अनमोल केसी अभिनीत फिल्म 'जेरी अन टप' को पहिलो गीत पुनः युट्युबमा अपलोड गरिएको छ।
सोमबार युट्युबबाट सार्वजनिक गरिएको 'कस्तुरी' शीर्षकको गीत प्राविधिक समस्याका कारण मंगलबार युट्युबबाट हटाइएको थियो। बुधबार यो गीतलाई सुधार गरी पुनः बुढासुब्बा डिजिटलको युट्युबमा सार्वजनिक गरिएको हो।
यो गीतको भिडिओमा अनमोल र आँचल शर्मा देखिएका छन्। मुस्ताङदेखि भारतको राजस्थानसम्मका विभिन्न रमणीय दृश्यहरू कैद गरिएको भिडिओमा कलाकारहरूलाई रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ।
सुयोग गुरूङको निर्देशनमा तयार भएको 'जेरी अन टप' असोज ३१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरूङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गीलगायतका कलाकारहरूको अभिनय छ।
तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको 'जेरी अन टप' लाई यस वर्षको प्रतीक्षित फिल्ममध्ये एकका रूपमा हेरिएको छ।