यही कार्तिक १४ गतेदेखि प्रदर्शन हुने फिल्म 'परान' को ट्रेलर सार्वजनिक भएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक कथावस्तु पस्किने देखाएको छ।
विशेषगरी, ट्रेलरमा जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बुवाको पीडा र संवेदनालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ।
बुढेसकालमा बुवाआमाले सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरूलाई प्राथमिकता दिँदा उत्पन्न हुने परिस्थितिलाई फिल्मले देखाउनेछ।
दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको 'परान' को शीर्ष भूमिकामा वरिष्ठ कलाकार नीर शाहले अभिनय गरेका छन्।
निर्देशक आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन्। देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापित कम्पनी 'बाइस्कोप सिनेमा प्रा.लि.' ले फिल्म निर्माण गरेको हो।
फिल्ममा नीर शाहका साथमा महेश त्रिपाठी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। यस फिल्मले पारिवारिक दर्शकहरूलाई मूलतः आकर्षित गर्ने अपेक्षा गरिएको छ।