अनमोल केसी अभिनीत फिल्म 'जेरीः अन टप' को गीत युट्युबबाट अचानक हटेको छ। सोमबार बुढासुब्बा डिजिटलको युट्युबबाट सार्वजनिक 'कस्तुरी' शीर्षकको गीत मंगलबार युट्युबबाट हटेको हो।
अभिनेता अनमोल केसीका अनुसार प्राविधिक समस्याका कारण यो गीत युट्युबबाट हटाउनुपरेको हो।
उनले सामाजिक सञ्जालमा माफी माग्दै भनेका छन्, 'प्राविधिक कारणले हाम्रो नयाँ गीत कस्तुरी हटाउनुपर्यो। तर चिन्ता नलिनुहोस्, चाँडै नयाँ भर्सन लिएर आउनेछौं।'
यो गीतको भिडिओमा अनमोल र आँचल शर्मा फिचर्ड थिए। मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्यहरू कैद गरिएको भिडिओमा यी दुई कलाकारहरूलाई रोमान्टिक 'लभ वर्ड' को रूपमा चित्रित गराएको थियो। रिलिजसँगै गीतले स्रोता तथा दर्शकबाट समेत राम्रो प्रतिक्रिया पाइरहेको थियो।
सुयोग गुरूङको निर्देशनमा तयार ‘जेरी अन टप’ असोज ३१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरूङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गीलगायत कलाकारहरूको अभिनय छ।