अमेरिकी कम्पनी एप्पलले निर्माण गरिरहेको फिल्म 'तेन्जिङ' मा नेपाली अभिनेत्री थिन्ले ल्हामोको पनि अभिनय रहने भएको छ।
यसअघि 'नाका', 'हरि' र 'शाम्बाला' मा अभिनय गरेकी उनी यो फिल्ममा शीर्षमध्येको भूमिकामा देखिन लागेकी हुन्।
थिन्ले पछिल्लो समय फिल्म 'शाम्बाला' का कारण चर्चामा थिइन्।
तेन्जिङ नोर्गे शेर्पा र उनको १९५३ मा सगरमाथा आरोहणको सत्य कथामा आधारित रहेर 'तेन्जिङ' फिल्म बनिरहेको हो।
यो फिल्मको वर्किङ टाइटल 'टासी' राखिएको थियो।
एप्पलले हालै सार्वजनिक गरेको विवरण अनुसार फिल्ममा तिब्बती मूलका चिनियाँ अभिनेता गेन्देन फुन्त्सोक नोर्गे तेन्जिङको मुख्य भूमिकामा देखिनेछन्। थिन्ले उनको श्रीमतीको रूपमा देखिने छिन्।
फिल्म नेपालको काठमाडौं, ललितपुर, काभ्रे, मुस्ताङ र बन्दीपुर लगायतका स्थानमा समेत छायांकन गरिएको छ।
जेनिफर पिडमको निर्देशनमा बनिरहेको फिल्ममा टम हिडलस्टनले तेन्जिङमा न्यूजिल्याण्ड पर्वतारोही एडमन्ड हिलारीको भूमिकामा सह–कलाकार हुनेछन्, विलेम डाफोले अंग्रेजी अभियान नेता, कर्नल जोन हन्टको भूमिका निर्वाह गर्नेछन्। क्याट्रिओना बाल्फेले तेन्जिङकी साथी जिल हेन्डरसनको भूमिका निर्वाह गर्नेछिन्।
निर्देशक जेनिफर पिडमले यसअघि प्रशंसित वृत्तचित्र 'शेर्पा' बनाएकी छिन्, जसमा काम गरेपछि उनी तेन्जिङ परिवार र शेर्पा समुदायसँग नजिक थिइन्।
फिल्मको पटकथा लुक डेभिसले लेखेका हुन् भने एप्पलको यो फिल्म निर्माणमा अस्ट्रेलियन कम्पनी सी–स समेत संलग्न छ।
फिल्मको नेपाल छायांकन यसैसाता सकिएको छ।
यो पनिः जब हलिउड सुपरस्टारको आगमनले बदलियो बन्दीपुर