यतिबेला सिनेमा हलहरूमा चारवटा नेपाली फिल्म प्रदर्शन भइरहेका छन्। कात्तिक १४ गते रिलिज भएको 'परान' को व्यापारिक गति प्रदर्शनको चौथो सातामा पनि सुस्त भएको छैन।
यस्तै, असोज ३१ गते रिलिज भएको ‘जेरी अन टप’ अझै प्रदर्शनरत छ। त्यस्तै, कात्तिक २१ गते रिलिज भएका 'जारी २' र 'मन बिनाको धन' ले पनि आफ्नो कमाइ बढाउँदै लगेका छन्।
प्रदर्शनरत फिल्महरूमध्ये सबैभन्दा राम्रो व्यापार 'परान' को छ। चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले मंसिर ६ गतेसम्म १४ करोड १६ लाख ५१ हजार रूपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। दीपक आचार्य (काकु) निर्देशित यो फिल्म वर्ष २०८२ कै सर्वाधिक कमाइ गर्ने फिल्म समेत बनेको छ।
त्यस्तै, सुयोग गुरूङको निर्देशनमा बनेको 'जेरी अन टप' ले मंसिर ६ गतेसम्म १२ करोड १९ लाख ९४ हजार रूपैयाँ कमाएको छ। उपेन्द्र सुब्बा निर्देशित 'जारी २' को कमाइ पनि ६ करोडको हाराहारीमा पुगेको छ। फिल्मले गत शनिबारसम्म ५ करोड ८९ लाख रूपैयाँ कमाइ गरेको थियो।
टंक बुढाथोकी निर्देशित फिल्म 'मन बिनाको धन' ले पनि बक्स अफिसमा सुखद् नतिजा ल्याएको छ। यो फिल्मले ३ करोड ४० लाख ६३ हजार रूपैयाँभन्दा माथिको व्यापार गरेको छ। शनिबारयताको बक्स अफिस कलेक्सन भने सार्वजनिक हुन बाँकी छ।
३५ करोडमाथिको व्यापार, १२ लाख बढी टिकट बिक्री
हलमा प्रदर्शनरत यी चार फिल्मको कुल कमाइ जोड्दा ३५ करोड रूपैयाँभन्दा माथि हुन आउँछ। यो कमाइ असोज ३१ देखि मंसिर ६ गतेसम्म (मात्र ३५ दिन) को हो। यो अवधिमा तिहारमा प्रदर्शनमा आएका 'बरिष्ठ बलराम', 'सोल्टिनी' र 'मैझारो' को व्यापार जोड्दा यो अंक अझ बढ्छ। यद्यपि, यी फिल्महरू अहिले ठूला मल्टिप्लेक्स चेनबाट उत्रिसकेका छन्।
प्रदर्शनरत चार फिल्मको कुल टिकट बिक्री संख्या १२ लाखभन्दा बढी छ। जसमा 'परान' को मात्र ४ लाख ९९ हजारभन्दा बढी टिकट बिक्री भएको छ। गत शनिबारसम्मको विवरणअनुसार 'जेरी अन टप' को ३ लाख ८९ हजार, 'जारी २' को १ लाख ९५ हजार र ‘मन बिनाको धन’ को १ लाख २८ हजारभन्दा बढी टिकट बिक्री भएको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ।
चाडपर्वमा चलेनन्, अफ-सिजनमा चम्किए
यस वर्ष दसैं र तिहारजस्ता ठूला चाडपर्वमा रिलिज भएका फिल्महरूले अपेक्षित व्यापार गर्न सकेनन्। बरू चाडपर्व नपारेर रिलिज भएका फिल्मले बक्स अफिसमा राम्रो नतिजा देखाए।
दसैंमा 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' रिलिज भएका थिए भने तिहारमा रिलिज भएका फिल्मको व्यापार झनै कमजोर देखियो।
तिहारको अवसर पारेर कात्तिक ६ गते 'वरिष्ठ बलराम' र 'सोल्टिनी' तथा कात्तिक ७ गते 'मैझारो' रिलिज भएका थिए।
विकास बोर्डले दिएको यी फिल्मको कात्तिक २२ गतेसम्मको विवरणअनुसार 'वरिष्ठ बलराम' ले २ करोड ५६ लाख ५७ हजार रूपैयाँ र 'मैझारो' ले १ करोड ४ लाख २९ हजार रूपैयाँ ग्रस कमाइ गरेका थिए। 'सोल्टिनी' को कमाइ भने निकै निराशाजनक रह्यो। उक्त फिल्मले मात्र २९ लाख ५ हजार रूपैयाँ ग्रस कमाइ गर्यो।