्थेँ? थप्छिन्, ‘फेरि सपना समेट्न थाले।’
‘ड्रिम वाक’मा जयाका आशा र निराशा, अवरोध र उत्साहका अनेक विम्ब भेटिन्छन्। ४३ वर्षकी जया भन्छिन्, ‘ड्रिम वाक मार्फत मैले आफैंलाई र आफ्ना सपनाहरुलाई हेर्ने, बुझ्ने नयाँ दृष्टिकोण पाइरहेकी छु। प्रदर्शनी फागुन १२, सोमबार सकिँदैछ।