सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको डकुड्रामा 'मौन' को टिजर सार्वजनिक भएको छ।
निर्माण कम्पनीको आधिकारिक च्यानलमार्फत १ मिनेट १४ सेकेण्डको टिजर सार्वजनिक गरेको हो। टिजरमा एक आमाले आफ्नी छोरीसँग आँसुका साथ भावनात्मक गल्ती स्वीकार गरेको दृश्यलाई मुख्य केन्द्रबिन्दु बनाइएको छ। टिजरले अटिजमजस्तो संवेदनशील तर प्रायः बेवास्ता गरिने विषयलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
रामशरण पाठकको कथा लेखन रहेको यस डकुड्रामामा सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विष्ट, दिवस नाथलगायतका कलाकारहरूको अभिनय छ।
निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिकसँगै अब ‘मौन’ लाई देश-विदेशका फिल्म फेस्टिवल, च्यारिटी शो र विशेष स्क्रिनिङहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको छ।
ज्ञवालीले भने, 'मौन कुनै व्यावसायिक लाभका लागि नभई समाजमा चेतना र सहानुभूति बढाउन निर्माण गरिएको सामाजिक उत्तरदायित्व सहितको परियोजना हो।'
केही समयअघि नेपालमा भएको जेनजी आन्दोलनका कारण यसका विशेष शो र च्यारिटी प्रदर्शनहरू स्थगित गरिएका थिए।
निर्देशक ज्ञवालीले समसामयिक परिस्थितिलाई ध्यानमा राख्दै रोकिएका शोहरू अब आयोजकहरूसँगको समन्वयमा पुनः सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए। उनका अनुसार यी प्रदर्शनहरू मनोरञ्जनका लागि मात्र नभई स्कुल, कलेज तथा समुदायमा अटिजमबारे सचेतना जगाउने अभियानको हिस्सा हुनेछन्।
संकल्प भुजेलको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, भरत कँडेलको ध्वनि डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ। फिल्ममा बसन्त अधिकारी प्रमुख सहायक निर्देशक र हरी क्षेत्री भूपेन्द्र सहायक निर्माताका रूपमा रहेका छन्।
एक दशक लामो पत्रकारितापछि फिल्म मेकिङमा लागेका ज्ञवालीले यसअघि 'आराध्या', 'एक लभर', 'हनिमुन', 'लिलामी', 'डार्कमुन', 'लापत्ता सन्तान' लगायतका प्रोजेक्ट निर्माण गरिसकेका छन्।