आगामी शुक्रबार प्रदर्शन हुने फिल्म 'पाँच पाण्डव'को गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक 'राजा चाहिया छ' बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर छ।
शशी शर्मा मजगैयाँको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्।
गीतले घरजम गर्नका लागि उपयुक्त युवकको खोजी गरिरहेकी युवतीको भावनालाई प्रस्तुत गर्छ। क्यासिनोमा नाच्ने एक युवतीले आफूलाई असल युवक चाहिएको बताउने प्रसंगमा गीत तयार पारिएको छ। गीतको भिडिओमा इभा गिरीको नृत्य देख्न सकिन्छ।
फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले साथ दिएका छन्।
बसन्त निरौला निर्देशित 'पाँच पाण्डव' मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्। त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि फिल्ममा अभिनय छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको 'पाँच पाण्डव' का प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। त्यस्तै, निर्मातामा काली रानी श्रेष्ठ रहेकी छन्।
फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। लेखक पौडेलका अनुसार फिल्म सामाजिक विषयवस्तुमा आधारित छ। महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिने उनले बताएका छन्।
फिल्मलाई श्याम तामाङले खिचेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। फिल्मको द्वन्द्व निर्देशन सम्राट बस्नेतले गरेका छन्। गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्। फिल्ममा दर्शकले डल्बी एटमस प्रविधिको ध्वनि अनुभव गर्न पाउने निर्माण पक्षले जनाएको छ।
'पाँच पाण्डव' तिहारको छेको पारेर प्रदर्शनमा आउन लागेको हो। यसको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्दैछ।