सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा फिल्म क्षेत्रमा पनि त्यसको असर परेको छ। फिल्म 'बलिदान' को शुक्रबार हुने भनिएको गीत रिलिज अनिश्चितकालका लागि पोस्टपोन्ड गरिएको छ।
'बलिदान' का लागि सुजन चापागाईँको स्वरमा तयार शीर्ष गीत 'आमा' शुक्रबार ५ बजे सार्वजनिक गर्ने तयारी थियो। निर्देशक तथा निर्माता सन्तोष सेनले बिहीबार गीतको पोस्टर समेत सार्वजनिक गरेका थिए। एक साताअघि गीतको टिजर समेत ल्याइएको थियो। तर नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल निस्क्रिय गर्ने सरकारको निर्णयपछि गीत रिलिज पोस्टपोन्ड गरिएको निर्देशक सेनले बताए। अब कहिले रिलिज हुन्छ त्यसबारे यसै भन्न नसकिने उनले बताए।
'अहिले सामाजिक सञ्जालका कतिपय प्लेटफर्म आंशिक रूपमा मात्रै चलेका छन्। यस्तो अवस्थामा रिलिज गर्न उपयुक्त ठानेनौं,' उनले भने 'अब एक/दुई दिन हेरौं। परिस्थिति अनुकूल नभए उपलब्ध प्लेटफर्मममा मात्रै रिलिज गर्नुपर्ला। टिममा पनि सल्लाह गरेर कहिले रिलिज गर्नेबारे निर्णय लिन्छौं।'
सन्तोष सेनको निर्देशनमा बनेको 'बलिदान' मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतको शीर्ष अभिनय छ।
