दयाहाङ राई र रिश्मा गुरूङ अभिनीत फिल्म 'रिमै' प्रदर्शनमा आएको छ। खिलबहादुर गुरूङ निर्देशित फिल्म शुक्रबारदेखि देशभरका सिनेमा हलमा रिलिज भएको हो।
यो फिल्मको हलले बुधबारदेखि नै टिकट बुकिङ खुलाएका थिए। फिल्मले सिनेमा हलहरूमा सुखद् शो पाएको छ। दर्शकको चाप बढ्दै गएमा शो अझ थपिँदै जाने विश्वास निर्माण टिमको छ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको 'रिमै' गुरूङ संस्कार र संकृतिमा आधारित फिल्म हो। फिल्ममा दयाहाङ र रिश्मासहित अर्पण थापा, गौमाया गुरूङ, कविता आले मगर, माओत्से गुरूङ, पुस्कर गुरूङ, वीरमाया गुरूङ, वीरवल घले, डिवी गुरूङ, टेक गुरूङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरूङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।
'कबड्डी' फिल्मको हिट जोडी दयाहाङ र रिश्मा झण्डै सात वर्षपछि 'रिमै' मा एकसाथ देखिएका हुन्। ’कबड्डी’ मा दयाहाङले 'काजी' र रिश्माले 'मैयाँ' को भूमिका गरेका थिए।
दयाहाङ 'कबड्डी' का सबै भागमा मुख्य भूमिकामा छन् भने रिश्माले पहिलो र दोस्रो भागमा शीर्ष भूमिका गरेकी छन्। तेस्रो भागमा भने उनी छोटो भूमिकामा देखिइन्। त्यसपछि नयाँ फिल्ममा नदेखिएकी रिश्मा दयाहाङको जोडी बनेरै 'रिमै' बाट फिल्ममा फर्किएकी हुन्।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको 'रिमै' मा वीरवल घले कार्यकारी निर्माता र टिका गुरूङ, जित यात्री गुरूङ र दुन बहादुर घले निर्माता छन्।
बिनु गुरूङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता हुन्।
यो पनिः काजीलाई छाडेर कहाँ गएकी थिइन् मैयाँ?