अभिनेत्री गरिमा पन्त एक दशकभन्दा लामो समयपछि फिल्मको पर्दामा फर्किने भएकी छन्। विवाहपछि अभिनयबाट टाढिएर परिवारसँग बेल्जियममा बस्दै आएकी गरिमा भुवन केसीको फिल्म 'बाटुलो जून'मार्फत कमब्याक गर्न लागेकी हुन्।
यो फिल्मको शीर्ष गीत शुक्रबार सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतमा गरिमालाई अभिनेता तथा फिल्मका निर्देशक भुवन केसीको जोडीका रूपमा देख्न सकिन्छ। यसअघि सार्वजनिक प्रचार सामग्रीमा निर्माण टिमले भुवनलाई देखाए पनि गरिमाको उपस्थितिलाई भने गोप्य राखेको थियो।
गीतमा फिल्मका मुख्य कलाकार अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडा पनि फिचर्ड छन्। गीतमार्फत अनमोल र प्रिन्सीसँगै भुवन र गरिमाको जोडीलाई समेत प्रस्तुत गरिएको छ।
प्रेमभाव समेटिएको गीतमा प्रेमीप्रेमिकाबीचको आकर्षण, समर्पण र मायालु भावनालाई व्यक्त गरिएको छ। गीतमा राम अविरल बिष्टको शब्द तथा एसडी योगी र सानु सुनारको स्वर छ। संगीत संयोजन एसडी योगीले गरेका हुन् भने नृत्य निर्देशन कविराज गहतराजको हो।
आफ्नो करिअरमा २५ वटाभन्दा बढी फिल्ममा अभिनय गरेकी गरिमा अभिनीत 'झोला' उनको चर्चित फिल्ममध्ये एक हो। सतीप्रथाको कथामा आधारित उक्त फिल्मले दर्शकमाझ उनको अभिनयको छुट्टै पहिचान बनाएको थियो।
'बाटुलो जून'को निर्माता जिया केसी र भविष्य खड्का हुन्। फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेललगायत कलाकारहरूको समेत अभिनय छ।
विवेक थापा सह–निर्माता रहेको फिल्मको छायांकन राजेश श्रेष्ठ र सम्पादन कृष्ण भण्डारीले गरेका छन्। फिल्मको लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलको सहकार्य छ।
'बाटुलो जून' कार्तिक २६ गतेदेखि प्रदर्शन तयारीमा छ।
भिडिओः