तिहारको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'वरिष्ठ बलराम' को गीत सार्वजनिक भएको छ।
बुधबार सार्वजनिक 'न्याउली बनैमा' बोलको गीतको भिडिओमा फिल्मका मुख्य दुई कलाकार अभिनेता विजय बराल र अभिनेत्री समृद्धि आर्यालको अभिनय छ। गीत र भिडिओले फिल्ममा विजय र समृद्धि जोडी रहेको संकेत गर्छ। भिडिओका कोरियोग्राफर प्रदीप लामा हुन्।
गीतमा प्रशान्त शिवाकोटी र शान्तीश्री परियारको स्वर छ। यसको शब्दरचना र संगीत पनि प्रशान्तकै हो।
प्रेमिल गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा छ। गीतमा प्रेमिकासँग सँगै जीवन विताउने सपना बोकेको प्रेमीले बताएका छन्। प्रेमिकाले भने प्रेमीको बानीव्यवाहारप्रति शंका व्यक्त गरेकी छन्।
मायामा शंका नगर्न गरेको प्रेमीको आग्रहमा प्रेमिका सहमत हुने गीतको भिडिओ पनि आकर्षक छ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने 'वरिष्ठ बलराम' सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरूङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन्।
सामाजिक कथावस्तुमा आधारित 'वरिष्ठ बलराम' मा मनकृष्ण महर्जनको छायांकन छ। यो फिल्म काठमाडौं उपत्यकामा डीसीएन र काठमाडौं बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ।