नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले नीर शाह अभिनीत फिल्म 'परान' लाई 'सुपरहिट' घोषणा गरेको छ। क्युएफएक्सले शनिबार बिहान आफ्नो आधिकारिक वेबसाइटमार्फत फिल्मलाई यो उपाधि दिएको हो।
यसअघि क्युएफएक्सले उपेन्द्र सुब्बा निर्देशित 'जारी २' लाई शुक्रबार सुपरहिट घोषणा गरेको थियो। 'जारी २' ले प्रदर्शनको पहिलो साता क्युएफएक्स चेन अन्तर्गतका सिनेमा घरहरूबाट १ करोड ५० लाख रूपैयाँभन्दा बढी कमाइ गरेपछि यो मान्यता पाएको थियो।
'परान' ले भने दुई सातामा क्युएफएक्स चेनमा २ करोड ५० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको आधारमा सुपरहिट घोषणा गरिएको क्युएफएक्सकी महाप्रबन्धक तृप्ति गिरीले सेतोपाटीसँगको कुराकानीमा बताइन्।
उनका अनुसार, क्युएफएक्सले पहिलो साताको कमाइलाई मात्र आधार मान्दै आएकोमा अब दुई साताको कमाइलाई पनि समेट्ने गरी मापदण्ड तय गरेको छ। यसअघि 'कान्ताराः च्याप्टर १' र 'जेरी अन टप' लाई पनि पहिलो साताको मापदण्डका आधारमा सुपरहिट घोषणा गरिएको थियो।
महाप्रबन्धक गिरीका अनुसार, दोस्रो सातामा चल्ने फिल्महरूलाई कसरी समावेश गर्ने भन्नेबारे छलफल भएको थियो। शुक्रबार रातिमात्र दुई सातामा २ करोड ५० लाख ग्रस कमाइ गर्ने फिल्मलाई पनि सुपरहिट घोषणा गर्ने निर्णय भएपछि 'परान' लाई यो ट्याग दिइएको हो। यो फिल्मले पहिलो साताभन्दा दोस्रो सातामा राम्रो व्यापार गरेको थियो।
यो पनिः 'जारी २' लाई क्युएफएक्सले गर्यो 'सुपरहिट' घोषणा, 'परान' ले किन पाएन ट्याग?
अब क्युएफएक्सले दुईवटा मापदण्डका आधारमा फिल्महरूलाई सुपरहिट घोषणा गर्नेछ।
शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको दीपक आचार्य निर्देशित 'परान' ले दुई सातामा कुल ८ करोड रूपैयाँभन्दा बढी कमाइ गरेको छ। बलियो 'वर्ड अफ माउथ' पाएको यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।
शेखर गोल्छा र रञ्जित आचार्य यस फिल्मका निर्माता हुन्।