उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको प्रतीक्षित फिल्म 'जारी २ः सङ अफ च्याब्रुङ' को प्रदर्शन मिति पुनः सारिएको छ। यसअघि जेनजी आन्दोलनका कारण असोज ३ गतेको प्रदर्शन स्थगित गरेको फिल्मले मंगलबार मात्रै कात्तिक ६ गते भाइटीकाको दिनलाई नयाँ रिलिज मिति तोकेको थियो।
तर, यो फिल्म अब उक्त मितिमा पनि प्रदर्शनमा नआउने भएको छ। निर्माता कम्पनी बाँसुरी फिल्म्सले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो। जसअनुसार, फिल्म अब कात्तिक २१ गते (नोभेम्बर ७) मा रिलिज हुनेछ। फिल्मसँग सम्बन्धित सबै पक्षसँगको छलफलपछि यो मिति तय गरिएको निर्माण पक्षले जनाएको छ।
दयाहाङ राई र मिरूना मगर अभिनीत 'जारी २' यस वर्षकै प्रतीक्षित फिल्ममध्ये एक हो। दुई वर्षअघि प्रदर्शनमा आएको यसको पहिलो भाग 'जारी' ले घरेलु बक्सअफिसमा १७ करोडभन्दा माथिको व्यापार गरेको थियो।
'जारी २' मा दयाहाङ र मिरूनाका साथै ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुस्कर गुरूङ, प्रेम सुब्बालगायतका कलाकारहरूको अभिनय छ। फिल्मका निर्माताहरूमा रामबाबु गुरूङ, मधु मिजार र जीवन गुरूङ छन्।
