जीवन सुनुवार निर्देशित सर्ट भिडिओ 'भकुण्डे भूत' ले काठमाडौं फिल्म फेस्टिभलअन्तर्गत आयोजित सर्ट भिडिओ च्यालेञ्जको अवार्ड जितेको छ।
काठमाडौं महानगरपालिकाले 'माइ कल्चर, माइ हेरिटेज' शीर्षकमा आयोजना गरेको च्यालेञ्जमा 'भकुण्डे भूत' ले पहिलो स्थान हासिल गरेको हो। ४ मिनेट ५५ सेकेन्ड लामो उक्त भिडिओ परम्परागत विश्वास तथा रहस्यमा आधारित छ।
च्यालेन्जमा प्राप्त ३५ वटा भिडिओ प्राप्त भएका थिए। विजेतालाई आइतबार अवार्ड प्रदान गरिएको हो।
च्यालेञ्जमा अनुभव श्रेष्ठले निर्देशन गरेको 'द सोल अफ गुठी' दोस्रो र सौगात सापकोटाले निर्देशन गरेको 'झिँगु छेँ (मेरो घर)' तेस्रो भएका छन्।
काठमाडौं फिल्म फेस्टिभलअन्तर्गत सर्ट भिडिओ च्यालेञ्जका लागि प्रारम्भिक चरणमा ११ वटा भिडिओ छनोट भएका थिए।
छनोटमा शैलेश हमालको 'ह्याप्पिनेस', धृटिका तिवारीको 'बगैंचाजस्तै सहर', करण ब्लनको 'दियो', दिनेश महर्जनको 'इन्द्रजात्राः द बिगेस्ट फेस्टिभल अफ काठमाडौं', सौगात सापकोटाको 'झिँगु छेँ (माइ होम)', नर्जुङ बुढाथोकीको 'बिहाइन्ड द गड', केशव सार्कीको 'अन्तिम यात्रा', जीवन सुनुवारको 'भकुण्डे भूत', क्रिमिन तुलाधरको 'सचिकाः अ थ्रेड द्याट टाइज यु होम', अनुभव श्रेष्ठको 'द सोल अफ गुठी' र सजिल बस्नेतको 'छं ल्वाः मंसां' रहेका थिए।
काठमाडौं महानगरपालिकाको आयोजनामा तीन दिनदेखि सञ्चालन भइरहेको काठमाडौं फिल्म फेस्टिभल आइतबार समापन हुँदैछ।
फेस्टिभलले स्थानीय संस्कृति, सम्पदा, परम्परा र मौलिक कथालाई फिल्म तथा श्रव्यदृश्य सामाग्रीमार्फत प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ।